+
+

एनआरएनएले नेपालमा जनशक्ति उत्पादन गर्न सीप सिकाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:५५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देशयले सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । एनआरएनए अन्तर्गतको व्यावसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमूलक कार्यक्रम चलाउने निर्णय गरेको हो ।

कमिटीका संयोजक एवम अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको बताए । दक्ष र सीपयुक्त जनशक्ति उत्पादनका लागि कमिटीले तीनै तहका सरकार केन्द्र, प्रदेश सरकार र स्थानीय निकायहरुसँग समेत समन्वय गरी आवश्यक कार्यहरु अघि बढाउने केसीको भनाइ छ ।

कार्यक्रममा सहभागी संघका अध्यक्ष कुल आचार्यले अन्तर्राष्ट्रिय श्रम बजारमा बढ्दो दक्ष जनशक्तिको माग सम्बोधन गर्न र नेपालबाट जाने कामका लागि विभिन्न देशमा जाने नेपालीले सीपको अभावमै दुःख पाउनुपर्ने अवस्था अन्त्यका लागि पनि कमिटीले सुरु गर्न लागेको कार्यक्रम उपयोगी र महत्वपूर्ण हुने बताए ।

श्रम तथा अध्ययनका लागि विभिन्न पेशाका लागि भारत, मध्यपूर्व र मलेसिया, अष्ट्रेलिया, युरोप, क्यानाडा तथा अमेरिका लगायतका देशलाई थुप्रै नेपालीहरुले आफनो गन्तब्य बनाएको भन्दै उनले अदक्ष र सीपविना जाँदा धेरै समस्या भोग्नुपर्ने बताए । सोहीकारण सीपमूलक र दक्षता अभिवृद्धिका लागि सुरु गर्न लागिएको उनको भनाइ छ ।

कमिटीले श्रम, अध्ययन, पेशा वा वृत्ति–विकास जुनसुकै उद्देश्यले विदेश जान लागेका नेपाली युवायुवतीहरुलाई उनीहरुको गन्तव्य देशको सामान्य भूगोल, हावापानी, रहनसहन, जीवनयापनको तौर तरिका सामान्य नियम कानुन, आप्रवासीको अवस्था, नरम सीप आदिबारे अभिमुखीकरण गराउने जनाएको छ । बेकरी, बारिस्टा, फ्रन्ट अफिस, बार टेण्डिङ, हाउस किपिङ, एज केयरिङ, बुचरी, मोटर मेकानिक्स, स्पा, हेयर ड्रेसिङ, ब्युटिसियन, इलेक्ट्रोनिक्स गुङस रिपेरिङ, इलेक्ट्रोसियन जस्ता सीपमुलक एवम् प्राविधिक तालिम दिने व्यवस्था गर्ने र दक्ष जनशक्ति उत्पादनमा जोड दिने, उच्च दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसरलाई बढावा दिने लगायतका योजना कमिटीले अघि सारेको छ । नेपालको नियम कानुन अनुसार सम्बन्धित निकायहरुबाट स्वीकृति र कलेज तथा विश्व विद्यालयको सम्बन्धन समेत लिएर कार्यक्रम छिट्टै सुरु गर्ने संयोजक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?