+
+
विचार :

मसित मेरा साथीहरूको प्रश्नको जवाफ छैन

मुकुल ढकाल मुकुल ढकाल
२०८० असार २८ गते १४:१८

राजनीतिमा लागेको एक वर्ष बढी भयो। राजनीतिमा लाग्नु अघि मेरो राजनीतिक रूचिका बारेमा साथीहरूलाई थाहा थियो।

उनीहरुलाई यो पनि थाहा थियो ‘राजनीति मेरो रूचिभन्दा माथिको विषय थियो। ती निकट साथीहरूमध्ये केही अहिले नेपालमा छन्, धेरैजसो विदेश’ अमेरिका, अष्ट्रेलिया यस्तै यस्तै।

राजनीतिमा लागेको थाहा भएपछि साथीहरू भन्थे– ‘ट्रयाक चैं भेट्टाइस्, अब गन्तव्य पुग्नुपर्छ।’ देश बनाउने भनेको सायद धेरै ठूलो कुरा होला, तर मेरो उद्देश्य र मैले चाहेको गन्तव्य भनेको कम्तीमा आफ्नो जीवनकालमा अमेरिका, अष्ट्रेलिया लगायत देशमा बसिरहेका साथीहरू नेपाल फर्कनेसम्मको वातावरण बनाउनु हो।

पारिपट्टि हरियो भन्ने उखान नै छ, तर मलाई थाहा छ, पारिपट्टि गइसकेपछि पनि देशको अवस्था त्यस्तो छैन कि यहाँ हरियो देखिन्छ। कम्तीमा पारिबाट हरियो देखिने नेपाल हुनु नै त्यो गन्तव्य हो। त्यही गन्तव्य आजकल मेरा साथीहरूले सम्झाइरहन्छन्।

मेरा साथीहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत लगायत मुलुकमा डाक्टर, इन्जिनियर, सफ्टवेयर डेभलपरका रूपमा काम गरिरहेका छन्। मेरो आफ्नै दादा (दाइ) अमेरिकामा- सीपीए (चार्टर एकाउन्टेन्ट जस्तै)। ती देशहरूमा जति सुविधा नेपालले पनि दिन थाल्नेछ, यो देश पनि एउटा सिस्टममा चल्न थाल्नेछ र मेरा साथीहरू नेपाल फर्कन थाल्नेछन्। यत्ति हो, यो जुनीमा देश बनाउने भनेको, त्यसैको लागि हो राजनीति गरेको।

मैले एमबीबीएस काठमाडौं मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयबाट गरेको हुँ। मेरो ब्याचको केयूको गोल्ड मेडलिस्ट साथीसँग अमेरिकाबाट बिहे गर्नका लागि मात्रै फर्केको अर्को डाक्टर साथीको बिहेमा भेट भएको थियो। नेपाल सरकारको छात्रवृत्तिमा पढेकाले देशको दुर्गममा नै गएर उसले दुई वर्ष सेवा पनि गर्यो। र मैले भेटेको पर्सिपल्ट ऊ अमेरिका जाँदैथियो।

मैले उसलाई भनें– गोल्ड मेडलिस्ट मान्छे यही देशमा बसेको भए हुने नि!

उसले भन्यो– ‘यो देशमा म एउटा गोल्ड मेडलिस्ट गएर केही फरक पर्दैन, विभिन्न क्षेत्रका विभिन्न वर्षका हजारौं गोल्ड मेडलिस्ट अझै पनि यो देशमा केही गरूँ, यो देशलाई आफ्नो केही दिउँ भनेर बसेका छन्। उहाँहरूकै क्षमता प्रयोग हुनसकेको छैन।’

साथीहरूले, मलाई आजकल प्रश्न सोध्ने गर्छन्-यो देश बन्ने रहेछ कि रहेनछ ? वास्तवमा मलाई आजसम्म यो देश बन्छ, बन्दैन थाहा छैन। देश त बनिसकेको हो, यसलाई विकसित बनाउने हो, सिस्टम बनाउने हो भन्ने त थाहा छ तर साथीको प्रश्न देश बन्ने रहेछ कि रहेनछ को उत्तर थाहा छैन।

एउटा कुरा ठम्याउन सकेको भनेको, देश बनाउने भनेको फुटबल खेलमा गोल हान्नु जस्तै हो, र देश बनाउन हामी नेपालीले खेलिरहेको यो फुटबल खेलमा नेपालको विपक्षमा मैदानमा कोही छैन।

विपक्षीको गोल पोष्ट पनि खाली छन् र यहाँ जसले गोल हाने नि देश बन्छ तर गोल हानिहाल्छ कि भनेर यहाँ एकले अर्काको खुट्टालाई तानेर फाउल खेलिरहेका छन्।

यो खेलमा रेफ्री पनि छैन। आफैंले गोल हान्न हो वा अरूले गोल हान्छ कि भन्ने ईर्ष्याले हो, अर्काको खुट्टामा बल हुँदा, खुट्टा तानेर लडाइदिइहाल्ने, गोल हान्न नदिने। यो खेलमा विपक्षी छैन, तर आफ्नै टिमका सबै खेलाडी एकले अर्कालाई विपक्षी ठान्छन्। यहाँ सबै जना आफ्नो खुट्टामा बल चाहिरहेका छन् र यो घम्साघम्सीमा कहिलेकाहीं आत्मघाती गोल हुने गरेको छ बरू, तर विपक्षीको पोष्टमा गोल हुनसकेको छैन।’

यो सजिलो खेल भयो वा गाह्रो ठम्याउन सकिरहेको छैन, त्यसैले मसँग मेरा साथीहरूको प्रश्नको जवाफ छैन।

देश बनाउन राजनीति बन्नुपर्ने रहेछ, राजनीति बन्न समाज बन्नुपर्ने रहेछ र फेरि समाज बन्न फेरि त्यही राजनीति बन्नुपर्ने रहेछ। पुराना खेलाडीहरू यसरी नै झगडा गरिरहन्छन् खासमा। म आशा गर्छु– २०८४ मा बल हाम्रो खुट्टामा हुनेछ, रास्वपाको खुट्टामा हुनेछ र रास्वपाले गोल हान्नेछ। विपक्षी १० जना खेलाडीबाट छलेर गोल हान्नेछ।

विल्कुल, यी विपक्षी नै हुन्, यिनको खुट्टामा धेरैचोटि बल पर्यो तर यिनले गोल हानेनन्, यिनीहरूलाई विपक्षीले (यो बेथितिले, यो आत्मसमर्पणवादले, यो भ्रष्टाचारले, यो असमानताले) किनेका छन्। यी त्यसैका लागि प्रयोग भएका छन्। हाम्रा विपक्षी मैदानमा छैनन् तर मैदानलाई बाहिरबाटै नियन्त्रण गरिरहेका छन्।

हामी यस्ता विपक्षीहरुलाई एउटा शक्तिशाली राजनीतिक सन्देश दिन समर्थ छौं। र, सायद त्यही प्रयास नै मैले मेरा साथीहरुलाई दिन सक्ने जवाफ हो।

ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?