+
+

वित्तीय गहिराइ मापनका लागि सर्वेक्षण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १५:१७
प्रतीकात्मक तस्वीर

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्था समेतलाई समेटेर वित्तीय गहिराइ मापन गर्न वित्तीय सर्वेक्षण गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उक्त घोषणा गरेको हो ।

‘वित्तीय गहिराइ मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष लगायतका अन्य गैर–बैंकिङ वित्तीय संस्थाहरुको वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्थालगायतले मुलुकको आर्थिक वृद्धिमा दिएको योगदानको गणना गर्नुलाई वित्तीय गहिराइको मापन भनिन्छ । यसमा खासगरी निजी क्षेत्रमा गएको कर्जाले आर्थिक उत्पादनमा गरेको योगदानका विषयमा अध्ययन गरिन्छ ।

यस्तै बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक देखिएकोले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिने सम्बन्धी व्यवस्थासमेत हुने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?