+
+
Shares
मनोवाद :

समृद्ध घोराहीको सपना

यति राम्रो सपनाबाट यथार्थमा झार्दिने कुकुर किन भुके भनेर बाहिर निस्किँदा राँगा काट्ने ठाउँबाट राँगोको पुच्छर लिएर आएका पाँच ओटा कुकुर तानातान गरेर झगडा गरिरहेका रहेछन् ।

विश्वराज आचार्य विश्वराज आचार्य
२०८० असार २३ गते २०:०३

घोराही औद्योगिक क्षेत्र । काठलाई कला दिएर बनाइएको आकर्षक गेट । पत्रपत्रिकाको संगालो रेडियोमा सुन्दै म भित्र पसें । रुखबाट तप्पतप्प शीत चुहिरहेको थियो ।

‘मेयर साब नमस्कार’ भन्दै युनिर्फममा सजिएका गार्ड मिनराज आचार्य मतिर आए । मैले यसो हात अगाडि बढाएँ । मेरो हात चपक्क कसेर मिलाउँदै ‘आज किन अलि ढिला मेयर साब ?’ भन्दै मुस्कुराए ।

घडी हेरें, ६ः१३ भएको रहेछ । ‘पर जुद्धबहादुर काकाको भैंसी फारममा छिरेको’ भन्दै म अगाडि बढेँ ।

मिनराजले सधै बिहान हिंड्दा मलाई देख्दारहेछन् । आज म पसेपछि ‘म भित्र खबर गर्छु’ भन्दै थिए । ‘पर्दैन पर्दैन’ भन्दै म अगाडि बढें ।

म सरासर उपमहानगरपालिकाले पब्लिक पार्टनरसिपमा खोलेको ‘देसौरे राइस मिल लिमिटेड’तिर लागें ।

नाइट ड्युटी सकेर ११४३ जना जाने र उत्तिकै संख्यामा आउने क्रम चलेको रहेछ । ड्युटी बुझ्ने र बुझाउने २२/२३ सय युवाको चहलपहल रमाइलो थियो । मेसिनहरू चलेको आवाज पनि रिदम मिलेर गुन्जिएको छुटै मनोरम थियो ।

लिमिटेडका सहायक निर्देशक श्रीपत चौधरी हस्याङफस्याङ गर्दै पाइन्टमा हात पुछेर परैबाट मतिर हात बढाउँदै आउनुभयो । मैले ‘नमस्कार’ भन्दै हात मिलाएँ । ‘किन त मेयरसाब खबरै नगरी…?’ अलि आत्तिएको शैलीमा चिया नास्ता सोध्नुभयो ।

बाटो परेकोले पसेको जिकिर गर्दै मैले सामान्य रिपोर्ट गर्न अनुरोध गरें ।

भित्तामा टाँगिएको बडेमानको टिभीको कभर खोल्दै टेबलको कम्प्युटरको बटन दबाउँदै, लिमिटेडको मोटो (रेन्डम) रिपोर्ट हो है मेयरसाब भन्दै रिपोर्टिङ सुरु गर्नुभयो ।

‘भर्खरै धान संकलन सकिएको छ । दुई वर्ष पहिले नगर सभाले उत्पादित किसानको सबै धान देसौरे राइस मिल लिमिटेडले किन्ने, धान कुटेर चामल बनाउँदा घट्न आउने प्रतिशत घटाएर लागतमा २० प्रतिशत मूल्य जोडेर बिक्री गर्ने कार्यविधि बनाएर लिमिटेड सञ्चालन कार्यविधि बनेको छ । सोही अनुसार यो देसौरे राइस मिल सञ्चालन हुँदै आएको छ । सुरुको वर्ष झण्डै १ अर्बको कारोबार -टर्नओभर) गरेको लिमिटेडले गत वर्ष १८३.३९ करोडको कारोबार गरेको छ ।’

‘गत वर्षभन्दा यो वर्ष ४७ प्रतिशत बढी धान संकलन भएको रहेछ । देउखुरीमा विकास भएको कम पानीमा पनि अधिक उत्पादन शक्ति भएको हाइबि्रड धानको बीउ नै उत्पादन वृद्धिको मुख्य कारण रहेछ भने घरमा भन्डारणको झन्झट, किरा, ढुसीबाट बचाउन गाह्रो हुने भएकाले किसानले सबै उत्पादित धान राइस मिललाई दिएछन् । सुरुको वर्ष लिमिटेड माथि विश्वास पनि कम भएर होला घरमा खाने जति खर्च धेरैले घरमै राखेका रहेछन् । तर यो वर्ष धान एक गेडा पनि नराखी सबै लिमिटेडलाई बुझाएका रहेछन् । त्यसैले यो वर्ष धेरै संकलन भएको रहेछ ।’

