+
+

प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने विषयले रास्वपामा लफडा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १५:३७

२४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद भएको खुलेको छ ।

मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बसेको थियो । मंसिर ११ र १२ को बैठक सकिएपछि ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो । राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भएको थियो ।

नीतिविचार प्रतिनिधिमण्डलले दुई दिनमा प्रस्तावनालाई टुंगो लगाउन नसकेपछि तेस्रो दिन विहान पुन बैठक डाकियो । १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई अन्तिम रुप दिन उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको छुट्टै बैठक बस्यो । तिन नेताले प्रस्तावनालाई टुंगो लगाए ।

रास्वपा स्रोतका अनुसार प्रस्तावनाको माथिल्लो भागमा ढकाल, वाग्ले र परियारको हस्ताक्षर थियो । महामन्त्री ढकालले प्रतिनिधिमण्डलका अन्य सदस्यलाई प्रस्तावनाको तल्लो भागमा हस्ताक्षर गर्न आग्रह गरे । यही विषयले प्रतिनिनिमण्डलमा विवाद निम्तियो ।

ढकालको आग्रह अन्य सदस्यले स्वीकार गरेनन् । प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार तीन जनाले हस्ताक्षर माथि गर्नुपर्ने अरुले तल्लो भागमा किन ? यो प्रश्न सांसद गणेश पराजुलीले गरेका थिए । उनले महामन्त्री ढकाललाई प्रश्न गरेपछि अरुले पनि साथ दिए ।

नीति दस्तावेज निर्माणका लागि गठित प्रतिनिधिमण्डलका एक सदस्य भन्छन्, ‘१७ जनामा सबैको योगदान बराबर हो । तीन जनाले माथिल्लो भागमा हस्ताक्षर गरेर आफ्नो हैसियत बढी देखाउन खोजेपछि विवाद भएको हो ।’

विवाद थप बढेपछि महामन्त्री ढकाल चिढिएको उनले बताए । त्यसपछि ढकालले ‘हस्ताक्षर नगर्ने भए नगर्नुस्’ भन्दै पाना भुइँमा मिल्काएका थिए ।

प्रस्तावनाको पृष्ठमा तल–माथि जहाँ पनि हस्ताक्षर गर्ने गरी सबैलाई आग्रह गरिएको भए विवाद नै नहुने प्रतिनिधिमण्डलका ती सदस्यको तर्क छ । तीन जनाले माथि नै गर्नुपर्ने र अरुले तल हस्ताक्षर गर्नुपर्ने बाध्यकारी भए हस्ताक्षर नगर्ने केही नेताले अडान लिए ।

त्यसपछि मध्यमार्गी बाटो अपनाइयो ।

बाँकी १४ जनामध्येबाट एक जनाले मात्रै भए पनि राजनीतिक दस्ताबेजको माथिल्लो भागमा हस्ताक्षर गर्नुपर्ने अडान राखेका थिए । अन्तिममा चार जनाको हस्ताक्षर माथिल्लो भागमा र बाँकी १३ जनाको हस्ताक्षर प्रस्तावनाको तल्लो भागमा भयो । माथिल्लो भागमा हस्ताक्षर गर्ने अर्का व्यक्ति सहप्रवक्ता रमेश प्रसाईं थिए ।

महामन्त्री ढकालले भने हस्ताक्षरको कुरा ठूलो विषय नभएको प्रतिक्रिया दिए । ‘अहिलेसम्म रास्वपाका जति निर्णय भएका छन्, सहमतिमा भएका छन्’, ढकालले भने, ‘अरुले पनि माथि हस्ताक्षर गर्न पाउनुपर्छ भन्नुभयो, गर्नुभयो ।’

उक्त घटना जिस्किने तहमा मात्रै भएको ढकालको दाबी छ । हस्ताक्षरसहितको प्रस्तावना भने सार्वजनिक गरिएको छैन ।

उक्त समितिमा रहेका कमल सुवेदीले हस्ताक्षरको विषय सामान्य भएको बताए । ‘हामी १७ जनाले हस्ताक्षर गरेर सभापतिलाई प्रस्तावना बुझाएका हौं’, सुवेदीले भने, ‘सभापतिलाई बुझाउँदा मिसमास भएर नै हस्ताक्षर भएको छ ।’

दस्तावेज निर्माणका लागि पार्टीले बनाएको प्रतिनिधिमण्डलमा उपसभापति वाग्ले, महामन्त्री ढकाल, तीन सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, विपीनकुमार आचार्य, सहप्रवक्ता मनिष झा र रमेश प्रसाईं छन् । साथै संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, नेताहरु शिशिर खनाल, सोविता गौतम, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, कमल सुवेदी, गणेश पराजुली, क्रान्तिशिखा धिताल र शंकर श्रेष्ठ छन् ।

‘नयाँ युगको संकल्प’ नाम दिइएको राजनीतिक दस्तावेज पार्टी स्थापना दिवस (असार ७ ) मा सार्वजनिक गर्ने तयारी गरिए पनि विवादका कारण रोकिएको थियो । पार्टीको वैचारिक/राजनीतिक दृष्टिकोण, प्रदेश संरचना लगायतमा विवाद भएपछि रास्वपा थप गृहकार्यमा लागेको थियो ।

१३ मंसिरमा रास्वपाले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै सार्वजनिक गरेको छ । रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ ।

दस्तावेज निर्माणका लागि पार्टीले ‘जन आवाज सुन्ने’ र आर्थिक मन्थन पनि यस बीचमा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?