+
+

अष्ट सहकारीका अध्यक्षसहित १० जना विरुद्ध ठगी मुद्दा, ३ करोड बढीको बिगो दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १९:१६
माइतीघरमा झण्डै दुई महिनादेखि धर्नामा बसेका अष्ट सहकारीका पीडित बचतकर्ता विष्णुप्रसाद रिमाल

९ साउन, काठमाडौं । काठमाडौंको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध सहकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो ।

काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो । करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ स्थायी घर भएको खडका भने हाल फरार रहेको अभियोग पत्रमा उल्लेख छ । सोहो ठाउँ स्थायी घर भएका सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सोही स्थान स्थायी घर भएका सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी पनि फरार छन् ।  यस्तै सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा, पनि फरा छन् । फरार रहेका लेखा समिति सदस्य गोबिन्द बुढाथोकी पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- २ कै बासिन्दा हुन् ।

२०७५ देखि सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्का २५ पुस २०७७ मा सम्पन्न संस्थाको साधारणसभाबाट अध्यक्ष बनेका थिए । त्यसपछि संस्थाले साधारणसभा गरेको छैन ।

खड्का अध्यक्ष हुनुपूर्व संस्थाको अध्यक्षमा सरिता महर्जन थिइन् । आफू अध्यक्ष हुँदासम्म संस्थामा कुनै पनि समस्या नरहेको बयान अध्यक्ष खड्काले दिएको अभियोग पत्रमा उल्लेख छ ।

सहकारीले ६ असोज २०७८ मा काठमडौंको कोटेशवरमा पनि सेवा काउन्टर सुरु गरेको थियो । उक्त काउन्टरमा १५० जनाले बचत गर्ने गरेको र बचतकर्ताले निक्षेप अवधि पूरा भएपछि एकै पटक निक्षेप झिक्न आउँदा तरलताको समस्या भएको बयान उनले प्रहरी समक्ष दिएकी छन् ।

उक्त काउन्टरका कर्मचारीलाई समेत तलब दिन नसकेपछि सहकारीको काउन्टर बन्द गरी न्यूरोडबाट मात्रै सेवा दिंदै आएको थियो । २०७९ असोजदेखि भने न्यूरोडमा समेत बचकर्तालाई रकम फिर्ता दिन छोडेपछि सहकारी विरुद्ध बचकर्ताले उजुरी दिएका थिए ।

सहकारीले ९ करोड रुपैयाँ ऋण प्रवाह गरेको र बचकर्ताको ६ करोड निक्षेप दायित्व रहेको उनले बताएका थिए । तर, बचकर्ताको माग दाबी भने करिब ३ करोड ३३ लाख बराबर मात्रै परेको छ ।

सहकारीका अध्यक्ष खडकाले सहकारीलाई आफू अनुकूल चलाउन सोही अनुसारको सञ्चालक समिति बनाएको देखिन्छ । सञ्चालक समिति र लेखा समितिमा रहेको १० जनामध्ये ७ जना अध्यक्ष खड्काको गाउँ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ का छन् ।

उनले गाउँका साथी र आफन्तलाई सञ्चालक बनाएर सहकारीलाई प्राइभेट कम्पनी सरह चलाउने गरेको सहकारीका सञ्चालक र लेखा समिति सदस्यहरुको बयानबाट पनि पुष्टि हुन्छ ।

सहकारीका अध्यक्ष खड्कालाई प्रहरीले पक्राउ गरी बयान लिएको देखिन्छ । तर, त्यसपछि भने खड्का फरार रहेको अभियोग पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?