+
+

भारी वर्षाले भारतमा जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते ६:४२

२५ असार, काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ ।

गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।

पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ ।

उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ ।

यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।

अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?