+
+
कविता :

पानीको रङ्ग

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८० साउन ६ गते ९:२१

पहिले पहिले
बाका पालामा
बाजेका पालामा
मेरो गाउँको खोलामा
मेरो सहरको नदीमा
आज जस्तै गरी पानी त बग्थ्यो
माथिबाट तलतिरै बग्थ्यो
उतिवेला पनि
अहिले जस्तै
बग्ने त पानी नै थियो
बग्ने त तलतिरै थियो
तर उतिवेला पानीको रङ्ग अर्कै थियो
बग्नुको गति र ढंग अर्कै थियो
पानी सफा, सफेद र कञ्चन थियो
कुनै कृत्रिम रङ्ग रसायनको मिसावट थिएन
र पानी जस्तै मान्छेको मन पनि कञ्चन थियो
नदी जस्तै थिए मान्छेहरू
पानी जस्तै सफेद थिए मान्छेहरू ।

आजभोलि
यी खोलामा
यी नदीमा
बग्न त पहिले जस्तै गरी
पानी नै बग्छ
माथिबाट तलतिर नै बग्छ
तर अचेल बग्ने पानीको रङ्ग फरक छ
अचेल पानी कतै कालो, कतै रातो, कतै खैरो, कतै घुर्मैलो बग्छ
हाम्रो खोलाको पानी
हाम्रो नदीको पानी
पहिले जस्तो सङ्ग्लो पटक्कै छैन
पानीमा अचेल
अनेक रङ्ग भेटिन्छ
पानीमा अचेल अनेक अनेक गन्ध भेटिन्छ
र अनेक अनेक तरङ्ग भेटिन्छ
मान्छेको मन मैलिएसँगै
अचेल पानीको रङ्ग बदलिएको छ।
मान्छेको विचार कलुषित भएसँगै
खोलाको पानी पनि प्रदूषित भएको छ
पानीमा अचेल अनेक रङ्ग र रसायन मिसिएको छ ।

अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदी जस्तो छैन।

बरु बिस्तारै मान्छे जस्तै भएको छ
मान्छेको मन जस्तै प्रदूषित भएको छ
मान्छेको विचार जस्तै कलुषित भएको छ।

मलाई मेरो खहरे खोलामा
मेरो चेपे, दरौंदी र त्रिशूलीमा
फेरि बाको पालाको जस्तै पानी बगेको हेर्न मन छ
मान्छेको रङ्ग मिसिएको ढलमतीमा होइन
पुरानै पवित्र बाग्मती-विष्णुमतीको किनारमा स्वास फेर्न मन छ
मान्छे जस्तै दुर्गन्धित, दूषित र रङ्गीन पानी होइन
मान्छेले मिसाएको रङ्ग फालेर
मान्छेले घोलेको प्रदूषण पखालेर
पहिले जस्तै कञ्चन, सफा र निर्मल पानीमा
बाल्यकाल सम्झने गरी डुबुल्की मार्न मन छ
सकिन्छ भने बरु त्यही पानीले
मान्छेको मनको मैलो पखालोस्
अहम् र स्वार्थ बढारोस्
र मान्छे फेरि पानी जस्तै होस्
भित्र बाहिरै सफा, कञ्चन र निर्मल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?