+
+
ज्ञानेन्द्र मल्लसँग संवाद :

‘क्रिकेट खेलाडी भनेर चिनिनु नै ठूलो आत्मसन्तुष्टि’

कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:२१

१९ साउन, काठमाडौं । नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे ।

नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तान रहेका मल्ल पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहे । विश्वकप छनोटमा प्ले अफमा मात्र अवसर पाएका उनी एसिया इमर्जिङ कप खेल्ने टोलीमा अटाएनन् । लगत्तै हाई पर्फर्मेन्स ट्रेनिङका लागि नाम सिफारिस हुँदा पनि श्रीलंका नगएका उनले एसिया कपको पूर्वसन्ध्यामा सन्यास घोषणा गरेका हुन् ।

कुनै समय एसिया कपसम्म खेल्छु भन्ने लागे पनि अहिले सन्यासका लागि यो नै उपयुक्त समय हो भन्ने लागेको उनले सुनाए । पूर्व कप्तान मल्लले अघि भने, ‘पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि टिममा झुन्डिएर बस्नु उपयुक्त लागेन ।’

क्रिकेट सेफ साइडमा रहेको र टिमले राम्रो गरिरहेकाले पनि यो निर्णयमा पुगेको उनले बताए ।

प्रस्तुत छ, नेपाल क्रिकेट टिमका पूर्व कप्तान मल्लसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

दुई दशक लामो क्रिकेट करियरलाई विश्राम दिन यही समय उपयुक्त हो भन्ने किन लाग्यो ?

म यतिका वर्ष खेल्न पाउनु नै ठूलो उपलब्धि हो जस्तो लाग्छ । कति यति लामो समयसम्म जानै सक्दैनन् ।

जहाँसम्म खेल जीवनबाट सन्यास अहिले किन भन्ने प्रश्न छ; मैले बारम्बार सोच्दै भन्दै आएको छु, ग्राउण्डमा गएर एउटा खेलाडीका रूपमा उभिन सक्दिनँ, आफ्नो सोच र क्षमता दिन सक्दिनँ भने बसिराख्न जरूरी छैन । किनकि निश्चित समयमा छोड्नु नै पर्छ । म आज यही फिल गरें र, यो निर्णय लिएँ ।

हामी विश्वकप पछिको ठूलो प्रतियोगिता एसिया कपको सँघारमा छौं, त्यो बेलासम्म पर्खौं भन्ने लागेन ?

योभन्दा अगाडिदेखि मैले सोचेको त त्यही थियो । त्यही हिसाबले आफूलाई तयार पनि गरिरहेको थिएँ । तर पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि झुन्डिएर बस्नु उपयुक्त लागेन ।

किनकि मैले कहिल्यै पनि माइलस्टोनका लागि उभिनुपर्छ भन्ने मान्यता राखिनँ, आज पनि राख्दिनँ । माइलस्टोनभन्दा पनि व्यक्तिगत रूपमा योगदान गर्न सक्छु कि सक्दिनँ भन्ने हो । योगदान गर्न सक्ने क्षमता छ भने (टिममा) हुनुपर्छ, छैन भने टिमलाई सहज गरिदिनुपर्छ भन्ने लाग्छ ।

डिसेम्बर २०२१ मा कप्तानबाट हटाउँदा पनि तपाईं खेल्ने नखेल्ने आशंका गरिएको थियो । तपाईंले संक्रमणकालको यो समयमा छोड्नहुन्न भनेर खेल्ने निर्णय गर्नुभयो । अहिले एसिया कप समेत नकुर्नुमा खास कुनै कारण छ ?

लामो समयसम्म हामी क्रिकेटको हितलाई केन्द्रमा राखेर फिल्ड भित्र र बाहिर बोल्यौं, आवाज उठाएका हौं । त्यो बेला पनि खराब नियतले भन्दा पनि क्रिकेटको हितका लागि सचेत गराएका थियौं । तर विभिन्न कारणले एउटा घटना भयो ।

क्रिकेट खेल्न छोड्ने हो, टाढिने पक्का होइन । बरु मैले १८/२० वर्षमा जे पाएँ, त्यो समाजलाई रिटर्न गर्ने बेला हो । र, यसका लागि यो उपयुक्त समय हो भन्ने लाग्छ ।

त्यो बेला पनि यो सोच नआएको होइन । खेललाई यहीं रोक्दा मनासिब नै हुन्छ भन्ने सोचेको पनि हो ।

