+
+

भेनिसको ‘लाइनअप’ घोषणा, नेपाली फिल्म ‘दी रेड सुटकेस’ छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १२:०४

काठमाडौं । नेपाल र श्रीलंकाको संयुक्त लगानीमा बनेको फिल्म ‘दि रेड सुटकेस’ प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभल प्रमुख अल्बार्टो बार्बेराले मंगलबार फेस्टिभलको ८० औं संस्करणको सूची घोषणा गरेका छन् ।

फेस्टिभलको होराइजन्स (ओरिजोन्टी) खण्डमा १८ फिल्म छनोट छन्, जसमध्ये ‘दि रेड सुटकेस’ पनि छ । ८७ मिनेट लामो यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

भेनिसको होराइजन्स खण्डमा यसअघि मीन भामको छोटो फिल्म ‘बाँसुल्ली’, पूजा गुरुङ र विभूषण बस्नेतको छोटो फिल्म ‘दाद्या’, दीपक रौनियार निर्देशित कथानक फिल्म ‘सेतो सूर्य’ पनि छनोट भइसकेका छन् । भामको ‘कालोपोथी : ब्ल्याक हेन’ले भेनिसको क्रिटिक्स विकमा पुरस्कार नै जितेको थियो ।

सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको ‘दि रेड सुटकेस’ले वैदेशिक रोजगारीको कथा पेश गर्छ । कतारबाट ल्याइएको रातो सुटकेसलाई लिएर हिंडेको पिकअप ट्रकबाट फिल्मको कथा सुरु हुन्छ । त्यही समयमा अर्का प्रवासी कामदार रातो सुटकेस लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कन्छन् ।

त्यो सामग्रीलाई गन्तव्यसम्म पुर्‍याउन हिंडेका पात्रहरु रहस्यमयी घटनामा फस्दै जान्छन् ।

कोभिड महामारी र त्यसलाई रोक्न लागू गरिएको आवश्यक प्रोटोकलको कारण चुनौती खेपेको भेनिससामु यसपटक दुईवटा नयाँ चुनौती छन् । त्यो हो हलिउड लेखक र कलाकारले चलाइरहेको हड्ताल । जसको कारण यसपटकको संस्करणमा निकै कम संख्यामा रेडकार्पेट कार्यक्रम हुने र कलाकारको उपस्थिति पनि पातलो हुने अनुमान छ ।

हड्तालका कारण निर्माताले फिल्म हटाउन सक्ने चर्चाबीच भेनिस आयोजकले लाइनअप घोषणा गरेका हुन् ।

एडोआर्डो डे एन्जेलिसको फिल्म ‘कमान्डेन्टे’ यसपटक भेनिसमा ओपनिङ फिल्मको रुपमा छ । यसअघि लुका गुआडाग्निनोको ‘चेलेन्जर्स’ ओपनिङ फिल्मको रुपम तय थियो । तर हलिउडमा चलिरहेको हड्तालको कारण अभिनेत्री जेन्डाया उपस्थित नहुने भएपछि ‘चेलेन्जर्स’को प्रिमियर रोकिएको हो ।

भेनिस फिल्म फेस्टिभल २०२३ आगामी अगस्ट ३० मा सुरु भएर सेप्टेम्बर ९ मा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?