+
+

सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु   

रासस रासस
२०८० माघ ६ गते १९:४६
तनहुँको दमौली बजार ।

६ माघ, तनहुँ । मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् ।

घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका  अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड रुपैयाँ खर्च हुनेछ ।

‘सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ, अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ’, उनले भने ।

जिल्लाको बन्दीपुर गाउँपालिकास्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्रगतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए ।

घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय– समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउनका लागि प्रोत्साहन गर्नेलगायतका काम भइरहेको उनले बताए ।

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए ।

आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमीमा कालोपत्रे भएको छ । उक्त स्थानमा कालोपत्रे सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्नका लागि बेस हाल्ने काम भइरहेको छ ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । एकचालीस दशमलव ४५ किलोमिटर दूरीको यो खण्डको काम आगामी वैशाखसम्म सक्नुपर्ने सम्झौता छ ।

त्यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको छ ।

पूर्वी खण्डको तुलनामा कम उक्त खण्डमा हालसम्म १४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?