‘संकलन भएको धान कुटेर तयार हुने चामलको १७ प्रतिशतले घोराहीका जनतालाई खान पुग्ने रहेछ । निलो कार्ड -विपन्न) ५.७३ प्रतिशत रहेछ, जसलाई लिमिटेडले ४० प्रतिशत सहुलियत मूल्यमा चामल दिने रहेछ । वृद्धाश्रम, अपाङ्ग स्याहार केन्द्र, सुस्त मनस्थिति अध्ययन केन्द्र, अस्पतालमा बिरामी र बिरामी कुरुवाको लागि निःशुल्क प्रदान गरिने चामल २.५३ प्रतिशत रहेछ ।’

बीचैमा मैले जिज्ञासा राखें, ‘कूल उत्पादनको कि १७ प्रतिशतको २.५३ चौधरी सर ?’

‘हैन, १७ प्रतिशतको सर । नगरमा आवश्यक भैंसी, गाई, माछा, खुकुरा बाख्रासम्मको हिसाब हो सर १७ प्रतिशतमा त’ उनले हातका दुवै हत्केला रगड्दै भने ।

‘ए, ए, अनि पुग्छ त ?’ मेरो जिज्ञासा रहृयो ।

‘पुग्छ सर । टोटल ब्रानको ६० प्रतिशत त्यत्तिकै मात्रमा कनिका र ५० प्रतिशत पराल पनि आन्तरिक खपत गर्छौं । लिमिटेडका किसान सेयर सदस्यलाई २० प्रतिशत मुनाफा नजोडी लागत मूल्यमै चामल दिने गरेका छौं,’ उनले प्रष्ट्याउन खोजे ।

मैले ‘भुस पनि त होला’ भन्न नपाउँदै उनले थपे, ‘अँ सर । यस वर्ष भुसको अलि कम्पिटिसन छ । पूर्वी नवलपरासीमा जर्मनको प्राविधिक सहयोगमा सहरी विकास कोषको आयोजनामा पीपीपी अवधारणामा झन्डै २१०० करोडमा निर्मित बतानुकुलित इँटा उद्योग छ सर ।’

‘त्यसमा माटो, सहित अरु केके धेरै वस्तु मिसाइँदो रहेछ र त्यसमा यो धानको भुस ११ प्रतिशत चाहिँ अनिवार्य चाहिने रहेछ । हामीले धुलोरहित बनाउन बन्द कोठामा भुस जाने व्यवस्था गर्‍यौं । पानीमा नभिजेको, नकुहिएको भुस चहिने रहेछ । यो दुई वर्ष त हामीलाई भुसबाट राम्रो आम्दानी भयो सर ।’

‘अनि अब के भयो त ?’ मैले पानी पिउने इच्छा जनाउँदै भने । चौधरीजीले हाँस्दै भने, ‘यो वर्ष त कपिलवस्तुले पनि ट्रष्ट बनाएछ अनि परासीले पनि ट्रष्टमै भुस राख्ने बनाएछ । त्यसैले अलि कम्पिटिसन हुन्छ होला ।’

मैले भनें, ‘न आत्तिनु, विकल्प खोजौंला । सम्भावना केके छ तपाईंले पनि खोज्दै गर्नू । पार्केटिङ टायल पनि बन्छ रे यसो बुझ्दै गर्नू ।’

‘किसानहरूको उपमहानगरपालिकाकै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको बैंक शहीद स्मृति लघुवित्तमा खाता खोलिदिएका छौं । किसानका छोराछोरीलाई उच्च शिक्षा अध्ययनको लागि शैक्षिक बचत खाता खोलिदएका छौं । माध्यमिक शिक्षा त स्थानीय तहले निःशुल्कै पढाइरहेको छ । बाली बीमा कोष निर्माण गरेका छौं,’ उनले कम्प्युटरका केके थिच्दै भने, ‘हालसम्म बीमा कोषमा ३ करोड ४४ लाख ८७ हजार ४६५ रूपैयाँ जम्मा भएको छ ।’

‘पोहोरसाल हामीले धान भित्राउँदा पानी परेर धानको गुणस्तरमा कमी आउँदा किसानलाई भएको नोक्सानीमा ३६ लाख ६० हजार भुक्तानी गर्‍यौं । स्वास्थ्य बीमा, औजार खरिद मर्मत कोष, स्थापना गरेका छौं । प्राङ्गारिक मल उत्पादन कोष, मल बिउ खरिद कोष, उत्पादन बढाउन किसानलाई प्रविधिमैत्री बनाउन तालिम गोष्ठीको लागि सामाजिक कोष बनाएका छौं ।’

