+
+
हेलिकप्टरलाई असुरक्षित नेपाली आकाश :

मौसमलाई चुनौती दिँदा बढी दुर्घटना

अच्युत पुरी अच्युत पुरी
२०८० असार २६ गते २०:४२
सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) नम्बरको दुर्घटनाग्रस्त हेलिकोप्टरको भाग। तस्वीर : रासस

२६ असार, काठमाडौं । हवाई सुरक्षाका दृष्टिले नेपाली आकाश हवाई जहाजलाई मात्रै होइन, हेलिकप्टरहरुका लागि पनि अति नै असुरक्षित रहेको देखिएको छ । मंगलबार मनाङ एयरको ९एन–एएमभीको दुर्घटना नेपालको इतिहास ४२ औं हेलिकप्टर दुर्घटना हो ।

सोलुखुम्बुबाट काठमाडौं आउने रुटको मौसम पनि सफा छ भन्ने जानकारीका आधारमा उडेको हेलिकप्टर बीच आकाशमा कसरी खस्यो, अहिलेसम्म पत्ता लागेको छैन । तर, अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा सुरक्षित मानिने हेलिकप्टरहरु नेपालमा चाहिँ किन दुर्घटनामा परिरन्छन् ? यो प्रश्न भने गम्भीर छ ।

सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो, तर गरेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलततर्फ खटाएको थियो ।

स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो । टोलीले सोलुखुम्बुको लामजुरा पासनजिकै हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकुल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो । हेलिकप्टर ५५ वर्षीय अनुभवी पाइलट सीबी गुरुङले उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उनीसँग ७ हजार घण्टा उडानको अनुभव थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आकाश सुरक्षित रहेको दाबी गरिरहँदा नेपाली आकाशमा एकपछि अर्को हवाई दुर्घटना दोहोरिएका छन् । सन् २०२३ को सात महिनामा मात्रै भएको चौथो हेलिकप्टर दुर्घटना हो । समग्र हवाई दुर्घटनामा यस वर्षको पाँचौं दुर्घटना हो । १५ जनवरी २०२३ (१ माघ २०७९) मा पोखरामा भएको यती एयरको दुर्घटनायता नेपाली आकाशमा चार वटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । यो वर्ष भएका हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

किन बढ्यो दुर्घटना ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली पटक-पटक हेलिकप्टर दुर्घटना परिरहेको सन्दर्भमा गम्भीर विश्लेषण गर्नुपर्ने बताउँछन् । मनसुन होस् वा अन्य मौसम, हेलिकप्टर उडानका आफ्नै अन्तर्राष्ट्रिय नियम छन्,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसको परिपालना ठिक तवरले भएको छ वा छैन, गराइएको छ वा छैन भन्नेबारे गम्भीर विश्लेषण गर्नुपर्ने बेला भयो ।’ मेसिन, मानिस र मौसमबीच तालमेल भएमा मात्र सुरक्षित उडान सम्भव हुने भन्दै हरेक उडानमा यस्तो तालमेल कति मिलाइन्छ भन्नेबारे अब निर्मत समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

विकट तथा कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत् पर्दा र स्थानीय तथा पर्यटकहरु बिरामी पर्दा उद्धारका हेलिकप्टर प्रभावकारी यातायात साधन बनेको छ । दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगमा पर्यटकहरु ओसारपसारमा हेलिकप्टर प्रयोग बढ्दो छ ।

पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुने गरेको छ । साहसिक पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणका क्रममा पनि हेलिकप्टरको प्रयोग बढेको छ । मेला महोत्सवमा हेलिकप्टर राखेर सःशुल्क उडानको मज्जा दिने क्रम बढेको छ ।

प्रयोग बढिरहँदा पनि नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकिन जानकारी दिने प्रणाली विकास भएको छैन । हेलिकप्टरले कतिपय अवस्थामा हवाईजहाजको सूचनामा निर्भर रहनु पर्ने आवश्यकता छ । इनरुटका डाँडाकाँडामा आफ्नो आँखाले देखिने भूगोल पहिल्याउँदै उड्नु पर्ने भएकाले हुस्सु लागेको बेला बढी जोखिम हुने गर्छ ।

