+
+

कालीमाटी र बालाजु तरकारी बजारका सटर प्रतिस्पर्धा विनै पुरानैलाई दिने तयारी : एक अर्बको चलखेल

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार २१ गते १६:११

२१ असार, काठमाडौं । आगामी साउन एक गतेदेखि सरकारी स्वमित्वका कालीमाटी तथा बालाजुको फलफुल–तरकारी बजारको सटरहरू प्रतिस्पर्धामार्फत भाडामा लगाउनुपर्नेमा पुरानालाई सिधै नवीकरण गरिदिने चलखेल भइरहेको पाइएको छ ।

यसअघि २०६५ सालमा कालिमाटीका ५ सय ६६ र बालाजु तरकारी बजारका ५६ गरी ६ सय २२ वटा पसलको करार सम्झौता असार मसान्तमा सकिँदैछ । त्यसपछि पुनः खुला प्रतिस्पर्धामार्फत फलफूल तथा तरकारीको होलसेल तथा खुद्रा पसल सञ्चालन गर्ने सटर तथा कबलहरू भाडामा लगाउनुपर्ने हो । तर, समयावधि सकिन १० दिन पनि बाँकी नरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ प्रतिस्पर्धाको तयारी नै गरेको छैन । अर्कातिर, अहिलेकै व्यवसायीका नाममा सटर नवीकरण गराउने भन्दै व्यवसायीका अगुवाहरुले रकम संकलन गर्न थालेको स्रोतको दाबी छ ।

अनलाइनखबरलाई प्राप्त सूचनाअनुसार बजारको भाडामा रहेको सटर पुरानै व्यवसायीलाई नवीकरण गराउने नीतिगत निर्णय बजार विकास समितिको बोर्ड वा आवश्यक परे मन्त्रिपरिषद्बाटै गराउने भन्दै व्यवसायीहरूले करिब प्रतिपसल १५ लाखदेखि २० लाख रुपैयाँसम्म उठाउन थालेका छन् । लबिइङका लागि पैसा खर्च गर्नुपर्ने भन्दै उनीहरूले कुल एक अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेका छन् । मन्त्रिपरिषद्ले हाल बजारमा रहेको पसलहरू जस्ताको त्यस्तै १५ वर्षका लागि नविकरण गर्नेगरी निर्णय गर्ने  र सो निर्णयका लागि रकमको जोहो गर्नुपर्ने भन्दै मोलमोलाइ सुरु भएको सम्बद्ध स्रोतले अनलाइनखबलाई जानकारी दियो ।

‘बजारमा हाल पसल सञ्चालन गरिरहेका व्यापारीहरूलाई साबिककै अवस्थामा थप १५ वर्षसम्म पसल सम्झौता नवीकरण गराउने शर्तमा रकम माग गर्न थालिएको छ,’ स्रोतको दाबी छ, ‘रकम संकलनका लागि अनौपचारिक रूपमा हालका व्यापारीहरू कै एउटा समिति बनेको छ । कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म दिए पसल साबिककै अवस्थामा नवीकरण हुने भन्दै रकम माग गर्न थालिएको छ ।’

अगाडिका र पायक पर्ने ठाउँका पसलेसँग २० लाख रुपैयाँ र भित्रि पसलेसँग १५ लाख रुपैयाँसम्मका दरले रकम संकलन शुरु भएको अनलाइनखबरले सम्पर्क गरेका कम्तीमा तीनवटा स्रोतले पुष्टि गरे । बालाजु र कालिमाटीका व्यापारीबाट कम्तीमा ५० करोडदेखि बढीमा एक अर्ब रुपैयाँ उठाउने र त्यसैका आधारमा पसल थप १५ वर्षका लागि नविकरण गराउन नीतिगत निर्णय गराउने आश्वासन व्यापारीहरूलाई दिइएको छ ।

नीतिगत निर्णय गरेर लाभ दिलाउने भन्दै बजारमा रकमको मोलमोलाइ चलिरहँदा त्यसलाई बल पुर्याउने गरी कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिले पनि सटर  भाडामा लगाउने प्रक्रियालाई अघि बढाएको छैन । बजारका पसलको करार सम्झौता सकिन १० दिन मात्रै बाँकी रहँदा खुला प्रतिस्पर्धाका लागि कुनै सूचना जारी भएको छैन । बजारका पसलको नवीकरण गर्ने विषयमा केही पनि निर्णय नभएको बजार विकास समितिले बताएको छ ।

विकास मितिका कार्यकारी निर्देशक डालप्रसाद  पुडासैनीले खुल्ला प्रतिस्पर्धाको लागि कुनै तयारी नभएको स्वीकार गरे । उनकाअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली २०६० ले हालको करारमा म्याद थप वा करार नवीकरणको व्यवस्था गरेको छ । विकास बोर्डमा कालीमाटीको म्याद थपबारे छलफल भइरहेको र नियमावलीका प्रावधान सम्बन्धमा पनि छलफल भइरहेको छ । ‘बजारको १५ वर्षे करार ३१ असारमा सकिदैं छ । नयाँ करार गर्नुपर्ने छ,’ कार्यकारी निर्देशक पुडासैनीले भने, ‘यसका लागि बोर्डमा छलफल भएको छ । तर, निर्णय भएको छैन ।’

