+
+

बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरू

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन ५ गते १७:२३

५ साउन, काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न  सुरू गरिएको छ ।

शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।

‘स्थानीयको भीडलाई प्रहरीले हटाएपछि रोकिएका गाडीहरु बञ्चरेडाँडा पुगेका छन्,’ फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले बताए ।

घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् । नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए ।

‘म फिल्डमा थिइन । तर, प्रहरीले स्थानीयलाई धरपकड गरेर फोहोर लगेको भन्ने गुनासो आइरहेको छ,’ बजगाईंले भने । स्थानीय सुमित्रा घिमिरेका अनुसार प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगेको बताइन् ।

‘विरोध गर्न आउने पुरुषहरुलाई पक्राउ गरेर मुद्दा चलाउने धम्की प्रहरीले दिएपछि उनीहरू पछि हटे, महिलाहरुले मात्रै रोक्न सकेनौं ’ घिमिरेले भनिन् । राज्यले सधैं बञ्चरेडाँडा र सिसडोलीबासीलाई दमन गरिरहेको भन्दै उनले आक्रोश पोखिन् ।

स्थानीय बासिन्दाले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

दैनिक ३ सय ८० वटा ट्रक बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको थियो । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केको पछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो ।

तर बिहीबार क्यापिङ गर्न माटो लिएर २० वटा ट्रक बञ्चरेडाँडा जाँदा अवरोध भएको थिएन । तर, फोहोर बोकेर जाने गाडीलाई स्थानीयले अवरोध गर्ने सूचना आएपछि शहरी विकास मन्त्रालयले शुक्रबार प्रहरीको सुरक्षाासहित फोहोरका गाडी बञ्चरेडाँडामा पठाएको हो । ५ दिनसम्म फोहोर नउठ्दा टेकु ट्रान्सफर स्टेशन भरिँदै आएको थियो भने ललितपुर महानगरपालिकाले घरभित्र फोहोर व्यवस्थापन गर्न महानगरवासीलाई सूचना जारी गरेको थियो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?