+
+
रोजगारी :

कोरियाबाट फर्किएर पुनः जान चाहनेलाई लक्षित गरी भाषा परीक्षा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १८:०६
फाइल तस्वीर

५ साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी)बाट यस्तो परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ । एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन् ।

कस्ता कामदारले आवेदन दिन पाउँछन् ?

ईपीएस कोरिया शाखाका अनुसार ईपीएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधि भित्रै स्वैच्छिक रुपमा नेपाल फर्किएकाहरुले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् । उमेर १८ वर्ष पुरा भएको र ३९ वर्ष ननाघेको हुनुपर्छ । फौजदारी अभियोग नलागेको, कोरियामा गैरकानूनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको र कोरियामा इ–९ र इ–९–१ भिसामा ५ वर्ष भन्दा बढी अवधि नबसेको हुनुपर्ने समेत ईपीएस कोरियाले जनाएको छ । एचआरडी कोरियाबाट ‘स्पेशल ईपीएस टोपिक’ परीक्षामा सहभागी हुन सक्ने नामावली इपीएयस कोरिया शाखाको वेवसाइटबाट हेर्न सकिन्छ । त्यहाँ नाम भएका नेपाली नागरिकले मात्र यो परीक्षामा भाग लिन पाउने भएका छन् ।

१३ साउनदेखि फारम वितरण

फारम वितरण तथा दर्ता मिति १३ साउनदेखि १५ साउनसम्म तोकिएको छ । परीक्षा तालिका घोषणा ८ भदौ २०८० मा हुने भएको छ । परीक्षा भने १८ भदौ देखि २९ भदौसम्म चल्ने भएको छ । नतिजा ३ असोजका दिन प्रकाशित हुने भएको छ । परीक्षाका लागि आवेदन अनलाइन दिने सकिनेछ । त्यसपछि एडमिट कार्ड डाउन्लोड र प्रिन्ट गरी सुरक्षित राख्नु पर्नेछ ।

के-के चाहिन्छ कागजात ?

आवेदकले फारम भर्दा राहदानीको फोटो भएको रंगिन पेज स्क्यान गरी अपलोड गर्नुपर्ने छ । ३ महिनायता खिचेको तस्वीर अपलोड गर्नुपर्छ । आफ्नै इमले र फोन नम्बर राख्नु पर्ने समेत सूचनामा उल्लेख छ । आवेदनमा कोरिया रहँदा प्रयोग गरेको राहदानीको नम्बर समेत उल्लेख गर्नुपर्छ । उक्त राहदानीको म्याद समाप्त भएर नयाँ लिएको भए दुबै राहदानीको नम्बर उल्लेख गर्नुपर्ने सूचनामा बताइएको छ ।

उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा रोजगारी पाइने भएको छ । परीक्षा शूल्क २८ अमेरिकी डलर तोकिएको छ । मौसमी कामदार भई फर्किएका, सन् २०१६ पछि लिइएको ‘टोपिक लेवल ३’ उत्तिर्ण र सन् २०१६ पछि सीप विकास तालिम लिएका व्यक्तिको हकमा प्रमाणपत्र पेश गरेमा परीक्षा दस्तुर मिनाहा हुने र थप ५ देखि २५ अंक बोनस समेत प्राप्त हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?