+
+

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १८:२५
संसदको अवरोध हटाउने बारेमा आइतबार बिहान भएको छलफलमा नेताहरू ।

२४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारेको छ ।

एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सहमतिको प्रयासमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल समेत गरेका थिए ।

सिंहदरबारमा भएको छलफलपछि कांग्रेस र माओवादी नेताहरुले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसदको अवरोध हट्ने बताए । एमाले नेताहरुले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद अवरुद्ध हुन सक्ने बताए ।

यही विवादले संसद बैठक बस्न सकेन । र, सूचना टाँसेर भोलि सोमबारका लागि सारिएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक संसद भवनमा पुगेपछि एमालेले बोली फेरेको बताउँछन् । ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद खुलाउने सहमति भएको थियो’ उनले भने, ‘सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने आयो । एमालेले कुरा फेरेको रुपमा बुझ्यौं र आजको बैठक बस्न सकेन ।’

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि एमालेका नेताहरुले ‘संसदको अवरोध हटाउने सहमति भएको छैन है’ भन्ने सन्देश पठाएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले भने प्रधानमन्त्रीको जवाफ सुन्न संसद पुगेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक भोलिलाई सारिएको सूचना आएको बताए ।

उनले ट्वीट गरेका छन्, ‘जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि ? किन सारिएछ कुन्नि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?