‘किसानलाई आवश्यक पर्ने खर्च रकम किसानले चेकमार्फत्, मोबाइल बैंकिकमार्फत चलाउने गर्दछन् । सहुलियत ब्याजदरमा ९३ ओटा कृषि समूहलाई करिब १०० करोड लगानी भएको छ भने औसतमा प्रतिकिसान परिवार १२ लाखको नगद मौज्दात बैंकमा छ सर ।’

‘नेप्सेको सेकेन्डरी मार्केटमा हाम्रो नै सबैभन्दा बढी कारोबार हुने गरेको पाइन्छ । अहिले हाम्रो सेयरको बजर मूल्य ८४० प्रतिसेयर पुगेको छ । यो हिसाबले किसानको बिउ पुँजी लगानी ४ लाखबाट करिब ३० लाख पुगेको छ ।’

लालमती नेपालीले मेवा, ड्रागनफ्रुट, उसुनेको अन्डा किस्तीमा लिएर आइन् । साथमा ग्रीन टी पनि थियो । ‘लिउँ सर’ भन्दै चौधरीजीले कम्युटरमा कृषि र्फमका प्लट देखाउन थाल्नुभयो ।

कटुवा खोला हाई ड्याम सिँचाइ परियोजना पूरा भएमा उत्पादन बढ्ने र घोराही उपमहानगरपालिकाका ३, ४, ६, ७, १३, १६ नम्बर वडाको उत्पादन वृद्धि आँकडा पनि देखाउनुभयो । ‘तीन वर्ष पहिले विश्व बैंकसँग सस्तो ब्याजको ऋणमा कटुवाखोला हाई ड्याम परियोजना सम्झौता भई निर्माण कार्य अगाडि बढिरहेको छ । भलले बाँध भत्काउने हुँदा १ बिघा जग्गाको वाषिर्क ५ हजार रूपैयाँ सिँचाइ शुल्क ३० वर्षसम्म उठाएर ऋण तिर्ने गरी १४०० करोडको परियोजना उपमहानगरले निर्माण गरेको छ । सिँचाइ सुरु भएपश्चात उठेको शुल्क छुट्टै खातामा जम्मा गरी वाषिर्क रूपमा विश्व बैंकलाई तिर्ने गरी योजना बनेको छ ।’

‘चामलको मार्केटिङ ?’ मैले प्रसंग बदल्न खोजें ।

‘अँ सर, म भन्दैछु,’ चौधरीजीले सुरु गर्नुभयो, ‘हामीले पहिलो टार्गेट पहाडी जिल्लालाई बनाएका छौं । रोल्पा, रुकुम, सल्यान, प्युठान, जाजरकोट, कालिकोटमा खाद्यव्यवस्था कम्पनी लिमिटेडसँग सम्झौता भएको छ । हामीले सुन्तला, स्याउ, अदुवा, दाल, आलु, यता भित्राउने सहमती छ । त्यहाँ उत्पादन हुने दाल, बाख्रा लगायत बस्तु ल्याएर हाम्रो प्रशोधन केन्द्रमा पुर्याउनेसम्मको कुरा भएको छ । प|mोजन सुविधासहितको आधुनिक वधशाला पनि राम्रो विकास भएको छ सर हाम्रो ।’

‘आवश्यक खसी यहाँको मात्र उत्पादनले पुगेको छैन सर । हामीले पहाडी जिल्लाहरूमा बचतको ६० प्रतिशत चामल बेच्न सक्छौं । मध्य पहाडी सडकमा बनेका नमूना सहरमा हामीले यो वर्षदेखि बिक्री डिपो राख्दैछौं । ८ ओटा सहरमा सम्झौता भइसकेको छ सर । राम्रो रेस्पोन्स पायका छौं । उहाँहरूले आफ्नो उत्पादनलाई बजारीकरणमा सहयोग गरिदि माग गर्नु भएको छ । हामीले योजना बनाउँदै छौं । निर्देशक ज्यु आउनु भयो भने हामीले तयार पारेको मस्यौदा हजुरकहाँ पुर्याउँछौं । कार्यपालिकाबाट निर्णय गराइदिनुपर्ला हजुरले । अनि हामीले १५ प्रतिशत काठमाडौंमा संयुक्त आउटलेट -बिक्री केन्द्र) बनाएर बिक्री गर्ने सोचेका छौं ।’

‘संयुक्त भन्नाले ?’ मैले नबुझेको सोधें ।

उनले भने, ‘हामी हाम्रो उपमहानगरका सबै लिमिटेडहरूको संयुक्त बिक्री केन्द्रहरू काठमाडौंमा स्थापना गर्दैछौं । त्यो प्रस्तावनामा छ सर । दाङको तोरीको तेल, दाल, गहुँको आँटा, मकैको आटो, सुजी, बदाम, चामल, मह, खसीको मासु, बँधिया भाले, हाँस, बट्टाई, घरेलु उत्पादनका सामान, अल्लोका उत्पादन, दूध, पनिर, छुर्पी, ग्रेडिङ गरिएको अर्गानिक तरकारी, आमा समूहको अचार सबैको संयुक्त बिक्री केन्द्र ६ ठाउँमा खोल्ने र त्यसको संयुक्त सञ्चालक बोर्ड बनाउने गरी कार्यविधि तयार भएको छ हजुरको टेबलमा आउँछ सर ।’