हेलिकप्टरले धेरै अवस्थामा हेलिप्याड नभएको स्थानमा ल्याण्ड गर्नुपर्ने बाध्यतासमेत हुन्छ । भएका हेलिप्याडहरुमा सुधार गरेर दुर्घटना न्युन गर्न सकिने भएपनि त्यसतर्फ कसैले ध्यान दिएको छैन । हेलिकप्टर उडानमा पाइलट र त्यसको चेकजाँचका कम्पनीका कमजोरीका घटना पनि देएिका छन् ।

एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र छिर्नेलगायतका तोकिएका मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएकोभन्दा बढी लोड बोक्ने गतिविधिमा हेलिकप्टर संलग्न भएको यसअघि दुर्घटनाका विषयमा बनेका छानबिन प्रतिवेदनले देखाएका छन् । यसअघिका अधिकांश दुर्घटनाका अध्ययनले खराब मौसमलाई पाइलटले चुनौती दिँदा दुर्घटना बढेको देखाएका छन् ।

उड्डडन प्राधिकरणले कतिपय पाइलटलाई कारबाही पनि गर्दै आएको छ । २३ मार्च २०२३ मा उडान सुरक्षा मापदण्ड मिचेपछि फिस्टेल हेलिकप्टर, एयर डाइनेस्टी र अन्नपूर्ण हेलिकप्टरका पाइलट कारबाहीमा परे । २७ अप्रिल २०२३ मा अल्टिच्युड एयरका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई अनिश्चितकालीन निलम्बन गरेको थियो । हेलिकप्टर उडानअघि र पछि नियमित चेकजाँच नगरेपछि उनीहरु कारबाहीमा परेका थिए ।

गत माघमा पोखराबाट स्याङ्जाको वालिङमा आएको एक हेलिकप्टरविना अनुमति फुटबल खेल भइरहेको मैदानमा प्रवेश गरेपछि पाइलटले कुटाइ खाएका थिए । यो घटनामा पनि प्राधिकरणले पाइलटमाथि विभागीय कारबाही गरेको थियो । ‘अनुभवी पाइलटहरु नै बढी दुर्घटनामा परेको देखिएको छ । यसले पाइलटहरूले जोखिमपूर्ण आत्मविश्वास आत्मविश्वास लिएकाले पनि दुर्घटना बढेको आश‌ंका गर्न सकिन्छ,’ प्राधिकरणका एक अधिकारीले बताए ।

कस्ता-कस्ता दुर्घटना भए नेपालमा ?

२२ वैशाख २०८० मा संखुवासभामा सिम्रिक एयरको ‘९एन–एजेजेड’ हेलिकप्टर दुर्घटनामा परेको थियो। भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । हाइड्रोपावरको सामान ओसार्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

२५ चैत, २०७९ मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना पर्‍यो । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पङ्‍खा खुस्किएएर दुर्घटनामा परेको थियो । यसमा मानवीय क्षति भने भएन ।

त्यसको भोलिपल्ट अर्थात् २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । कार्गो लिएर गएको हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भएको थिएन ।

मंगलबार दुर्घटनामा परेको हेलिकप्टर झण्डै १२ हजार ५ सय फिटको उचाइमा उडेको थियो । मंगलबार बिहान सिता र तारा एयरका जहाजले लुक्ला विमानस्थलमा ४ वटा उडान गरेका थिए । ती जहाजले मौसम क्लियर रहेको सूचना दिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल मंगलबार यो टोलीले यसै हेलिकप्टरबाट माउण्टेन फ्लाइट गरेका कारण खुम्बु क्षेत्रको मौसम राम्रो रहेको प्रमाण दिएको बताउँछन् । सोहीकारण यो दुर्घटनामा मानवीय वा प्राविधिक कमजोरी रहेको अनुमान गरिएको उनले बताए । यद्दपि, यो अनुमान मात्र भएको भन्दै निष्कर्षमा पुग्न भने सरकारले गठन गर्ने छानबिन आयोगको प्रतिवेदन नै कुर्नुपर्ने उनको भनाइ छ ।