तर हामी टी–२० वर्ल्डकप क्वालिफायरमा राम्रोसँग अघि बढ्नुपर्ने थियो, टिममा पनि नकारात्मक सन्देश गइरहेको थियो, त्यसलाई पनि एउटा ट्रयाकमा ल्याउनुथियो । एकदिवसीय मान्यता रहने कि नरहने भन्ने अन्योल थियो । यस्तो बेला पूर्व कप्तान र सिनियर खेलाडीका रूपमा सेफल्यान्डिङ गराउनुपर्छ, नेपालको क्रिकेट अगाडि बढाउनुपर्छ र एउटा बाटो देखाउनुपर्छ भन्ने लाग्यो । खेलाडी साथीभाइले खेल्नुपर्छ, साथ दिनुपर्छ भन्नुभयो ।

एकदिवसीय मान्यता जोगाएका छौं, एसिया कप खेल्दैछ । र, टिम पनि राम्रो लयमा छ भने सन्यास लिन यो उपयुक्त समय हो भन्ने लाग्यो ।

पछिल्लो समय टिममा पर्नुभयो, खेल्ने अवसर निकै कम पाउनुभयो । लामो समय बेञ्चमा रहेकाले अब राष्ट्रिय टिममा मेरो आवश्यकता रहेन भन्ने लागेको त होइन ?

क्याप्टेन र कोचसँग कुरा गर्दा अझै २/३ वर्ष सकिन्छ, पुश गर्नुपर्छ भन्नुभएको थियो । प्लेइङ टाइम पाउनु वा नपाउनुभन्दा मैले टिममा के योगदान गरिरहेको छु भन्ने मुख्य कुरा हो । बेञ्चमा बस्ने नबस्ने क्षणिक कुरा हो । हामीले त जहिले पनि के गर्दा टिमलाई राम्रो हुन्छ भनेर हेर्नुपर्छ । मैले पहिलादेखि क्रिकेट सेफ साइडमा हुनुपर्छ, भविष्य सुरक्षित हुनुपर्छ भन्दै आएको पनि हुँ ।

त्यसरी हेर्दा अहिले टिमले राम्रो गरिरहेको छ, क्रिकेट पनि सेफ साइडमा छ । र, मैले परिवारलाई पनि समय दिनुपर्ने भएकाले यो नै सही समय हो भन्ने लाग्यो ।

सही समय हुँदाहुँदै पनि सन्यासको निर्णय सहज होइन । कति गाह्रो हुँदो रहेछ निर्णय लिन ?

कठिन त हुन्छ, तर यो न्याचुरल प्रोसेसलाई स्वीकार गर्नुपर्छ । कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिएँ होला, यो मेरो समय हो । यसलाई जति सहज रूपमा स्वीकार गर्छौं त्यति सहज हुन्छ, स्वीकार गर्न खोजिएन भने गाह्रो हुन्छ ।

अहिले मैले क्रिकेट छोड्ने भनेको खेल्न छोड्ने हो । एउटा खेलाडीका रूपमा सबभन्दा गर्वको क्षण भनेको राष्ट्रिय टिमको जर्सी लगाएर उभिनु हो । मैले त यति लामो समय खेल्न पाएँ, राष्ट्रिय टिमको नेतृत्व गर्न पाएँ, यो खुसी क्षण हो ।

अब पनि क्रिकेट खेल्न छोड्ने हो, टाढिने पक्का होइन । बरु मैले १८/२० वर्षमा जे पाएँ, त्यो समाजलाई रिटर्न गर्ने बेला हो । र, यसका लागि यो उपयुक्त समय हो भन्ने लाग्छ ।

बिदाइ भनेको आफैंमा भावुक क्षण पनि हो । त्यसलाई अविस्मरणीय बनाएर एसिया कप वा घरेलु दर्शकसामु खेलेर खेलाडी जीवन अन्त्य गरौं भन्ने लागेन ?

सुरु–सुरुमा २/४ वर्ष खेलेपछि कसैले सन्यास लिंदा ओहो ! यस्तो रिटायरमेन्ट आफ्नो पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले बुझ्दै जाँदा लागेन । खेल्न सुरु गर्दा डंका पिटेर आएको पनि होइन, आइयो । जाँदा पनि डंका पिटेर भव्यताका साथ जानुपर्छ भन्ने लागेन । किनभने मैले आफ्नो भूमिका निभाएको हुँ । मलाई विश्वास गरेर टिममा ल्याए, छोड्दा छोडें भनेर सन्देश दिएको छु, दिनु पनि पर्छ । यसबाहेक अरू गर्न मन लागेन ।

१८ वर्ष लामो खेल जीवनलाई कसरी सम्झिनुहुन्छ ?

