+
+

तस्करीको एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ११ गते १३:३४
फाइल तस्वीर

११ साउन, काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरिसकेको छ ।

‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ ।

‘सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ’, स्रोतले भन्यो ।

यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री फर्किए पछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरेका छन् ।

सुन गाल्नका लागि राजस्व अनुसन्धन, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायत ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ ।

‘ब्रेक शु’बाट सुन छुट्ट्याउन एक दिन लाग्ने र गुणस्तर जाँचका लागि थप केही घण्टा लाग्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारको हाताबाट २ साउनको साँझ ५ बजे सुनसहित २ जनालाई पक्राउ गरेको थियो ।

हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?