+
+

भोलिदेखि देशभर कम पानी पर्ने पूर्वानुमान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ७:५५

२ साउन, काठमाडौं । आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

हिजो नेपालमा चीनको तिब्बत क्षेत्रमा बादल नेपाल प्रवेश गरेको देखिएको थियो । हिजो रातिदेखि नै बागमती र गण्डकीका एक-दुई स्थानहरुमा भारी वर्षासमेत भएको छ ।

सोमबार राति सिन्धुपाल्चोक र कास्की जिल्लामा भारी वर्षा भएको मौसमविद बिनु महर्जनले जानकारी दिइन् । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, कास्की, पर्वततिर बाढी पहिरोको जोखिम हुन सक्ने चेतावनीसहितको सूचना गएराति नै सार्वजनिक गरेको थियो ।

आज बिहान पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कर्णाली प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

अहिले सुदूरपश्चिम र कर्णालीको सीमा क्षेत्र कालिकोट र आसपासका जिल्लामा हल्का वर्षा भइरहेको मौसमविद बिनु महर्जनले जानकारी दिइन् । आज सुदूरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसमविद महर्जनका अनुसार आज एक दिन मनसुन अलि बढी सक्रिय हुने भए पनि आज रातिबाटै वर्षा कम हुँदै जाने देखिएको छ । ‘आजसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी, लुम्बिनी, कर्णाली र बागमतीका केही तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ मौसमविद महर्जनले भनिन्, ‘भोलिबाट भने वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।’

पानी पर्ने क्रम देशैभरी नै विस्तारै कम हुँदै जाने र पानी परे पनि पहाडी भूभागतिर पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

अर्का मौसमविद विनोद पोखरेलका अनुसार हिजो चीनको तिब्बत तिरबाट बादलहरु नेपालतिर सरेकाले मध्य पहाडहरुमा बढी र तराईमा कम वर्षा भएको देखिएको छ । अब केही दिन तराईमा हल्का वर्षाको सम्भावना रहेकाले कृषकहरुलाई असर पर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

मनसुनको न्यून चापीय रेखा पनि पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले नेपालमा कम पानी पर्ने पूर्वानुमान गरिएको हो । केही दिन अघिसम्म मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागतिर नजिक सरेकाले धेरै क्षेत्रमा पानी परेको थियो ।

मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्ने मौसमविदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?