+
+

पूर्वसहसचिव डा. बरालको ‘वन, समुदाय र म’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते १५:०८

६ साउन, काठमाडौं । पूर्व सहसचिव तथा वनविज्ञ डा. जगदीशचन्द्र बरालको ‘वन, समुदाय र म’ पुस्तक लोकार्पण भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र वरिष्ठ पत्रकार भैरव रिसालले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

नेपाल सरकारको वन सेवामा लामो समय काम गरेका र सामुदायिक वनका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा. बरालले वन संरक्षणका क्षेत्रमा समुदायसँग मिलेर गरेका पहलका बारेमा पुस्तकमा उल्लेख गरेको आईयुसिएनका पूर्व देशीय निर्देशक डा. यम मल्लले बताए ।

वनका हाकिमले हाकिमी शैली नदेखाई काम गर्दा कसरी वन संरक्षणमा उपलब्धी हासिल गर्न सकिन्छ भन्ने विषय पुस्तकमा उल्लेख भएको मल्लको भनाइ छ । ‘वनलाई राष्ट्रियकरण गर्ने गलत सरकारी नीतिका कारण वन विनाश भएको थियो । तर, जब वन व्यवस्थापन र संरक्षणको जिम्मा समुदायलाई दिइयो, सामुदायिक वनले वन क्षेत्र वृद्धि हुँदै गयो’, उनले भने, ‘मुलुकमा सामुदायिक वन कार्यक्रम कार्यान्वयन गर्न लेखकले सशक्त सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको हो, जुन पुस्तकमा पढ्न पाइन्छ ।’

हिमाल, पहाड र तराईमा फरक फरक तरिकाले वन व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा पनि पुस्तक पढेपछि स्पष्ट हुने उनले बताए ।

सरकारी सेवामा रहँदा केकस्तो आरोह अवरोहको सामना गर्नुपर्छ भन्ने कुरा उल्लख गरेको मल्लले बताए ।

नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सामुदायिक वनकै क्षेत्रमा पीएचडी गरेका डा. बरालले लेखेको पुस्तक वनजंगल र जनावरका बारेमा रुचि राख्ने पाठकलाई उपयोगी हुने बताए । उनले सामुदायिक वनको सबल र दुर्बल पक्षबारे छुट्टै प्रकाशन गर्नुपर्ने बताए ।

बागमती प्रदेशकी उपसभामुख तथा सामुदायिक वन राष्ट्रिय महासंघकी पूर्वअध्यक्ष अप्सरा चापागाईंले नेपालमा सामुदायिक वनको शुरुआत कसरी भयो भन्ने विषयमा बरालले पुस्तकमा उल्लेख गरेको बताइन् । ‘वन विज्ञ भरत पोखरेलले बराललाई ‘वनका च्याम्पियन’ भनेका छन्, वास्तवमा त्यो सही हो,’ उनले भनिन् ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. शर्माले यो सबै नेपालीले पढ्नुपर्ने पुस्तक रहेको बताए ।

‘हालका बेलायतका राजा राजकुमार हुँदा चार्ल्स नेपाल आउनुभएको थियो । त्यसबेला म बुढानीलकण्ठ स्कूलको अध्यक्ष थिएँ । त्यसबेला तपाईंलाई के मन पर्छ भनेर मैले सोधेको थिएँ । उहाँले मलाई प्रकृति मन पर्छ भन्नुभयो । प्रकृति हेर्नलाई नै म नेपाल आएको बताउनुभएको थियो’, उनले भने, ‘प्रकृतिको संरक्षणका विषयमा लेखिएको यो पुस्तक सबै नेपालीले पढ्नुपर्ने खालको छ ।’

वरिष्ठ पत्रकार भैरव रिसालले पुस्तक लेखेर जगदीशचन्द्र बराल अमर भएको बताए । ‘मान्छेको नाम अक्षरमा कुँदिएपछि अमर भइन्छ भनिन्छ, उहाँले पनि यति महत्वपूर्ण पुस्तक लेखेर आफ्नो नाम अक्षरमा कुँदाउनुभयो, त्यसैले उहाँ अमर हुनुभयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?