
काठमाडौं । नेप्लिज फेसन होमले यस वर्ष पनि मिस नेवाः नेपाल ११४३ को आयोजना गर्ने भएको छ । जसअनुसार शनिबार प्रतिस्पर्धी सुन्दरीले अन्तर्निहित प्रतिभा प्रस्तुत गरे ।
ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीले नृत्य, गायन, अभिनय, वाककला, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायतका प्रतिभा प्रस्तुत गरेर निर्णायकलाई प्रभावित पार्ने प्रयत्न गरे ।
१७ औं संस्करणको प्रतिस्पर्धामा कृष्टि प्रजापति, तुलसी कंसाकार, तिमिला महर्जन, रीतिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले नृत्य प्रस्तुत गरे ।
एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले वक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुशी डंगोलले नेवारी कविता वाचन, रिद्धीशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रस्तुत गरे ।
मिस ट्यालेन्ट उपाधिका लागि भएको ट्यालेन्ट राउन्डलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे । कला प्रस्तुतिका आधारमा फिनालेमा यो सहविधाको विजेता घोषणा गरिने आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
प्रतियोगितामा रोजिन शाक्य कोरियोग्राफर छन् भने पूर्वमिस नेवाः नेपाल कृषा महर्जन संयोजक छिन् । भदौ ५ गते प्रज्ञा प्रतिष्ठानमा फिनाले हुनेछ ।
प्रतिक्रिया 4