मैले चौधरीजीलाई बिचैमा रोकेर उपमहानगरले निर्माण गरेका लिमिटेडहरूको अवस्थाबारे चासो राखें ।

‘सबै लिमिटेडबारे विस्तृत त मलाई थाहा छैन सर । तर सबैको राम्रो इन्डिकेटर देखिन्छ । करिब ४९ हजार कामदार इङ्गेज भएका छन् । १५ हजार त विदेशबाट फर्किएका अनुभबी कामदार हुनुहुन्छ । दुग्ध उत्पादन कम्पनी लिमिटेडमा अलि समस्या छ भन्ने सुनेको छु । कृषकलाई उपमहानगरले अनुदानमा गाई, भैंसी किनिदिने र दूधको मूल्य निर्धारण नगरी किन्ने ग्यारेन्टी उपमहानगरले लिएपछि दूध उत्पादन ह्वात्तै बढेको छ । दही, पनिर, घिउसँगै गत वर्षबाट छुर्पी पनि बनाउँदै छ । तर पनि दूध खपत र सुरक्षामा समस्या छ सर । ‘

उनले थपे, ‘आउने वर्ष पाउडर बनाउने मेसिन व्यवस्था नगरी हुँदैन हजुर । छुर्पीले राम्रो मार्केट लिएको छ । नेपालीभन्दा बढी विदेशीले मन पराएका छन् । लुम्बिनी, स्वर्गद्वारी, धारपानी, ठाकुरद्वारामा राम्रो सेल हुन्छ । कुन विदेशी कम्पनीले त उतै लैजाने पनि भनेको छ रे । संघीय सरकारसँग छुर्पी निर्यातबारे सल्लाह लिन पर्यो हजुर ।’

‘यही गतिमा हामीले काम गर्यौं भने दुई वर्षमा जिल्लाको जनशक्तिले भ्याउँदैन सर । जनशक्ति भाडामा लगाउनुपर्छ । तरकारीलाई व्यवस्थित गर्न अझ धेरै प्रविधि र दक्ष जनशक्ति चाहिन्छ । अँस्तिको विज्ञापनमा कृषिविज्ञ र भेटेनरी डाक्टरको मागेजतिको आवेदन नआएको त हजुरलाई थाहै छ ।’

‘फ्रोजन सहितको आधुनिक वधशालाको पनि राम्रो प्रगती भएको छ सर । सुरु सुरुमा फ्रोजन मासु त्यति चलेन, आजभोलि माग धान्नै गाह्रो छ । पोखरा, काठमाडौं, चितवन लगायत जिल्ला बाहिर धेरै खपत भइरहेको छ । हालसम्म त्यहिँका बिक्रेतालाई नै दिएका छौं सर । हामीले हाम्रै बिक्री केन्द्रको अवधारणा बारे मैले अघि हजुरलाई भनिसकेँ । त्यसपछि झन् कारोबार बढ्ने छ । बबई, बंगलाचुली, शान्तिनगर, राजपुर, गढवा पालिकासँग पनि बाख्रापालनमा साझेदारी परियोजनाको खाँचो छ । खरिदको ज्ञारेन्टी हामीले लिने, प्राविधिक सहयोग हामीले गर्ने, नगद भुक्तानी दिने, हाम्रो बैंकमा खाता खोल्ने या सम्बन्धित पालिकामै रकम पठाउने त्यसको मोडालिटी चाहिन्छ ।’

माछा हृयाचरी पनि तयार भैसक्यो सर भन्दै हुनुहुन्थ्यो सहायक निर्देशक ज्युले । बाहिर कुकुरहरू एकापसमा झगडा गरेर बेस्सरी भुकेर मेरो निद्रा बिउँझाइदिए । यति राम्रो सपनाबाट यथार्थमा झार्दिने कुकुर किन भुके भनेर बाहिर निस्किँदा राँगा काट्ने ठाउँबाट राँगोको पुच्छर लिएर आएका पाँच ओटा कुकुर तानातान गरेर झगडा गरिरहेका रहेछन् ।

मेयर बनेर समृद्ध घोराही बनाउने मेरो सपना बिथोल्ने कुकुरहरू मुर्दावाद Û ब्युँझिएर पनि त्यही सपना साकार पार्ने मेरो संकल्प जिन्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?