बजारमा १५ वर्षे नविकरणका लागि रकम उठाइरहेको विषयबारे बजार विकास समितिले भने अनभिज्ञता प्रकट गरेको छ । यस्तो कुरा आफ्नो जानकारीमा नभएको समितिका कार्यकारी निर्देशक पुडासैनीले दाबी गरे ।

कालीमाटी बजार विकास समिति सञ्चालक समिति अध्यक्ष मदन भुजेलले कालीमाटी र बालाजु बजारमा हालका व्यापारीको म्याद सकिएको र अब के गर्ने भन्नेबारे प्रक्रिया र छलफल भइरहेको बताए । कृषि मन्त्रालयका प्रशासन प्रमुखसमेत रहेका सहसचिव भुजेलले बजार कसरी भाडामा लगाइन्छ भन्ने चाहिँ खुलाएनन । ‘अझै केही समय बाँकी छ, हामी छलफल गर्दैछौं । केही दिनमा यसबारे निर्णय हुन्छ,’ उनले भने ।

बजारमा पसल गर्ने व्यवसायीहरूको संस्था कालिमाटी बजार विकास संस्थाले पनि पसलको नवीकरणको विषयमा अनविज्ञता प्रकट गरेको छ । समितिले पसल नवीकरणका लागि राजनीतिक लबिङ तिब्र बनाएको छ । संस्थाका अध्यक्ष गीता आचार्यले बजार नवीकरण हुनेमा आफू ढुक्क रहेको बताए । बजारमा पैसाको मोलमोलाई भएको कुरा आफ्नो जानकारीमा नरहेको उनको भनाई छ । ‘तपाईंहरूको कार्यसमितिकै संलग्नतामा बजार नवीकरण गर्न अर्को समिति बनेको र त्यसले माइन्युट नै गरेर रकम संकलन थालेको भन्ने कुरा कति साँचो हो?’ भन्ने अनलाइनखबरको उक्त प्रश्नमा आचार्यले भने, ‘मलाई जानकारी छैन ।’

कालिमाटीमा थोक (होलसेल) का ४५० र खुद्राका ५९ गरी कुल ५६६ वटा पसल सञ्चालनमा छन् । जसमा थोकमा ताजा तरकारीका ३०८, आलु प्याजका ९१, माछाका २६, फलफूलका १५ र मसलाजन्य वस्तुका १० वटा सटरहरू सञ्चालनमा छन् । यस्तै खुद्रामा ४५ वटा ताजा तरकारी, ११ वटा आलु प्याज र मसलाजन्य ३ वटा पसल भाडामा लगाइन्छ । यस्तै बजारमा अन्य प्रयोजनका लागि भन्दै ४५ वटा पसल छुट्याइएको छ । त्यसमा बिउबिजनका लागि २, दूग्ध पदार्थका लागि १, च्याउका लागि एक, गोदामका लागि ३६ वटा सटरहरू छन् । खाजा पसलका लागि ४ र विविध भनेर एउटा पसल सटर राखिएको छ । बैंक, बचत तथा ऋण सहकारी, संघ संस्था र विषादी द्रूत परीक्षण ईकाइसमेत गरेर ७ वटा सटर भाडामा लाग्छन् । कालिमाटी बजार भित्र सुरक्षा, पार्किङ असुली, शौचालय र सरसफाइका कर्मचारीका लागि भनेर ५ वटा सटर कबल छुट्याइएको छ । बालाजुमा रहेको बजारमा ५६ वटा पसल छन् ।

२०६५ साल साउन १ गते गरिएको करारअनुसार पसलको क्षेत्रफल ७० देखि ८० स्क्वायर फिटसम्मको छ । यस्तै होलसेल क्षेत्रको पसलको क्षेत्रफल १५० स्क्वायर फीट सम्म छ । उक्त पसलको भाडा १ सय रुपैयाँ प्रतिस्कवायर फिटदेखि १५६ रुपैयाँसम्म स्क्वायरफिटसम्म छ ।

कालीमाटी बजार विकास मितिको स्टल वितरण तथा सञ्चालन कार्यविधि २०७६ ले बजारलाई खुला र प्रस्तिर्धात्मक बनाउने परिकल्पना गरेको छ । बजारमा किसान, कृषि सहकारी र कृषि पेशामा रहेकाहरूकै उपस्थिति रहने गरी व्यवस्था कार्याविधिमा छ । तर, कालिमाटी बजार विकास समितिको बोर्ड बजार विकास तथा सञ्चालन नियमावलीको छिद्रमा टेकेर निर्णयको तयारीमा छ ।

बजारका पसलहरू १५ वर्षदेखि एकलौटी भाडामा पाएका व्यवसायीहरू कुनै पनि हालतमा बजारका पसलहरू आफ्नै नाममा नवीकरण गर्न चाहन्छन् । बजार स्रोतका अनुसार अहिले एक जनाले करिब १५ देखि १८ हजार रुपैयाँ भाडा सरकारलाई तिर्दै आएका छन् । सरकारबाट व्यापारीले भाडामा पाएका पसललाई पनि ४ भागका विभाजन गरेर महँगोमा तेस्रो पक्षलाई भाडामा लगाउनेसमेत गरेका छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?