+
+

६ थरी फेसन, जुन यसपालि किशोरीले रुचाएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:४३

काठमाडौं । भावनात्मक उथलपुथल अनि शारीरिक परिवर्तनका हिसाबले गतिशील उमेर हो किशोरावस्था । यसको प्रभाव उनीहरुको रुपरंग वा आवरणमा पनि देखिन्छ । मौसमसँगै बद्लिइरहने उनीहरुको फेसन शैली यसैको उदाहरण हो ।

यो नै त्यस्तो उमेर हो, जतिबेला अनेकथरी फेसनको प्रयोग गर्न रहर जाग्छ । खासमा त यो नयाँ प्रयोगको उमेर पनि हो । चाहे पहिरनमा होस् वा हेयर स्टाइलमा उनीहरुले आफैंमाथि प्रयोग गर्न सक्छन् । किनभने यतिबेला उनीहरुले बदल्ने आफ्नो हुलिया त्यति अस्वाभाविक र असुहाउँदिलो देखिंदैन । जस्तो लगाए पनि सुहाउँदो लाग्छ ।

किशोरपुस्ताले सबैभन्दा बढी ध्यान दिने पहिरनमा नै हो । आफूलाई सधै चिरिच्याट्ट देखिन रुचाउने उनीहरु फेसनको नयाँ-नयाँ ट्रेन्ड पच्छ्याइरहेका हुन्छन् । यस वर्ष किशोरपुस्ताले यी ६ थरी पहिरन शैली बढी रुचाएको पाइन्छ ।

१. सर्ट र डेनिम जिन्स

अहिले किशोरपुस्ताले सर्वाधिक रुचाएको पहिरन शैली हो, सर्ट र डेनिम जिन्स । खासगरी सेतो सर्टसँग यसको संयोजन निकै सुहाउँछ । यद्यपि बुट्टेदार सर्टसँग पनि डेनिम जिन्स कम्ता राम्रो देखिंदैन ।

खासगरी क्याजुअल पहिरनको रुपमा डेनिम जिन्स र सर्ट उपयोगी हुन्छ ।

२. ब्यागी पहिरन

ब्यागी पहिरन खासगरी हिपहप शैलीका देखिन्छन् । र्‍यापरहरुको प्रभावमा यस्तो पहिरन शैली चल्तीमा आएको हो । लकडाउनपछि ब्यागी पहिरन शैली एकाएक रुचाएको पाइन्छ । त्यसो त यो पहिरन शैली सहज र सामान्य पनि देखिन्छ । किशोर र किशोरी दुवैले सराबरी यस्तो पहिरन शैली रुचाएको पाइन्छ ।

३. स्नकर्स जुत्ता

क्याजुअल वेयरको रुपमा स्नीकर्स जुत्ता अहिले चल्तीमा छ, किशोरपुस्तामाझ । हुन त यसको फेसन पहिले पनि चलेको थियो । अहिले यस्तो शैलीको पुनरागमन भएको हो । स्नीकर्स जुत्ता सहज हुन्छ । यसको साइज अलि ठूलो हुने भएकाले अग्लो पनि देखिन्छ ।

४. ओभरसाइज लुगा

किशोरपुस्ताको गज्जब फेसन चेत चाहिं अहिले उनीहरुले लगाउने ओभरसाइज लुगा पनि हो । उनीहरुको शारीरिक विकास एकदमै तीव्र हुन्छ । वर्ष दिन नपुग्दै उनीहरु हलक्क बढिसकेका हुन्छन् । सायद यही शारीरिक प्रवृत्तिसँग समायोजन मिलाउन होला, उनीहरु आफ्नो शरीरको आकारभन्दा ठूलो लुगा खोजिरहेका हुन्छन् ।

अर्कोतिर आफ्नो आवश्यकतालाई सौखमा बदल्न पनि यो पुस्ता सिपालु छन् । ओभरसाइज लुगा खोज्नुपर्ने बाध्यतालाई उनीहरुले आफ्नो खास शैली बनाएका छन् ।  त्यसैले त यसले फेसनकै रुप लिएको छ ।

५. क्रप टप

क्रप टप त किशोरीहरुको सदाबहार परिहन नै हो । यस्तो पहिरन जस्तो ठाउँमा पनि लगाउन सहज हुन्छ । शरीरको सेप पनि राम्रो देखिन्छ । क्रप टप अक्सर जिन्स र मिनीस्कर्टसँग सुहाउँछ ।

६. भिन्टेज कपडा

फेसन विज्ञहरु भन्छन्, ‘फेसनमा पुरानै शैली पुनरावृत्ति भइरहन्छ ।’ उहिले चलेको पहिरन शैली फेरि नयाँ पुस्तामा पनि ट्रेन्ड बन्छ । अहिलेका किशोरपुस्तामा पनि यस्तै भएको छ । पुरानो शैलीको पहिरन शैलीलाई उनीहरुले फेरि पछ्याउन थालेका छन् । खासगरी आफूलाई पृथक र क्लासिक देखाउन चाहनेहरुले यस्तो फेसन रुचाएको पाइन्छ ।

उज्यालो रंग

किशोरपुस्ता आफ्नो पहिरन शैली वा रंगबाट पनि अरुको ध्यान खिच्न चाहन्छन् । त्यसैले त अलि उज्यालो रंग उनीहरुको रोजाइमा पर्छ । उज्यालो रंगको पहिरन शैलीले उनीहरुको व्यक्तित्व पनि खुल्ने गर्छ ।

एक्सेसरिज

किशोरकिशोरी आफ्नो लुगासँग विभिन्न एक्सेसरिज जस्तै बे्रस्लेट, झुम्का, चेन, औंठीको संयोजन मिलाउन चाहन्छन् । धेरैले यसका साथै स्कार्फ र ब्रोचहरुको पनि प्रयोग गर्छन् । यसले उनीहरुलाई अझै स्टाइलिस र राम्रो देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?