+
+

पोखराको फोहोर ९ दिनदेखि सडकमै, सर्वदलीय वार्ता पनि मिलेन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:५४

१९ साउन, पोखरा । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाको अवरोधका कारण पोखरा महानगरको फोहोर ९ दिनदेखि उठ्न सकेको छैन । फोहोर नउठ्दा पोखराका मुख्य सडक तथा चोकचोकमा फोहोरको थुप्रो लागेको छ ।

महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीय आन्दोलित भएपछि फोहोर उठ्न छोडेको हो । फोहोर विसर्जनपछि तत्कालै माटोले पुर्ने, दुर्गन्ध रोक्न विषादी छर्कनुपर्ने, ल्यान्डफिल साइटमा फोहोर वर्गीकरण गर्न नपाइनेलगायत सहमति लागू नभएको भन्दै स्थानीयबासिन्दाले बुधबारदेखि फोहोर फाल्न रोक लगाएका हुन् ।

असन्तुष्ट स्थानीयसँग महानगर प्रमुख, उपप्रमुखसहितको टोली बिहीबार स्थानीयसँग वार्ता गर्न पुगेको थियो । तर, स्थानीयले फोहोर फाल्न नदिने आफ्नो अडान नछाड्दै महानगरको टोलीलाई नाराबाजी गर्दै कालोझन्डासमेत देखाएका थिए ।

महानगर प्रवक्ता मोति तिम्सिनाले बिहीबार भएको स्थानीयसँगको वार्ता बिना निष्कर्ष टुंगिएको जानकारी दिए । उनले शुक्रबार पनि सर्वदलीय बैठक बसेको तर, टुंगोमा पुग्न नसकेको बताए ।

‘हिजो हामीले स्थानीयसँग संवाद पनि ग¥यौं । तर, कुनै निष्कर्षमा पुग्न सकेनौं । हिजोको वार्ता टुंगोमा पुग्न नसकेपछि आज सर्वदलीय बैठक पनि बस्यौं,’ तिम्सिनाले भने, ‘माथिल्लो तहबाटै सहमति खोज्ने काम भइरहेको छ । ठ्याक्कै टुंगो लागिसक्या छैन ।’ उनले स्थानीयको माग पूरा गर्न महागरबाट प्रयास भइरहेको जानकारी दिए ।

फोहोर व्यवस्थापन नगरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि महानगरले केही दिन मुख्य बजार क्षेत्रका सडकमा फालिएको फोहोर संकलन गरेको थियो । संकलित फोहोरलाई गाडीमै राखेर महानगरको दमकल शाखाको प्रांगणमा राखिएको छ । तर, अहिले फोहोर बोक्ने गाडीसमेत भरिएकाले सडकका फोहोर उठ्न छाडेको छ ।

सम्झौता अवधि सकिँदासम्म निन्तर फोहोर फालिरहेको र फोहोर फाल्ने काम तत्काल रोक्न स्थानीयले महानगरविरुद्ध उच्च अदालत पोखरामा रिटसमेत दायर गरेका थिए । स्थानीय रविन केसी, जीतेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले गत बिहीबार उच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले दायर गरेको रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले विपक्षीलाई आतबारसम्मको समय दिएर कारण देखाउन परमादेश जारी गरेको छ ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुङगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

मेयर धनराज आचार्य नेतृत्वको पहिलो कार्यपालिका बैठकले पोखरा ३३, टिमुरपाटामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर, पनि जग्गा प्राप्तिमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय हुनुपर्नेमा ढिलाइ हुँदा ल्यान्डफिल साइट बनाउन पनि ढिलो भइरहेको महानगरको भनाइ छ ।

‘महानगरबाट सबै प्रक्रिया छिटै हुने गरी निर्णय गरेका थियौं । तर, सरकारी काम एकदमै ढिलो हुने रहेछ । मन्त्रिपरिषद्देखि नै सबै प्रक्रिया पूरा भएर आउँदा ढिलो हुने रहेछ,’ मेयर आचार्यले भने, ‘अब टिमुरपाटामा जग्गा रोक्का भइसकेको छ । केही दिनमा सिडिओ कार्यालयबाट काम हुन्छ । त्यसपछि जग्गाधनी सबैको खातामा पैसा जान्छ ।’

मेयर आचार्यले टिमुरपाटामा अत्याधुनिक तरिकाले फोहोर व्यवस्थापन गर्न ३ वटा कम्पनी छनोट भएको जानकारी दिए । ‘अहिलेलाई महानगरको तर्फबाट ३ वटा कम्पनी छनोट भएका छन् । त्यसबाट एउटाले काम गर्ने हो । विज्ञ टोलीले उहाँहरुको प्रतिवेदनहरु अध्ययन गरिरहनुभएको छ,’ मेयर आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?