राष्ट्रिय टिममा पर्दा म टिममा परें भन्ने सन्तुष्टि त भइहाल्छ । तर जति खेल्दै गएँ, जति बुझ्दै गएँ, हाम्रो भूमिका योभन्दा अझ अगाडि रहेछ भन्ने बुझेँ । लो मिडियम टिमबाट ओडीआई नेशन, त्यसमा पनि टप एशोसिएट नेशन हुने कोसिसमा छौं ।

एउटा समय वर्ल्डकप एकादेशको कथा जस्तो थियो । … (नेपाल छनोट) होला कि नहोला, भयो भने कहिले भन्ने थियो । हामीले वर्ल्डकप खेल्यौं, ओडीआई नेशन पनि भयौं । टेष्ट र ५० ओभरको विश्वकप खेल्ने सपना चाहिं अधुरै रह्यो ।

जुन बेला हामीले ब्याट बल लिएर खेल्दा क्रिकेट के हो भन्ने कसैलाई मतलब थिएन आज हाउस होल्ड गेमका रूपमा लिन थालिएको छ । सबैले यसरी मन पराइदिनुभयो कि टिम गेममा नम्बर वान गेमका रूपमा हेर्नुहुन्छ । यसरी हेर्दा कसैले नसुनेको खेलबाट व्यावसायिक सेटअप र विश्वस्तरमा आउनु सबभन्दा ठूलो उपलब्धि हो । र, मेरा लागि यो यात्राको अंश बन्न पाउनु र एउटा क्रिकेट खेलाडी भनेर चिनिनु नै सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।

करियरको स्मरणीय क्षण चाहिं ?

वर्ल्डकप नै हो । किनभने यो जहिले पनि ड्रिम गरेको । वर्ल्डकप छनोट हुँदा पनि छनोट भइयो भन्ने त थियो, तर वर्ल्डकप नै हो भन्ने फिल गरेको थिएन । जब वर्ल्डकपमा पहिलो खेल हङकङसँग खेल्यौं, त्यो क्षण एकदमै अविश्वसनीय थियो ।

अर्को चाहिं वर्ल्डकपमा छनोट भएर फर्किने बेला एयरपोर्टमा पाएको स्वागत–सत्कार बयान नै गर्न नसकिने थियो । एउटा खेलाडीले देख्ने सपना नै त्यही हो भन्ने लाग्छ । पछिल्लो चाहिं गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेल हो । पानी पर्दा दर्शकहरू कहीं नगएर रुझेर, छाता ओढेर बस्नुभयो, त्यसले कहाँबाट सुरु भएको क्रिकेट यात्रा यहाँ आइपुग्दा र आफू त्यसको पार्ट हुन पाउँदा आफूलाई भाग्यमानी महसुस गर्छु ।

मैले सही कुरा उठाएको थिएँ, उठाउनु पनि पर्थ्यो । भोलिका दिनमा पनि आवश्यक पर्यो भने यसरी नै आवाज उठाउनुपर्छ जस्तो लाग्छ । यसको अर्थ कसैलाई नराम्रो गर्ने उद्देश्य होइन । यथार्थ के हो भन्ने नबुझेर नै व्यक्तिगत रूपमा लिने र क्रिकेटलाई नै गलत बाटोमा धकेल्ने उद्देश्यले कसैले गर्नुभएको हो भने त्यो नराम्रो हो भन्छु म ।

२००५/०६ देखि क्रिकेट खेल्न थालेको तपाईं २०१९ नोभेम्बरमा कप्तान बन्नुभयो । लामो समय उपकप्तान भएकाले स्वाभाविक दाबेदार त हो, तर पारस खड्का कप्तान रहँदासम्म होला र भन्ने पनि देखिन्थ्यो । तपाईंलाई चाहिं के लाग्थ्यो ?

मैले त क्रिकेट सुरु गर्दा नेपाल टिमको लागि खेल्छु भन्ने समेत सोचेको थिइनँ । एक जना दाइले एउटा किरा चाहिं तँमा छ भन्नुहुन्छ, शायद क्रिकेट खेलप्रति प्यासन त्यतिकै थियो होला । चोकमा होस्, घरको कोठामा होस् वा जहाँसुकै होस्, क्रिकेट खेल्नु थियो । त्यही प्यासनलाई फलो गर्दा धेरै साथीभाइ सिनियर दाइहरू भेटिनुभयो । उहाँहरूको सपोर्ट र मायाले बाटोहरू खुल्दै गए । त्यही क्रममा क्लब क्रिकेट, उमेर समूह हुँदै सिनियर टिमको बाटो कोरिंदै गयो । मैले त्यसलाई पछ्याउँदै गएको जस्तो मात्र लाग्छ ।

पारस खड्काले अप्रत्यासित जस्तै कप्तानबाट राजीनामा दिनु चाहिं अवसर जस्तो भयो ?

