१८ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ । नेपालस्थित दक्षिण कोरियन राजदूतावासले भिसा शुल्क वापतको शुल्क बढेको जनाएको हो ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा कार्यालयले एक सूचना जारी गर्दै नेपालस्थित कोरियाली राजदूतावासले लिने सीसीभीआई भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि भएको जनाएको हो ।
यसअघि १० हजार ७०० रुपैयाँ रहेको शुल्क अब ११ हजार ३०० रुपैयाँ पुगेको छ । कोरियाली राजदूतावासको २०८३ असार १७ गतेको पत्रअनुसार नयाँ शुल्क लागु गरिएको शाखाले जनाएको छ ।
शाखाका अनुसार ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने र सीसीभीआई प्राप्त गरेका श्रमिकले स्वयम् ईपीएस कोरिया शाखामा उपस्थित भएर फाराम बुझाउनुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार श्रमिकले ११ हजार ३०० रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरको नाममा रहेको नेपाल बैंक, ग्वार्को शाखाको खातामा जम्मा गरी सक्कल भौचर र सीसीभीआईसहित शाखामा बुझाउनुपर्नेछ ।
विभागले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा रकम फिर्ता नहुने स्पष्ट गर्दै शुल्क बुझाउँदा विशेष सावधानी अपनाउन सबै श्रमिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया 4