 
																						२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमार्फत उनले रवि लामिछानेको सम्भावित प्रधानमन्त्री बन्ने प्रयास र त्यसमा भएको आन्तरिक छलफलको पृष्ठभूमि स्पष्ट पारेका हुन् ।
कांग्रेसको प्रस्ताव र रविको उत्सुकता
ढकालका अनुसार, प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपा गठबन्धन बनाएपछि कांग्रेस प्रतिपक्षमा गएको थियो । त्यसपछि विभिन्न माध्यमबाट लोकतान्त्रिक गठनबन्धननिर्माणको प्रस्ताव आउन थालेका थिए ।
नेपाली कांग्रेसले रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने, त्यसपछि देउवाले नेतृत्व लिने प्रस्ताव गरेको ढकालको दाबी छ ।
‘रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए,’ ढकालले लेखेका छन्, ‘कसरी सरकार छोड्ने र कांग्रेससँगको सहकार्यलाई प्राकृतिक देखाउने भनेर रणनीति बनाउने जिम्मेवारी मलाई आएको थियो ।’
ढकालले त्यसबेला संविधानको धारा १००(२) को उल्लेख गर्दै यस्तो हतारो गलत हुने तर्क गरेको दाबी गरेका छन् ।
उक्त धाराअनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ‘यस अवधिमा प्रचण्डले तिकडम गर्न सक्थे, वा देउवालाई धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने बाटो खुल्ला हुन्थ्यो,’ ढकालले भनेका छन् ।
उनले काँग्रेसको प्रस्ताव तत्काल कार्यान्वयन नहुन सक्ने, ३० दिनभित्र काँग्रेसले धोका दिने सम्भावना रहन सक्ने भन्दै त्यसले रास्वपाको क्षति हुने निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।
‘कांग्रेसप्रति कुनै दरिलो विश्वासको आधार थिएन,’ उनले लेखेका छन् ।
ढकालका अनुसार, सबै संविधानिक र राजनीतिक समीकरण हेरेपछि रवि लामिछाने आफैँ पनि काँग्रेसको प्रस्तावमा शंका गर्न थाले र प्रधानमन्त्री बन्ने अवसर नभएको बुझे ।
प्रधानमन्त्री पद छोडिएको भन्ने दाबी गलत
शुक्रबार साँझ आफूलाई पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई रास्वपा सभापति रवि लामिछानेले ‘आफू प्रधानमन्त्री बन्न छोडेर हिंडेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।
यसबारे ढकालको टिप्पणी छ, ‘इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार हो ।’
उनले संविधान, त्यतिबेलाका समाचार रिपोर्ट, संसदीय अंकगणित र लोकतान्त्रिक गठबन्धनको सम्भावनालाई प्रमाणका रूपमा हेर्न आग्रह गरेका छन्।
रविप्रति व्यंग्यात्मक टिप्पणी
ढकालले रविलाई लक्षित गर्दै लेखेका छन्, ‘राजनीतिक पार्टीबीच हुने आन्तरिक छलफललाई बारम्बार दोहोर्याएर रवि दाइले अराजनीतिक चरित्र देखाएका हुन्। म त त्यतिबेला के भएको थियो भन्ने स्पष्ट पारिदिएको मात्र हुँ ।’
हेर्नुहोस् रास्वपा पूर्व महामन्त्री मुकुल ढकालको स्टाटस :
रवि दाइ प्रधानमन्त्री बन्ने कुरा, खासमा के भएको थियो ?
त्यतिबेला प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन परिवर्तन गरी एमाले-रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, कांग्रेस प्रतिपक्षमा बस्यो ।
कांग्रेस प्रतिपक्षमा बसेपछि, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली कांग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागि प्रधानमन्त्री बनाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो ।
कांग्रेसबाट त्यसरी प्रस्ताव आएपछि, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र कांग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागि रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनुभएको थियो ।
तर मसँग त्यो प्रस्ताव र निर्देशन आइसकेपछि, मैले रवि दाइलाई संविधानका ‘धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ अनुसार जान पर्ने हुन्छ र तत्कालीन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताएँ ।
त्यसरी प्रचण्डले ३० दिनमा आफैं प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो ।
रास्वपाले तत्काल सरकार छाडे, कांग्रेस-माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो ।
नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, कांग्रेसबाट आएको उक्त प्रस्ताव १-२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा कांग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । कांग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछि कांग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए ।
यसर्थ, इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दावी निराधार छ।
माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागि नेपालको संविधान पल्टाउन सक्नुहुन्छ। कांग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नुहुन्छ। डेमोक्रेटिक एलायन्समा पुग्ने संसद्को अंकगणित नाप्न सक्नुहुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरी हौवा नपिटौँ ।
(माथि उल्लेख गरिएका सबै कुरा मिडियामा आइसकेका हुन्। त्यसलाई एक ठाउँमा राखेर कुरा क्लियर मात्र पारेको हो। राजनीतिक पार्टीहरूबीच हुने आपसी कुरालाई रवि दाइ आफैंले पटक पटक दोहोर्याएर अराजनीतिक चरित्र देखाएका हुन्, मैले यता ठ्याक्कै के भएको थियो, त्यो भनिदिएको मात्र हो ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4