+
+

पानी पार्ने प्रणाली नेपालतिर सर्दै, मधेश प्रदेशलाई हुनेछ राहत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते ८:२२

१९ साउन, काठमाडौं । मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि खुसीको खबर छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।

मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसबाट कृषि कर्ममा आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना छ ।’

महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले कति दिनसम्म पानी पर्छ भनेर ठोकुवा गरेर भन्न भने नसकिने मौसमविद झाले बताए । भोलि–पर्सिलाई मधेश प्रदेशमा पानी पर्ने सम्भावना रहे पनि सबैतिर एक नासको पानी भने नपर्ने उनको भनाइ छ ।

अहिले पानी पार्ने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागतिर सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) र पूर्वी भागतिर सरदर स्थानको दक्षिणतिर (भारततिर) अवस्थित छ । उक्त रेखा नेपालको पूर्वी भागतिर पनि केही दिनमै सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ ।

मौसमविद झाले भने, ‘आइतबारसम्ममा न्युनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सर्ने सम्भावना छ जसले गर्दा अलिकति एक्टिभिटीहरु बढ्छ ।’

मौसमविद विनोद पोखरेलका अनुसार भारत र बंगलादेशको पूर्वी तटमा रहेको न्यून चापले पूर्वी र मध्य नेपालमा राम्रो जलवाष्प ल्याइरहेको छ । तर वर्षा भने व्यापक भएको छैन । धान खेती गर्ने समयमै पर्याप्त पानी नपर्दा कृषि कर्ममा संलग्न तराई मधेशका बासिन्दा मर्कामा परेका छन् । त्यसैले सो क्षेत्रका जनप्रतिनिधिहरुले सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन संसदमै सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘अहिले वर्षा खण्डित रुपमा भइरहेको छ । कुनै–कुनै ठाउँमा मात्र भारी वर्षा भइरहेको छ । हल्कादेखि मध्यम खालको वर्षा पनि भइरहेको छ । अब चाहिँ त्यो एरिया कभरेज अलि बढी हुनेवाला छ,’ मौसमविद झाले भने ।

मनसुनी रेखा अहिले नेपालको पश्चिमी भूभाग नजिक सरेकाले गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशतिर पानी पर्दै आएको छ । त्यो रेखा अब नेपालको पूर्वी भागतिर पनि सर्यो भने त्यसको प्रभावले कोशीदेखि र बागमती प्रदेशसम्म पानी पार्ने प्रक्षेपण छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आज राति भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?