+
+

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १९:०५

१८ साउन, काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन् ।

परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।

२७ चैत २०३८ मा कानुन मन्त्रालयको शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका श्रेष्ठ त्यसपछि विभिन्न क्षेत्रीय अदालतमा कर्मचारीको रुपमा काम गरे । उनी २०४४ सालमा जिल्ला न्यायाधीश भए ।

१० चैत २०६२ मा तत्कालिन पुनरावेदन अदालतको न्यायाधीश भएका उनी १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । देवानी मुद्दा मामिलामा दख्खल राख्ने श्रेष्ठ १९ असोज २०८१ सम्म प्रधानन्यायाधीश हुनेछन् ।

२०७३ सालमा सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको सिफारिस भएको थियो । तीमध्येका एक ‘क्याडर जज’का रुपमा न्यायपालिकाको नेतृत्वमा पुग्ने उनी यो दशकका अन्तिम न्यायाधीश हुन् ।

वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा कायम रहे २०९२ असोजसम्म सर्वोच्च अदालतमा क्याडर जजले प्रधानन्यायाधीश हुने अवसर पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?