+
+

सडकको सास्तीले बढाउँदैछ हवाई यात्रु

अच्युत पुरी अच्युत पुरी
२०८० असार १८ गते २०:०२

१८ असार, काठमाडौं । काठमाडौंको ‘लाइफलाइन’ मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक दिन दोहोरिने सास्तीका कारण यात्रुले विकल्पका रुपमा आकाशमार्ग रोज्न थालेका छन् ।

वायुसेवा कम्पनीहरुका अनुसार अहिले काठमाडौंबाट पोखरा र भरतपुर उडानमा यात्रुको चाप बढेको छ । यसो हुनुमा विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा यात्रुले पाइरहेको सास्ती मुख्य कारण हो । पछिल्लो एक सातादेखि यो सडक खण्ड निरन्तर अवरुद्ध भइरहेको छ । यसले यात्रा असुरक्षित समेत बनेको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार यी गन्तव्यमा अहिले ९० प्रतिशतभन्दा माथि सिट भरेर जहाज उडिरहेका छन् । बुद्धले पोखरामा दैनिक १५ वटा उडान गरिरहेको छ । चितवनको भरतपुरमा बुद्धको मात्र १० वटा दैनिक उडान रहेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पोखरा र भरतपुर उडानमा हवाई यात्रुको चाप धेरै नै बढेको छ । यसो हुनुमा असुरक्षित र अनिश्चित सडक यातायात मुख्य कारण रहेको उनले बताए । ‘पोखरा सदाबहार गन्तव्य हो, भरतपुरमा यात्रुको चाप धेरै नै छ,’ उनले भने, ‘यसो हुनुमा मुग्लिन–नारायणगढ सडक खण्डमा सडक यात्रुले पाएको सास्ती नै मुख्य कारण हो ।’

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा विस्तारको काम अहिले पनि जारी छ । दुई पाङ्ग्रे सवारी साधन चलाउनै मुस्किल भइरहेको यो सडक हुँदै काठमाडौं–पोखरा मात्र होइन, पोखराबाट पश्चिम पहाडी भेगमा जाने यात्रुले समेत यतिबेला विकल्पका रुपमा हवाईजहाजको प्रयोग बढाएका छन् । काठमाडौंबाट म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जाने यात्रुले यो रुटमा जहाज बढी प्रयोग गर्छन् ।

पश्चिम नेपालका लागि भैरहवामा चाप

अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड समेत विस्तारको क्रममा छ । यो सडक विस्तारको काम सुरु भएको लामो समय बितिसक्दा समेत काम भने सम्पन्न भएको छैन । यसले पश्चिम नेपाल जाने धेरै यात्रुले विकल्पका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गर्न थालेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार नेपालमा पोखरा र भैरहवा यात्रु संख्याका दृष्टिकोणबाट बढी चल्ने विमानस्थलका रुपमा स्थापित बनिसकेका छन् । पश्चिम नेपालका तराई तथा पहाडी मुलुकमा जाने यात्रुले यो विमानस्थल बढी प्रयोग गरिरहेका छन् ।

पूर्वी नेपालमा विराटनगर हव विमानस्थल हो । पूर्वी नेपालमा भने सडक यातायातमा खासै समस्या नआएका कारण यात्रुको संख्यामा धेरै परिवर्तन नदेखिएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । ‘विराटनगर पूर्वी नेपालको हव हो, यति एयरलाइन्सका प्रवक्ता बर्तौला भन्छन्, यहाँ यात्रुको संख्या निरन्तर उस्तै रहन्छ ।’

पर्याप्त जहाजले सिटको समस्या भने छैन

वायुसेवा कम्पनीहरुका अनुसार अहिले पर्याप्त जहाज संख्याका कारण आन्तरिक उडानमा सिटको समस्या छैन । विगतमा सडक यातायातमा समस्या आउनासाथ हवाई टिकट समेत नपाउने समस्या रहेकोमा अब जहाज संख्याका कारण सिट नपाउने समस्या भने नरहेको यती एयरलाइन्सका प्रवक्ता बर्तौला बताउँछन् ।

वायुसेवा कम्पनीले धेरै यात्रु पाउने दशैं–तिहारमा समेत अब सिट नपाउने समस्या छैन,’ उनले भने, ‘यसो हुनुमा पर्याप्त सिट उपलब्ध हुनु नै हो ।’ आन्तरिकतर्फ तराईका हव विमानस्थलमा बुद्ध एयर, यती एयरसँगै सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन् । पहाडी र हिमाली भेगका साना विमानस्थलमा नेपाल एयरलाइन्ससहित सिता एयर, तारा एयर र समिट एयरले नियमित उडान गरिरहेका छन् ।

आईएफआर प्रणालीका कारण उडान रद्द हुने संख्या घट्दै

नेपालमा आन्तरिक उडानतर्फ हव विमानस्थलहरुलाई उपकरणमा आधारित उडान प्रणाली आईएफआर)मा स्तरोन्ती गरिएको छ । सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलमा यो प्रणाली जडान भएको छ । सोहीकारण पछिल्लो समय मौसमका कारण उडानहरु रद्द हुने क्रम घटिरहेको छ । साथमा रात्रिकालीन उडान समेत सम्भव भएको छ । यसले दैनिक निर्धारित सबै उडानहरु सम्पन्न गर्न सम्भव भइरहेको बुद्ध एयरका सूचना अधिकारी कर्णले बताए । ‘मौसमले केही डिले हुन सक्छ, उनले भने, ‘आजकल उडान रद्द नै हुने सम्भावना धेरै कम भइसकेको छ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?