+
+

लोगो फेरिएको ‘ट्वीटर’लाई सुपर एप बनाउँदै एलन मस्क, एक्स अक्षरसँग किन छ मस्कको लगाव ?

बीबीसीबाट बीबीसीबाट
२०८० साउन ८ गते १८:५१

८ साउन, काठमाडौं । ट्वीटर मालिक एलन मस्कले अन्ततः १७ वर्ष पूरानो ट्वीटरको लोगोलाई परिवर्तन गरेर ट्वीटरको चीर परिचित निलो चरालाई अंग्रेजी वर्णमालाको ठूलो एक्स अक्षरले प्रतिस्थापित गरे । कालो पृष्ठभूमिमा सेतो रंगको अंग्रेजी एक्स अक्षर नै अब ट्वीटरको लोगो बनेको छ ।

अघिल्लो दिन नै मस्कले लोगो परिवर्तनको घोषणा गरेकोमा सोमबार बिहान कम्पनीकी सीईओ लिण्डा याक्कारिनोले ट्वीट गरिन्, ‘एक्स आइपुग्यो, ल अब गरौं ।’

लोगोसँगै ट्वीटरको सम्पूर्ण परिचय पनि फेरिएको छ । एलन मस्कका अनुसार अब ट्वीटरमा पोस्ट गरिने कुराहरुलाई ट्वीट्स होइन एक्सएस (x’s)  भनिनेछ ।

एलन मस्कले आफ्नो ट्वीटर अकाउन्टको प्रोफाइल तस्वीर पनि परिवर्तन गरेर नयाँ लोगो राखेका छन् र बायोमा X.com  थपेका छन् ।

यसअघि ट्वीटरको लोगोमा कुकुरको चित्र समेत राखेर झस्काएका एलन मस्कले यो पटक भने ट्वीटरको लोगो दीर्घकालका लागि फेरेका छन् र लोगो फेर्नुमा उनको ठूलै योजना छ ।

वास्तवमा एलन मस्कले महिनौँदेखि एउटा नयाँ प्रकारको सोसल मिडिया प्लाटफर्म सिर्जना गर्ने कुरा गरिरहेका थिए र सोही बमोजिम उनी ट्वीटरलाई एक्स नामक नयाँ सुपर एपमा परिणत गर्न चाहन्छन् । मस्कले ट्वीटर कम्पनीको नाम समेत परिवर्तन गरी एक्स कर्प राखेका छन् । उनले यस्तो परिवर्तन निकै अगाडि नै गरेको हुनुपर्ने समेत बताएका छन् ।

ट्वीटर सीईओ याक्कारिनोले पनि ट्वीटरको रिब्रान्डिङ एउटा उत्साहप्रद नयाँ अवसर भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘ट्वीटरले एउटा विशाल प्रभाव निर्माण गरेको छ र हामीले सञ्चार गर्ने तरिकामा परिवर्तन ल्याइदिएको छ । अब एक्स यो भन्दा पनि अगाडि जानेछ र विश्व बजार केन्द्रलाई नै रुपान्तरण गरिदिनेछ ।’

स्मरण रहोस् ट्वीटरको लोगोमा यसअघि रहेको चीर परिचित निलो चराको नाम ल्यारी हो । ट्वीटरका सहसस्थापक बिज स्टोनले बताए अनुसार बास्केटबल स्टार तथा बोस्टन सेल्टिक क्लबका लेजेन्ड ल्यारी बर्डको सम्मानमा उक्त चराको नाम राखिएको हो ।

मार्टिन ग्रेसरले सन् २०१२ मा उक्त लोगोको डिजाइन गरेका हुन् । ट्वीटरको उक्त निलो चरा सधैंका लागि हराएसँगै मानिसहरुले ट्वीटर प्लाटफर्ममा उक्त आइकनिक लोगोको अवसानमा दुख प्रकट गरिरहेका छन् ।

ट्वीटरका सहसस्थापक बिज स्टोनले एक ट्वीट गर्दै भनेका छन्, ‘आज हामीले यो महान निलो चरालाई गुडबाई गरेका भनेका छौं ।’ उनको उक्त ट्वीटलाई ट्वीटरका अर्का सहसस्थापक तथा पूर्व सिइओ ज्याक डोर्सीले शेयर गरे ।

एउटा सम्पूर्ण सुपर एप

एसियाका करोडौं मानिसका लागि भारतको पेटीएम र इण्डोनेसियाको गोजेक जस्ता सुपर एपहरु पछिल्ला केहीवर्ष यता दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेका छन् ।

यी एपहरुबाट प्रयोगकर्ताले वित्तीय प्रणाली मार्फत् विभिन्न सेवाहरुको लागि भुक्तानी समेत गर्न सक्दछन् ।