सामान्यतया इनरुट मौसम खराबी हुँदा (हुस्सु लागेको परिस्थिति) सुरक्षित बाटो खोज्दै हेलिकप्टरहरुले उचाइ लिने गर्छन् । यसले हेलिकप्टर उडानलाई अझ बढी असुरक्षित बनाउँछ । मंगलबार यो परिस्थिति नदेखिएका कारण प्राधिकरणको तर्फबाट बुधबारदेखि आन्तरिक अध्ययन र विश्लेषण भने सुरु गरिने उनले बताए ।

१ वैशाख २०७६ मा लुक्लामा मनाङ एयरको होलिकप्टर दुर्घटनामा परेपछि लामो समयसम्म हेलिकोप्टर दुर्घटनामा परेका थिएनन् । तर, सन् २०२३ भने असुरक्षित वर्षका रुपमा स्थापित भइसकेको छ ।

पछिल्लो १० वर्षमा मात्रै नेपालमा १६ वटा हेलिकप्टर दुर्घटना भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१८ मा तीनवटा हेलिकप्टर दुर्घटनामा परेका थिए । त्यसलाई सन् २०२३ ले उछिनिसकेको छ । २०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।

कुल ४२ दुर्घटना : १०४ जनाको मृत्यु

प्राधिकरणको तथ्यांकअनुसार नेपालको हवाई इतिहासमा ४४ वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । यस्ता हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १०४ पुगिसकेको छ ।

नेपाल नागरिक उयन प्राधिकरणका अनुसार नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । यो समय भीभीआईपी हेलिकप्टोर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९७ मा थुप्तेन छोलिङमा १ जनाको ज्यान जाने गरी कर्णाली एयरको हेलिकप्टर दुर्घटना भयो । सन् १९९८मा मूलखर्कमा भएको अर्को दुर्घटनामा ३ जनाको ज्यान गयो ।

सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकप्टर खस्यो, जसमा ४ जनाको निधन भयो । सन् २००२ मा एसियन एयरको हेलिकप्टरमा सवार ११ जनाले सोलुखुम्बुमा मृत्युवरण गरे ।

सन् २००३ मै सिम्रिक एयरको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा २ जनाको ज्यान गयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाउनुपर्‍यो ।

सन् २००६मा सबैभन्दा ठूलो हेलिकप्टेर दुर्घटना भयो । वन राज्यमन्त्री गोपाल राईसहित संरक्षणविद् हर्क गुरुङलगायत सवार श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटनामा पर्दा २४ जनाको निधन भयो । यस दिनलाई संरक्षणकर्मीले कालो दिनमा रुपमा मनाउने गरेका छन् ।

२०१०मा फिस्टेल एयरको हेलिकप्टर अम्दाब्लम हिमालमा दुर्घटनामा पर्दा २ जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४मा क्रमशः सिमिकोट र सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा १/१ जनाको मृत्यु भयो । २०१५मा माउन्टेन हेलीको हेलिकप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्यो, जसमा ४ जनाको ज्यान गयो ।

यस्तै २०१५मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा अमेरिकी सैनिकसहित १३ जनाले ज्यान गुमाए । फेरि २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।

२०१८ मा हिल्सामा मनाङ एयरको होलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

सन् २०१९मा पर्यटन क्षेत्रका विभागीय मन्त्री रवीन्द्र अधिकारीले नै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुपर्‍यो । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुब भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भएको थियो । ४४ वर्षका बीचमा भएका अन्य हेलिकप्टर दुर्घटनामा कैयौं घाइते पनि भएका छन् ।

हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण कारण मान्ने गरेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?