+
+

लगानीकर्ताले हेलिकप्टर उडाउन नपाउने नियमले एक दर्जन पाइलटमाथि प्रतिबन्ध

अच्युत पुरी अच्युत पुरी
२०८० असार २८ गते १९:५५

२८ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानीसमेत गरेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएसँगै एक दर्जन पाइलट ग्राउन्डेड हुने भएका छन् ।

प्राधिकरणले मंगलबार सोलुखुम्बुको लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि यो नियम ल्याएको हो । नियमअनुसार लगानीकर्ताका रुपमा हेलिकप्टर उडाइरहेका पाइलटले व्यावसायिक उडानमा हेलिकप्टर उडाउन पाउने छैनन् ।

प्राधिकरण स्रोतका अनुसार यसरी आफैंले लगानीसमेत गरेका हेलिकप्टर उडाउने पाइलटको संख्या ११ जना छ । नेपालमा कुल १२ वटा हेलिकप्टर कम्पनी छन् । जसमध्ये अहिले ८ वटा कम्पनीका ११ जना पाइलट सेयर सदस्यका रुपमा कार्यरत छन् । प्राधिकरणका अनुसार यी पाइलटले अब या सेयर सदस्यका रुपमा व्यवस्थाकीय जिम्मेवारी छाड्नुपर्छ वा हेलिकप्टर उडाउन पाउने छैनन् ।

सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) नम्बरको दुर्घटनाग्रस्त हेलिकोप्टरको भाग।

कुन कम्पनीमा छन् सेयर होल्डर ?

प्राधिकरण स्रोतका अनुसार अहिले अल्टिच्यूड एयरमा एकजना पाइलट सेयर होल्डर छन् । एयर डाइनेस्टीमा समेत एक जना पाइलटको सेयर छ । समिट हेलिकप्टरमा पनि एक जना पाइलट लगानीकर्ता छन् । मनाङ एयरमा समेत एक जना क्याप्टेन व्यवस्थापकीय भूमिकामा छन् ।

सबैभन्दा धेरै सिम्रिक एयरमा क्याप्टेनहरु व्यवस्थापकीय भूमिकामा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो कम्पनीमा तीन जना पाइलटले ककपिटसँगै व्यवस्थापन पनि सम्हाल्छन् । माउन्टेन हेलिकप्टरमा एक जना पाइलट यस्ता छन् । प्रभु हेलिकप्टरमा दुई जना क्याप्टेन व्यवस्थापकीय भूमिकामा छन् । कैलाश हेलिकप्टरमा एक जना व्यवस्थापकीय भूमिकामा रहेको प्राधिकरणले जनाएको छ ।

किन रोक्नु परेको हो व्यवस्थापकलाई ककपिटमा ?

मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा पर्‍यो । यसको ककपिटमा थिए अनुभवी पाइलट सीबी गुरुङ । उनी पाइलट मात्र थिएनन्, कम्पनीको सेफ्टी विभाग प्रमुख समेत थिए । उनी पाइलटसँगै व्यवस्थापकीय भूमिकामा रहेका थिए । एउटै व्यक्ति व्यवस्थापकीय भूमिका र पाइलटको समेत भूमिकामा रहँदा मानसिक थकान वा तनावमा हुने भएकाले हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो नियम ल्याउनु परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

लगानीकर्ता पाइलट भएपछि कतिपय अवस्थामा जोखिम लिएरै हेलिकप्टर उडाउने तथा नाफालाई ध्यान दिँदा सुरक्षामा सम्झौता हुन सक्ने आशंकका आधारमा प्राधिकरणले लगानीकर्तालाई ककपिटमा रोक लगाउने निर्णय गरेको बताएको छ ।

कागजी परिवर्तनले बढ्छ हवाई सुरक्षा ?

प्राधिकरणको यो नियम कार्यान्वयन गर्न स्वयम् वायुसेवा कम्पनी पनि ठूलो विषय मान्दैनन् । कागजी रुपमा ती पाइलटको भूमिका परिवर्तन गरेर भए पनि उनीहरु उडानमा फर्कनेमा उनीहरु विश्वस्त छन् ।

वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार प्राधिकरणको नियत असल भए पनि यसै कारण दुर्घटना भइरहेका छन् भन्ने निष्कर्षमा पुग्नु गलत हुने बताउँछन् ।

‘पाइलटले भोलि नै श्रीमान/श्रीमती वा छोराछोरीको नाममा सेयर ट्रान्सफर गर्लान्, यसले पाइलटको व्यवसायीक स्वार्थमा कमी आउला त ?’ उनी प्रश्न गर्छन्, ‘हवाई सुरक्षा अभिवृद्धिका लागि कागजी परिवर्तनले मात्र सम्भव छैन ।’

नेपालमा बढ्दो हवाई दुर्घटनाका बीच प्राधिकरणतर्फ समेत नियामकीय भूमिकाको प्रश्न उठ्ने गरेको छ । प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा विभाजन गरी स्वार्थको खेलबाट मुक्त राख्नु पर्ने आवाज उठिरहेको छ ।

तर, प्राधिकरणकै असहयोगका कारण सरकारले यसलाई टुंगोमा पुर्‍याउन सकेको छैन । यस्तो अवस्थामा मौसमी सूचना चुस्त राख्ने, प्रतिकुल मौसममा उडानको अनुमति नदिने तथा अटेर गर्ने पाइलट र कम्पनीको निगरानी राख्न नसक्नु प्राधिकरणको कमजोरीका रुपमा देखिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?