+
+
Shares
लघुकथा :

ऋषिराजकी नातिनीको सौन्दर्य यात्रा

राज्यसत्ताले झुकाउन नसकेको ऋषिराजलाई नातिनीका लागि बजारसत्ताले झुकाइछाड्यो, उनको सिद्धान्तलाई हाइज्याक नै गरिदियो।

ऋषि बस्ताकोटी ऋषि बस्ताकोटी
२०८१ वैशाख २२ गते १५:२०

‘डाक्टर साव, अब भोट गर्न तीन दिन मात्र बाँकी छ। सबले फेसबुकमा शेयर गरेर निशालाई भोट मागेर सहयोग गरेका छन्। भोलि उसले ताज जित्न के बेर! आफ्नो नातिनीलाई मद्दत गर्नु पर्दैन? खै मोबाइल दिनु त। तपाईंकोबाट पनि भोट मागेर शेयर गर्नुपर्‍यो। डाक्टर साबका त झन् देश–विदेशमा कति धेरै चेला छन्। गुरुबाकी नातिनीलाई एक एक भोट दिए भने उसको जित सजिलो हुन्छ।’

कौशिला उनको अध्ययनकक्षमा फत्फताउँदै पसिन् ।

एलिजावेथ एन्डरसनको ‘हाइज्याक्ड: हाउ नियोलिवरालिज्म टर्न्ड द वर्क एथिक्स अगेन्स्ट वर्कर्स’ पढ्दै गरेका ऋषिराज श्रीमती कौशिलाको आवाजले झसङ्ग भए । पढ्दै गरेको पुस्तक टेबलमा राखेर श्रीमतीको अनुहारमा देखिएको भावभङ्गी पढ्न थाले ।

ऋषिराजले जीवनभरि कला–संस्कृति र प्रकृतिको व्यापारीकरणको विरोध गरे। वर्गीय, लैंगिक र जातीय शोषणका विरुद्ध इस्पात बनेर उभिए। नारीको बाहिरी रूपको व्यापार गरेर हुने सौन्दर्य प्रतियोगिताको बर्खिलापमा उत्रिए।

‘नियो-लिवरल क्रिटिक’ मा विद्यावारिधि गरेका ऋषिराजले सत्तरी वर्षको उमेरसम्म आइपुग्दा कल्याणकारी राज्यव्यवस्था र सामूहिकताको वकालत गर्दै, बजार-केन्द्रित अर्थव्यवस्थाको कटाक्ष गर्दै पुस्तक लेखे, विश्वविद्यालयमा पढाए, विद्यार्थीहरूलाई शोध गराए।

सधैंसधैं राज्यसत्ताको बागी भए, शक्तिकेन्द्रहरूका आँखी भए। व्यक्तिगत लाभहरूलाई लत्याए। प्रतिकूल नै किन नहोस्, आफ्नो विचारमा अडिग रहे। ज्ञान बाँडे, संसारभरि आफ्ना शिष्य बनाए। वैचारिकताले खारिएका प्राज्ञिक व्यक्तित्वको पहिचान बनाए।

ऋषिराजकी नातिनी निशा व्यक्तित्व विकासका लागि सौन्दर्य प्रतियोगितामा सामेल भइन्। युगको प्रवाह, व्यक्तिगत स्वतन्त्रता, नातिनीलाई हजुरबाको सिद्धान्तले छोएन।

ऋषिराजले नातिनीलाई आफ्नो सिद्धान्त विपरीतको बजारमा सामेल नहोऊ भन्न पनि सकेनन्। भनेर केही हुने पनि देखेनन्।

विभिन्न चरण पार गर्दै निशा सौन्दर्य प्रतियोगिताको ‘उत्कृष्ट १०’ मा पुगेपछि ‘भोटिङ’को चरण सुरु भयो । व्यक्तित्वमा कसी ल्याएर सर्वोत्कृष्टको ताज पहिरिनको लागि अब ‘भोट’ को जरुरी पर्‍यो।

जित्नु नै छ भने नातापाता, आफन्त, शुभचिन्तकहरूले बढीभन्दा बढी ‘भोट’ गर्नुपर्ने भयो। सबै प्रतियोगीहरूले आफ्नो पक्षमा सकेको गरे। सरकार फेर्ने चुनाव नै हो कि झैं गरी माहोल गर्मागर्मी भयो। निशाको पक्षमा पनि सामाजिक सञ्जालमा प्रचार गर्नेदेखि खल्ती टक्टक्याएर भोट गर्नेहरूको लहर चल्यो।

‘उपभोक्तावाद र बजारले कसरी दुनियाँको दिमाग भुटेको छ, कसरी फकाई फकाई लुटेको छ! यो मन्द विष कसरी सबैतिर फैलिएको छ! सबैलाई हाइज्याक गरेको छ। यसको निदान कहाँ होला, कसरी होला?’ ऋषिराज यस्तै सोच्दै थिए।

कौशिलाले ऋषिराजको मोबाइल लिएर उनको फेसबुकबाट नातिनीका लागि भोट मागिदिइन्। राज्यसत्ताले झुकाउन नसकेको ऋषिराजलाई नातिनीका लागि बजारसत्ताले झुकाइछाड्यो, उनको सिद्धान्तलाई हाइज्याक नै गरिदियो।

लेखक
ऋषि बस्ताकोटी

कवि एवं गीतरकार बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?