+
+

कछुवा गतिमा पृथ्वी राजमार्गको विस्तार, २ वर्षमा ८ प्रतिशतमात्रै काम

विकास रोकामगर विकास रोकामगर
२०८० असार २५ गते २०:०६

२५ असार, पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरा र संघीय राजधानी काठमाडौं जोड्ने  पृथ्वी राजमार्गमा गाडीको चाप दिन प्रतिदिन बढ्दो छ । शाखा सडकसमेत फराकिलो भइसक्दा पनि मुख्य राजमार्ग साँघुरो नै छ ।

पृथ्वी राजमार्गलाई चार लेन फराकिलो बनाउन दुई वर्ष अघिदेखि काम सुरु भएको थियो । सडक विस्तारको काम भने कछुवा गतिमा छ । तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर दूरी स्तरोन्नतिको काम सम्झौता भएको २ वर्ष बित्दासमेत ८ प्रतिशत पनि सकिएको छैन । सडक विस्तारको काम समयमै काम नहुँदा पोखरेलीमात्रै होइन, पृथ्वी राजमार्ग भएर आउने सबै यात्रु हैरान छन् ।

पृथ्वी राजमार्ग विस्तारको काम पूर्वीखण्ड (आँबुखैरेनी–जामुने) र पश्चिमखण्ड (जामुने–पृथ्वीचोक) गरी २ खण्डमा बाँडेर सुरु गरिएको थियो । भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको छ ।

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

०७८ जेठमा सम्झौता भएकाले अब म्याद सकिन एक वर्षमात्रै बाँकी छ । पृथ्वीराजमार्ग विस्तार योजना पश्चिमखण्डका लेखाअधिकृत महेश ढकालले हालसम्म केवल ७.८९ प्रतिशतमात्रै भौतिक प्रगति भएको जानकारी दिए ।

ढकालका अनुसार पृथ्वीराजमार्ग पश्चिमखण्डअन्तर्गत पर्ने ४ वटा मुख्य पुलमध्ये ३ वटा पुल निर्माण भइसकेको छ । मुख्य पुल बनेपनि आधाभन्दा बढी साना पुल निर्माण भने सुरु नै भएका छैनन् । ‘म्यानुअल पुलमा ८ वटा बनाउनुपर्छ । त्यसमध्ये अहिलेसम्म २ वटाको मात्रै काम भएको छ’, लेखा अधिकृत ढकाल भन्छन् ।

तनहुँ, लेखनाथ क्षेत्र हुँदै पोखरा मुख्यबजार क्षेत्र प्रवेश गर्ने एक मात्रद्वार विजयपुर खोला पुल जीर्ण भइसक्दासमेत पुनर्निर्माण हुन सकेको छैन । बेलाबेलामा पुल चर्किएर आउजाउ नै बन्द हुँदासमेत टालटुल पार्दै प्रयोगमा ल्याउने गरिएको छ ।

बीच सडकमा रहेका बिजुलीका पोल, खानेपानी पाइप स्थानान्तरण गर्न पनि आयोजनाले हालैमात्र सम्झौता गरेको छ । ढकालका अनुसार विद्युत प्राधिकरण र खानेपानी संस्थानलाई आइतबारमात्रै सम्झौताअनुरुप पहिलो किस्ताको २० प्रतिशत दिइएको छ ।

मुआब्जा दिन अझै बाँकी

राजमार्ग विस्तारका क्रममा मिचिने व्यक्तिको घर तथा संरचनाको मुआब्जाका लागि आवेदन माग गरिएको थियो । अहिलेसम्म ९ करोड ३७ लाख रुपैयाँ रकम वितरण गर्न योग्य रहेको आयोजनाले जनाएको छ । त्यसमध्ये ४ करोड ८९ लाख रुपैयाँमात्र वितरण गरिएको आयोजनाको भनाइ छ ।

पृथ्वीराजमार्ग (पश्चिमतर्फको तनहुँखण्ड) मा १३८ घर संरचना र १५० अन्य संरचनालाई मुआब्जा क्षतिपूर्ति दिने भनिएको थियो । तर, हालसम्म सबैले पूरा मुआब्जा पाउन सकेका छैनन् । आयोजनाका अनुसार सबै गरेर २ करोड ४८ लाख रुपैयाँ मुआब्जा रकम वितरण गर्नुपर्नेमा हालसम्म २ करोड १२ लाख रुपैयाँमात्रै वितरण गरिएको छ ।

सोही सडकअन्तर्गत कास्कीखण्डमा १३० वटा घर र १७० अन्य संरचना भत्किने गरी प्रभावित भएका छन् । आयोजनाका लेखा अधिकृत ढकालले त्यसमध्ये हालसम्म ११२ वटा संरचनाको २ करोड ७० लाख रुपैयाँमात्र मुआब्जा वितरण गरिएको जानकारी दिए । ‘हामीले १ लाखसम्म पहिलो किस्तामा दिन्छौं । त्योभन्दा बढी दिनुपरेमा ५० प्रतिशत पहिले र ५० प्रतिशत पछि दिन्छौं,’ ढकालले भने ।

राजमार्ग विस्तारमा किन ढिलाइ ?

आयोजनाका लेखा अधिकृत ढकालका अनुसार बिजुलीका पोल तथा खानेपानी पाइप आयोजना सँगसँगै सार्नुपर्ने भएकाले काममा ढिलाइ भएको हो । त्यस्तै मुख्य ठेकेदारले सहायक ठेकेदारलाई ठेक्का दिनुपर्ने भएकाले पनि काममा ढिलाइ भएको उनको जिकिर छ ।

‘त्यसमा कन्ट्याक्टरहरुको मिस अन्डरस्ट्यान्डिङले गर्दा इन्स्योर हुन नसक्दा अलि समय बित्यो । अहिले त्यो टुंगिसक्यो’, ढकालले भने, ‘सुरु चरणमा अलि ढिलो हुने रै’छ । अब काम रफ्तारमै जान्छ ।’

मापदण्डभित्रका संरचनामा महानगरको डोजर

पृथ्वी राजमार्गको मापदण्डभित्र परेका संरचनामाथि पोखरा महानगरले सोमबार डोजर चलाएको छ । महानगरले राजमार्ग अन्तर्गत मापदण्डभित्र पर्ने पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मको क्षेत्रका ६० भन्दा बढी संरचनामा डोजर चलाएको हो ।

राजमार्गदेखि दायाँबायाँ (राइट अफ वे) को २३÷२३ मिटर आधार मानेर सोही मापदण्डभित्र पर्ने संरचना भत्काइएको महानगरले जनाएको छ ।

मापदण्डभित्र पर्ने संरचना हटाउन एक महिनाअगाडि नै सूचना दिए पनि अटेरी गरेकाले महानगर आफैंले भत्काउन सुरु गरेको मेयर धनराज आचार्यले बताए ।

‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्योभन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर सहजीकरण गर्न लागेको हो’, मेयर आचार्यले भने । राजमार्ग मापदण्डभित्र पर्ने लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिइनसकेकाले केही समयपछि मात्रै संरचना हटाइने महानगरले जानकारी दिएको छ ।

पृथ्वीराजमार्ग विस्तार आयोजना पश्चिमखण्डका लेखा अधिकृत महेश ढकालले विजयपुरदेखि पृथ्वीचोकसम्मको दूरीमा १२ वटा स्थायी संरचना पर्ने जानकारी दिए । ‘त्यसमध्ये केही घर संरचनालाई मुआब्जा दिइसकेका छौं । मापदण्डभित्र बनेका पर्खाल र अन्य साना संरचनालाई मुआब्जा दिँदैनौं,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?