पारस र म लगभग एउटै समयमा राष्ट्रिय टिममा आयौं । एउटै उमेरबाट आएकाले पनि होला, कप्तान र उपकप्तान भएपछि पनि भोलिका लागि कसैलाई ग्रुम गर्नुपर्छ, नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने सोच राख्थ्यौं । मलाई अहिले पनि याद छ, सन् २०१४ मा बर्मुडामा टी–२० मा ध्यान दिऊँ, ५० ओभरमा चाहिं अरूलाई कप्तान बनाएर अगाडि बढ्ने कि भन्नेसम्म सल्लाह भएको थियो । किनकि हामी विश्वकपमा छनोट भएनौं, डिभिजन टूबाट पनि घटुवा भयौं ।

अर्थात् हामी नै रहिरहनुपर्छ भन्ने सोचाइ कहिल्यै थिएन । २०१९ नोभेम्बरमा पारसले कप्तान छाड्ने निर्णय लियो । उसले छोड्दा पनि मैले नै लिड गर्नुपर्छ वा म नै आउनुपर्छ भन्ने थिएन । नयाँ जानुपर्छ भन्ने पनि थियो । तर परिस्थिति यस्तो आयो कि मलाई जिम्मा दिइयो । तर म हुन्छु भन्ने सोच चाहिं थिएन ।

कप्तानबाट बिदाइ चाहिं नमिठो भयो होइन ?

त्यो क्रिकेट र क्यानको ट्रान्जिसन फेज थियो । धेरै अनिश्चितता थियो, त्यो मुद्दामा धेरैले चलखेल गरे पनि । मलाई लाग्छ, मैले सही कुरा उठाएको थिएँ, उठाउनु पनि पर्थ्यो । भोलिका दिनमा पनि आवश्यक पर्यो भने यसरी नै आवाज उठाउनुपर्छ जस्तो लाग्छ । यसको अर्थ कसैलाई नराम्रो गर्ने उद्देश्य होइन ।

यथार्थ के हो भन्ने नबुझेर नै व्यक्तिगत रूपमा लिने र क्रिकेटलाई नै गलत बाटोमा धकेल्ने उद्देश्यले कसैले गर्नुभएको हो भने त्यो नराम्रो हो भन्छु म । किनकि हामीले उठाएको विषयलाई सकारात्मक रूपमा सोचेको भए त्यसरी नै अगाडि बढ्थ्यो । त्योभन्दा केही पहिला भएको पनि थियो । शायद कसैलाई केहीको मोह थियो होला, यो बिग्रिंदा केही गेन हुन्छ भन्ने थियो होला, उनीहरूले चलखेल गरे । तर मैले नेपालको क्रिकेट अगाडि बढ्नुपर्छ भन्ने सोेचें । आफू पनि जुध्ने, लड्ने बाटो लिएको भए धेरै कुरा हुँदैनथ्यो होला, जुन आज छ ।

आज सन्यास लिने निर्णयमा आइपुग्नुभयो । सन्यासपछि के ?

यही भन्ने त छैन, तर क्रिकेट कोचिङमा एकेडेमिक हिसाबले लागेकै १४/१५ वर्ष भइसक्यो । पछिल्लो एक वर्षदेखि त पल्सर क्रिकेट एक्सेलेन्ट सेन्टर भनेर सुरु गरेका छौं । यहाँ गर्नुपर्ने कामहरू छन् । यसबाहेक केही गर्ने कोसिसमा छु । समाजलाई केही दिन सके हुन्थ्यो भन्ने रहर छ, योजना पनि बनाइरहेको छु ।

पारस खड्का चाहिं क्रिकेट व्यवस्थापनतिर जाने तयारीमा हुनुहन्छ, तपाईंलाई पनि जाउँ लागेन ?

सबै जना सिस्टममा जानुपर्छ भन्ने छैन । कोही गइरहेको छ भने बाहिर बसेर उसलाई सघाउन पनि सकिन्छ । मलाई चाहिं क्रिकेटको चुनावमा जानुपर्छ, व्यवस्थापनमा आउनुपर्छ भन्ने लाग्दैन । म आफूलाई त्यहाँभित्र फिल पनि गर्दिनँ ।

के चाहिं मिस हुन्छ होला ?

अहिले नै यही मिस हुन्छ भन्ने फिल गर्न सक्छु जस्तो लाग्दैन । शायद समयक्रममा देखेर ओहो भन्ने होला । साथीभाइ, अन एण्ड अफ द फिल्डको इमोसन लगायत धेरै कुरा जोडिए हुन्छ । ड्रेसिङ रुमदेखि त्यो माहोल धेरै मिस हुन्छ जस्तो लाग्छ ।

साथै क्रिकेटको यात्रामा समर्थकहरूको सधैं साथ रह्यो । नेपाल क्रिकेट र नेपाल टिमलाई यो माया सधैं रहिरहोस् । साथै मैले पनि भोलिका दिनमा केही सुरुवात गरें भने उहाँहरूको विश्वास र साथ सहयोग पाउँछु भन्ने आशा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?