+
+

यसरी सुरु भयो साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १२:०८
फाइल तस्वीर

काठमाडौं । आज साउन १ गते साउने संक्रान्ति अनि नेपाली गाउँघरमा लुतो फाल्ने दिन पनि । असारभर खेतीपाती गर्दा हिलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बचाउने विश्वासमा लुतो फाल्ने चलन चलेको बुढापाकाहरु बताउँछन् ।

यसको एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्कोतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको देखिन्छ ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाइने शास्त्रीय जनविश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । त्यस्तै केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन परम्परागत रुपमा चलिआएको छ ।

वर्षको दुईवटा ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । देवताको उत्तरायनमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल विवाह व्रतबन्ध आदि कार्यको लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चार्डहरु दक्षिणायनमा पर्ने गरेको बताउँछन् ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ । लुतो फाल्ने कर्म साउन १ गते साँझ गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चीजबाहेक बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने र छालाको संक्रमणबाट बच्ने उपाय मानिन्छ । पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैं पड्किन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्को गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्को गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

बेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलनमा धेरै परिवर्तन भएको देखिन्छ । अहिले धसिंगलेसँगै नरकटका बोट, तितेपातीजस्ता विभिन्न वनस्पति वनपाखा गएर जम्मा गर्ने संस्कृति हराएको पाइन्छ । यसको साटो छवालीका मुठा बाल्ने चलन छ । पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?