+
+

बाराही घाट चोकमा सार्वजनिक शौचालय निर्माण नगर्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १९:३३

२८ असार, पोखरा । उच्च अदालत पोखराले बाराही घाट चोकमा सार्वजनिक शौचालय  निर्माणमा रोक लगाएको छ । सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण गर्न दिने निर्णविरुद्ध ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

पोखरा महानगरपालिकाले तल्लो तलामा सार्वजनिक शौचालय र उपल्लो तलामा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी १५ वर्षका लागि निजी कम्पनीलाई ठेक्का दिएको थियो ।

उक्त शौचालयको ११ जेठमा मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए । सूचनाको हक प्रयोग गरेर माग गर्दा पनि डेढ करोड रुपैयाँमा निर्माण हुने भनिएको शौचालयको स्टिमेट र ठेक्का ममहानगरले नदिएको र यसमा मेयर आचार्यको स्वार्थ बाझिएको रिट निवेदक युवाहरुको भनाइ छ ।

युवा अभियन्ता अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र राजेन्द्र बाटाजूले जनताले संरक्षण गरेर जोगाएको सार्वजनिक जग्गामा स्वार्थपूर्ण हिसाबले कानुनबिपरीत निजी कम्पनीलाई १५ वर्षका लागि ठेक्का दिइएको भन्दै रिट दिएका थिए ।

बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले पोखरा महानगरपालिका र वडा नं ६ को वडा कार्यालयसँग लिखित जवाफ पनि माग गरेको छ ।

बाराही चोकनजिकै फेवा किनार र चौरभित्र नेपाल लिटरेचर फेस्टिभल आयोजकले बनाएका २ वटा शौचालय छन् । तर, त्यसको व्यवस्थापन गरेर सञ्चालन गर्न सक्ने अवस्था हुँदा हुँदै सार्वजनिक खरिद ऐनबिपरीत १५ वर्षलाई सूर्य नेपाललाई स्वीकृति दिइएको थियो ।  भीएनवाइ पार्कका रुपमा रहेकोे यो जग्गा ऐतिहासिक पनि रहेको र त्यो ठाउँमा संरचना नबनाउन स्थानीयले दबाबसमेत दिइरहेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य टोबाको कम्पनीले बनाउन लागेको र यस सम्बन्धी कागजात आफूले पनि नपाएको पोखरा महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाले बताए । तर अन्तर्राष्ट्रियस्तरको शौचालय बनाउँदा रेस्टुरेन्टसहितकै हुने कोइरालाको भनाइ थियो । स्मार्ट शौचालयको कार्यविधि बनाउन लागिएको र आगामी कार्यपालिका बैठकले यो पारित गर्ने कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?