+
+

असन-इन्द्रचोकमा चुरा, पोते र मेहेन्दीको याम

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १६:२१

काठमाडौं । विगत १६ वर्षदेखि इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका छन् नसमुदिन खान । यो उनको होलसेल पसल हो । खुद्रामा भन्दा सस्तो पर्ने भएकाले उनीकहाँ पोते किन्नेको भीड लाग्छ ।

त्यसो त इन्द्रचोकको यो गल्ली चुरापोतेकै लागि कहलिएको छ । यहाँ स–साना पसलहरु चुरापोतेले झकिझकाउ हुन्छन् । बाह्रैमास व्यस्त रहने यो चोक लगभग १५० वर्ष पुरानो मानिन्छ ।

इन्द्रचोक आफैमा रंगीन छ । खासगरी थरीथरी सरसामान किनमेलका लागि यो देशभरकै एउटा साझा गन्तव्य हो । अहिले प्रचलित भनाइ जस्तै, यो नुनदेखि सुनसम्म, जीरादेखि हीरासम्म पाइने खुला बजार हो । यस्तो गुल्जार बजारमा चुरा, पोते नपाइने कुरै भएन ।

नेपालभर चुरापोते आपूर्ति गर्ने थलो यही नै हो । यहाँ चेक गणतन्त्र, जापान र चीनबाट पोतेको कच्चा पदार्थ ल्याइन्छ । पोतेको मात्रा र गुणस्तर अनुसार ५० देखि पाँच हजार रुपैयाँसम्मका पोते यहाँ पाइन्छन् । खासगरी विवाहको सिजन, साउन र तीजमा पोतेको व्यापार उत्कर्षमा पुग्छ ।

इन्द्रचोकमा पोतेसँगै चुराको पनि ठूलो बजार छ । इन्द्रचोकमा एक दशकदेखि चुरा बेच्दै आएकी उर्मिला गौतमका अनुसार एक दर्जन चुराको मूल्य यहाँ ४० देखि ५०० रुपैयाँसम्म छ । पोते, चुरा मात्र होइन, असन, इन्द्रचोक पछिल्ला वर्षमा मेहेन्दीको लागि पनि हब बन्दै गएको छ । विशाल बजारदेखि इन्द्रचोकसम्म पुग्दा लगभग ६० को हाराहारीमा मेहेन्दी लगाउने व्यक्ति बाटोमा भेटिन्छन् ।

१०० देखि दुई हजार रुपैयाँसम्ममा आफूलाई मन पर्ने विभिन्न डिजाइनका मेहेन्दी लगाउन सकिने मेहेन्दी आर्टिस्ट सन्तोष साह बताउँछन् । साउन महिनामा मेहेन्दी लगाउनकै लागि उनी भारतबाट नेपाल आएका हुन् । उनले आफैं मेहेन्दी तयार गरेर भारतबाट नै मेहन्दी ल्याएर आएको बताए । नेपालको मौसम अनुसार मेहन्दीको पातमा ल्वाङको तेल, शेल तेल मिसाएर मेहेन्दी तयार गरेर ल्याउने गरेको सन्तोष बताउँछन् । ‘मेहन्दीलाई प्राय: शुभकार्यहरुमा लगाउने परम्परा रहेको छ, तर साउनमा लगाइने मेहेन्दीलाई धेरैले फेसनको रूपमा लिन थालेका छन्,’ उनी भन्छन् ।

साउनमा चुरा, पोते र मेहेन्दी लगाउने धेरै पुरानो परम्परा छ । यतिबेला रातो, हरियो र पहेंलो रंगलाई बढी प्राथमिकता दिइन्छ । हरियो रङ र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेंलोले भगवान शिवप्रतिको त्याग देखाउने भएकाले साउन महिनामा हरियो पहेंलो कपडा, मेहेन्दी र चुरा, पोते लगाउने चलन भएको संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदी बताउँछन् ।

प्राकृतिक जडिबुटीहरूको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकूल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिलेदेखिकै थियो ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?