+
+

कपालका लागि कस्तो स्याम्पू राम्रो ?

जुनु चक्रधर, सौन्दर्यकर्मी जुनु चक्रधर, सौन्दर्यकर्मी
२०८० साउन ८ गते ११:१५

स्याम्पू सबैले प्रयोग गर्ने भए पनि कपालका कस्तो स्याम्पू उत्तम हुन्छ भन्ने कुरामा भने धेरैले ख्याल राखेको पाइँदैन । बजारमा धेरै प्रकारका स्याम्पू पाइन्छन् । स्याम्पू उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादन बेच्नका सुन्दर कपाल भएका वा बनाइएका मोडललाई विज्ञापनमा देखाउने गर्छन् ।

तर विज्ञापनमा देखाइए जस्तो वास्तविकतामा हुँदैन । विज्ञापनको पछि लागेर जथाभावी स्याम्पू प्रयोग गर्दा कपाललाई हानि गर्छ । कपालको प्रकृति र स्वभावलाई ध्यानमा राखेर मात्रै स्याम्पू प्रयोग गर्नुपर्छ ।

स्याम्पू प्रायः नर्मल, ड्राइ, अइली, कलर नजाने र केराटिन नरम बनाउने खालको हुन्छ । सामान्य अवस्थामा नर्मल स्याम्पू प्रयोग गरिन्छ । धेरै नै सुक्खा छ भने ड्राइ हेयर स्याम्पू प्रयोग गर्नुपर्छ ।

ड्राइ स्पाम्पूमा इमोलियन्ट र कन्डिसनिङ एजेन्ट वा मोस्चराइजर राखिएको हुन्छ । चिल्लो प्रकारको कपाल भएकाले एन्टिरेसिडेन्ट स्याम्पू प्रयोग गर्नु राम्रो हुन्छ । यसले कपालबाट चिल्लोपन हटाउन मद्दत गर्छ । कपालमा चाया भएमा एन्टिडैन्ड्रफ स्पाम्पू प्रयोग गर्नुपर्छ । कलर गरेको कपालमा कलरलाई टिक्न मद्दत गर्ने कलर लभर स्याम्पू राम्रो हुन्छ ।

त्यस्तै कपालमा चाया परेको भए वा टाउकोमा कुनै संक्रमण भएको छ भने मेडिकेटेड स्याम्पू प्रयोग गर्नु उत्तम हुन्छ । त्यस्तै केराटिन सलफेएट फ्री यसका लागि उपयुक्त मानिन्छ ।

यी सबै स्याम्पू कपालको बनावटलाई ध्यानमा राखेर प्रयोग गर्न सकिन्छ । यसले कपाललाई नरम, स्वस्थ र सुन्दर बनाउँछ । स्याम्पू आफूलाई मन पर्ने सुगन्धमा खरिद गर्न सकिन्छ ।

बजारमा पाइने स्याम्पू

सनस्लिक, डोभ, लिभव, अर्गान, प्यालेट, प्यान्टिन, हिमालयन, लोलिएर, मामाअर्थ, ट्रेस्मी, हेयर एण्ड स्वलडर, सेल्सनका स्याम्पू धेरै प्रचलनमा रहेको पाइन्छ । यी सबैमा अइली, नर्मल, ड्राइ, हेयर फल कन्ट्रोल, कलर लभ स्याम्पू, सेलसन, एन्टिडन्ड्रफ, केराटिन हेयर मास्क प्रकार उपलब्ध छन् । यसबाहेक केराटिन स्याम्पू पनि पाइन्छ ।

साबुनभन्दा स्याम्पू किन राम्रो ?

स्याम्पू कपालमैत्री हुन्छ तर साबुन हुँदैन । साबुनमा कपाललाई चाहिने फाइदाजनक सामग्रीभन्दा पनि हानिकारक केमिकल मिसाइएको हुन्छ । त्यस्तै साबुनले नुहाउँदा कपालमा धेरैबेर रग्नुपर्ने हुन्छ, जसका कारण कपालको जरा कमजोर हुने, सुख्खा भएर कपालमा समस्या आउने हुन सक्छ । तर स्याम्पू कपालको प्रकार, प्रकृति र अवस्थाअनुसार बनाइएको हुन्छ ।

स्याम्पूमा विभिन्न प्रकारका सामग्रीको मिश्रण गरिएको हुन्छ । सामान्यतया रङ, पानी, सुगन्ध, रसायन, मोइस्चराइजिङ एजेन्ट, सिरम, कन्डिसनिङ एजेन्ट, ग्लिसरिन आदि मिसाइएका हुन्छन् । साथै स्याम्पूलाई आकर्षक बनाउने एजेन्ट (मोइस्चराइजर) को पनि प्रयोग भएको हुन्छ । यसबाहेक यसमा कागती, चेरी, मह, गुलाब, काँक्रो, घिउकुमारी तथा अन्य कपाललाई फाइदा गर्ने वनस्पति मिसाइएको हुन्छ । जसले कपाललाई चम्किलो र आकर्षक बनाउँछ ।

स्याम्पू कसरी प्रयोग गर्ने ?

हरेकपटक नुहाउँदा स्याम्पू प्रयोग गर्न सकिन्छ । तर दिनदिनै नुहाउने बानी छ भने पहिलो दिन स्याम्पूले नुहाउने र दोस्रो दिन पहिला कन्डिसनर लगाउने र त्यसपछि कपालको तल्लो भागमा मात्र स्याम्पू प्रयोग गरेर पखाल्न सकिन्छ । यसले छालामा स्याम्पूको केमिकलको असर न्यून हुन्छ । त्यस्तै स्याम्पू प्रयोग गरेर कपालमा राखिरहनु पर्दैन ।

नुहाउनुअघि आवश्यकताअनुसार कचौरामा स्याम्पू र पानी मिलाएर घोल्ने । त्यसपछि मात्र स्याम्पू प्रयोग गर्नुपर्छ । किनकि यसरी प्रयोग गर्दा स्याम्पू एकै ठाउँमा मात्र सीमित नभई कपालको सबै ठाउँमा फिजिन्छ । फिज पनि राम्रोसँग आउँछ । त्यस्तै स्याम्पूमा प्रयोग हुने केमिकलको असर पनि कम हुन्छ ।

यस्तो अवस्थामा स्याम्पू प्रयोग गर्न हुँदैन

टाउकोमा कुनै संक्रमण भएमा, स्याम्पूकै कारण टाउको दुख्ने वा एलर्जी हुने समस्या भएमा प्रयोग गर्नु हुँदैन । यस्तो बेला चिकित्सकलाई जाँच गराएर मात्र स्याम्पूको प्रयोग गर्नुपर्छ । साथै मिति नाघेको स्याम्पू पनि प्रयोग गर्नु हुँदैन ।

(चक्रधर ललितपुर कुपण्डोलस्थित जुम ब्युटी एकेडेमीकी सञ्चालिकासमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?