चिनिया मेसेजिङ तथा सोसल मिडिया प्लाटफर्म विच्याट पनि यो क्षेत्रमा प्रयोगकर्ताको संख्या तथा प्रदत्त सेवाका प्रकारको हिसाबले सबैभन्दा ठूलो एपको रुपमा अगाडि आएको छ । गतवर्षको आँकडा अनुसार विच्याटका प्रयोगकर्ता चीनमा मात्रै १ अर्ब २९ करोड पुगेका छन् ।

सोसल मिडिया टिप्पणीकार तथा डिजिटल एजेन्सी ब्याटेनहलका संस्थापक ड्रिउ बेन्भी भन्छन्, ‘मस्कले पूरानो ट्वीटरलाई छाडेर एउटा नयाँ ‘सम्पूर्ण एप’ स्पेसमा पूरै बल लगाएका छन् । उनको नजर एसियाली सफल आविष्कारका रुपमा रहेका विच्याट तथा मोज जस्ता सुपर एपतर्फ छ ।’

वास्तवमा अहिलेको प्लाटफर्ममा सपिङ वा भुक्तानी जस्ता केही अतिरिक्त सेवाहरु थप गरेमा मात्रै पनि एक्स एप विद्यमान ट्वीटरभन्दा अगाडि हुनेछ । तर हाल उपलब्ध विकल्पहरु धेरै छन् । त्यसैले मस्क र उनको टिमले प्रतिस्पर्धीहरुलाई भेट्टाउने प्रयत्न गर्दैछन् ।

ट्वीटरले आफ्नो वेबसाइमा निलो चरायुक्त पूरानो लोगो आफ्नो सबैभन्दा चिन्न सकिने सम्पत्तिको रुपमा रहेको भन्दै सदैव त्यसको संरक्षण गर्ने जनाएको छ ।

स्मरण रहोस् यसअघि गत अप्रिलमा मस्कले अस्थायी रुपमा ट्वीटरको निलो चराको लोगोलाई डोजेक्वाइनको शिव इनु कुकुरको चित्रले विस्थापित गरेका थिए । जसका कारण उक्त क्रिप्टोकरेन्सीको बजार मूल्य ह्वात्तै बढेको थियो ।

तर मस्कको सो कदम आलोच्य बन्यो । डोजेक्वाइनका लगानीकर्ताहरुले मस्कमाथि इनसाइडर ट्रेडिङ गरी डोजेक्वाइनको मूल्य बढाएर नाफा कमाएको आरोप लगाए ।

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा तानिँदै गएको र अलोकप्रिय निर्णयका कारण प्रयोगकर्ताहरुको संख्यामा समेत गिरावट आउन थालेको ट्वीटरमा लोगोको परिवर्तन र रिब्रान्डिङगले नयाँ तरंग ल्याइदिएको छ ।

मस्कले ४४ अर्ब डलरमा खरिद गरेयता ट्वीटर कम्पनीको आर्थिक संकटको कारण देखाउँदै आधा भन्दा धेरै कर्मचारी कटौती गरिसकेका छन् ।

एक्स अक्षरप्रतिको आशक्ति

किन हो थाहा छैन अर्बपति एलन मस्क लामो समयदेखि नै अंग्रेजी वर्णमालाको एक्स अक्षरप्रति निकै आकर्षित छन् ।

सन् १९९९ मा उनले स्थापना गरेको पहिलो व्यवसाय मध्येको एक कम्पनीको नाम एक्स डटकम थियो । वास्तवमा त्यो एउटा अनलाइन बैंकिंग प्लाटफर्म थियो ।

पछि पेपलमा मर्ज भएको उक्त प्लाटफर्म त्यसको तीनवर्ष पछि इबेले खरिद गर्दा एलन मस्कले साढे १६करोड डलर कमाउन सफल भए ।

एलन मस्कसँग एक्स डटकम नामक डोमेनको स्वामित्व अहिले छ र अहिले उक्त साइटमा लगअन गर्दा ट्वीटरमा रिडाइरेक्ट हुन्छ ।

त्यस्तै एलन मस्क चर्चित एरोस्पेस कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले सन् २००२ मा उक्त कम्पनी स्थापना गरेका हुन् ।

रोचक कुरा त के भने चर्चित कलाकार ग्रीम्ससँगबाट जन्मिएको पहिलो सन्तानको नाममा पनि उनले एक्स अक्षरबाटै सुरु गरेका छन् । जसको नाम X Æ A-12 Musk  रहेको छ ।

मस्कले हालै आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी समेत घोषणा गरेका छन् । उक्त स्टार्टअपको नाम एक्स एआई रहेको छ । उक्त कम्पनीले च्याट जिपिटीको प्रतिस्पर्धी च्याटबट निर्माण गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?