+
+
राष्ट्रिय सभामा सांसदहरुको प्रश्न :

क्विन्टल सुन छिराउँदा एयरपोर्टको डिटेक्टर किन कराएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:०६

४ साउन, काठमाडौं । १०० किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

चार्ल्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउने गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताउँछन् नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ।

बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिंदा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भएको बताए ।

‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’

भन्सारका कर्मचारीहरुको भूमिमा यस्तो कार्यमा शंकास्पद रहेको उनको आरोप छ । ‘त्यहाँको पुलिस के गरिरहेको थियो ? आर्मीलाई लाज हुन्छ कि हुँदैन ?’ उनी थप्छन्, ‘भन्सारको मिलेमतो विना हुन्छ ? पुलिसको मिलेमतो विना सम्भव हुन्छ यो चीज ?’ मुलुकलाई अपराधको क्रीडास्थल बन्नबाट सरकारले जोगाउनुपर्ने र त्यसका लागि संलग्नमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएको बारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थाले जस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरु जोडिंदा समेत छानबिन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’

सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ‘ब्रेक शू’ भनेर भन्सार छली भएको र एक, डेढ महिनामा यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको उल्लेख गर्दै उनले भने, ‘अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहम्मद खालिदले एक अर्बको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र आउँछ भने बाहिर पनि जान सक्ने भन्दै प्रश्न उठाए ।

त्रिभुवन विमानस्थलमा जुन सरकार आए पनि करारमा आफ्ना मान्छे राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले अवैध सुन आयातमा राजनीतिक संलग्नता रहेको हुनसक्ने आशंका गरे ।

त्रिभुवन विमानस्थलमा आवश्यक भन्दा बढी कर्मचारी समेत रहेको उनले बताए । पर्याप्त कर्मचारी हुँदा समेत अवैध सुन आयात हुनुले नेपालको शान्तिसुरक्षामा प्रश्न उठाएको बताए ।

तथापि, अवैध सुन बरामद हुनुले सबैतिर मिलाए पनि कतै न कतैबाट अपराध बाहिर आउँछ भन्ने समेत पुष्टि भएको उनले बताए ।

‘बाहिर (त्रिभुवन विमानस्थल बाहिर) आएर पनि केही राष्ट्रसेवकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । यसको अर्थ-धेरै आँखा बन्द छन् तर, केही कम्तीमा आँखा खुला छन्’ जसपाका सांसद खालिदले विशेष समय लिएर भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?