+
+
विचार :

दरबार, दिल्ली र एमाले

घायल मातृभूमिको सेवामा एमाले हिमालय झैं अटल भएर उभिएको छ । सत्तारुढ गठबन्धनको नियत मातृभूमिको दोहन र श्रमजीवी जनताको शोषण हो ।

दयालबहादुर शाही दयालबहादुर शाही
२०८० साउन २३ गते १३:३३

एक युग थियो- दरबार वा दिल्ली खुशी नबनाई नेपालमा राजनीति गर्न र टिक्न सकिन्न भन्ने । लड्नेको हालत भीमदत्त पन्तको जस्तो हुन्छ भनेर तर्साउने गरिन्थ्यो । लेख्नेको हालत पुष्पलालको जस्तो हुन्छ भन्ने गरिन्थ्यो ।

दुई तिहाइ बहुमत पाएर पनि सत्ताच्युत पारिएर जेलजीवन र निर्वासनको कहर खेपिरहेका विश्वेश्वरप्रसाद कोइरालालाई देखाएर जनताले राजासँग टक्कर लि‌दा यस्तै हुन्छ भनेर निरंकुशताको जाँतोमा जनतालाई पिसिन बाध्य पार्ने गरिन्थ्यो ।

त्यसैले भन्न सकिन्छ— नेपालमा सशस्त्र बल र शास्त्र बलको एकैसाथ जीर्णोद्धार गरी स्थितिलाई उल्ट्याउने र जनताको राज र जनताको युग ल्याउने शक्ति एमाले हो । सक्कली आमालाई मात्र आफ्नो सन्तानप्रति साँचो माया हुन्छ ।

स्थिति र उपलब्धिको रक्षा खातिर आज पनि प्रतिगमन र हस्तक्षेप विरुद्ध खरो उत्रने मुलुकको एक मात्र राजनीतिक शक्ति एमाले हो । नेपालमा जनताको पकड बलियो पार्ने शक्ति भएकाले राजतन्त्रका हिमायती र भारतीय शासक वर्ग एमालेदेखि चुर छन् ।

हरेक सार्वभौम सत्तासम्पन्न लोकतान्त्रिक देशमा जस्तै नेपालमा पनि जनताको सर्वोच्चता छ । तर यसबाट कोही सबैभन्दा दुःखी छन् भने ती शक्ति भनेका विघटित राजतन्त्रका हिमायती र भारतीय शासक वर्ग नै हुन् । किनकि यसअघि नेपालमा राजतन्त्र र राजदूततन्त्र बीच प्रत्यक्ष वा परोक्ष रूपमा एकप्रकारको द्वैध शासन थियो ।

२००७, २०४६ र २०६२/६३ सालमा गरी किस्ता-किस्ताका सफल जनआन्दोलनले यी दुवै शक्तिको हालीमुहाली र हैकममा पूर्णविराम लागेको छ । लुटको स्वर्ग नरहेपछि दरबार र दिल्ली दुवै शक्ति यो वा त्यो प्रकारले आफ्नो पुरानो रजगजलाई प्राण दिन सक्रिय छन् ।

राजतन्त्रको नसबन्दी गरे पनि राजदूततन्त्रको नसबन्दी गर्ने इतिहासको कार्यभार अझै बाँकी छ । त्यसैले नेपालमा भारतेली शासक वर्गको हैकम, हस्तक्षेप, सूक्ष्म व्यवस्थापन लोकतन्त्रकालमा झन् बढेको छ ।

के अब सबै बर्बाद भइसकेको हो त ? बिल्कुल होइन । किनकि पहिलो कुरा त नेपाली जातिको स्वाभिमानको मेरुदण्ड मजबुत छ । दोस्रो, नेपाली जनताको देशभक्तिको भावना उच्च र चेतनास्तर समकालीन विश्वले अनुमान गरेभन्दा निकै बढी हुने युग–युगदेखिको सिलसिला अविच्छिन्न र अटल छ ।

तेस्रो, नेपाली जनताको साथमा र काखमा एमाले जस्तो विचार, जनाधार, सदाचार र विरासत भएको सदावहार राजनैतिक नेतृत्वको मौजुदी छ ।

चौथो, राष्ट्रको स्थायी अंग सेनाको नेपाली जनता र जनताको सर्वोच्चताप्रतिको अटल निष्ठा र बफादारीमा कुनै पनि प्रकारका जालसाजी र चलखेलले छिना चलाउन सकेको छैन र नेपाली सेनाको आन्तरिक जीवनमा कटवाल-कुलबहादुर किचलो यता कुनै किचलो र संकट छैन ।

महाशक्तिको सामना

महाशक्तिको सामना चानचुने कुरा होइन । हिम्मत भएको सिंहले मात्र हात्तीमाथि हमला गर्छ । बेलायत, चीन र रणजित सिंहकालीन पञ्जाब भारतसँग खाँडो पखालेको नेपाली जाति भारतसामु सिक्किम र भुटान झैं सरीसृप बाबियो हुन तयार छैन ।

आजका शक्तिशाली देश अमेरिका र भारत हिजोको बेलायतको एउटै झण्डामुनि रहेको बेला १८२२ सालमा सिन्धुलीगढी युद्धमा कप्तान किनलकलाई हराएको गौरवशाली इतिहास भएको वीर जाति नेपाली आजको लोकतान्त्रिक युगमा कुनै पनि प्रकारको गुलाम बन्न तयार छैन ।

बेलायत, अमेरिका र भारतसँग एकैसाथ पंगा लिएको गौरवशाली शस्त्र र शास्त्र बलको विरासत नेपालसँग मात्र छ । हिमालयका सन्तानहरूको आदत हिमालय झैं अटल रहने परेको हुन्छ । नेपाली स्वाभिमान सतिसाल झैं उभिन रुचाउँछ ।

देशभक्त र दलालहरूको जित-हार चक्र जस्तै घुम्छ । अफगानिस्तानका तालिवानहरूले आफ्नो देशलाई तहसनहस पारेर मात्र उहिलेको सोभियत संघ र अहिलेको अमेरिकालाई घुँडा टेकाए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र प्राप्तिको आन्दोलनको बलियो किल्लाको रूपमा रहेको नेकपा फुटाउने र एमाले टुटाउने प्रचण्ड, माधव र वामदेवलाई नेपाली जनताले त्यसै छोड्ने थिएनन् । देश विरुद्धको यस हर्कतलाई जनता-जनार्दनले क्षमा दिने छैनन् ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की देश खरानी पारेर पनि सत्तामा टाँसिएकै छन् । तर नेपालमा सत्ताबाट हटेर पनि एमालेले शक्ति राष्ट्र र तिनले सत्तामा थमाएका कठपुतली शासकका आँखाको कसिंगर भएर किन नहोस् नेपालको स्वाभिमानको मेरुदण्डलाई मजबुत पारेको सत्यलाई जनताले बिर्सेका छैनन् ।

नेपालका बहुदलीय जनवादीहरूले देशलाई जोगाउँदै प्रत्यक्ष हस्तक्षेप भन्दा पनि घातक प्रकारको अप्रत्यक्ष हस्तक्षेप र सूक्ष्म व्यवस्थापन गर्न पल्केका शक्तिलाई घुँडा टेकाउने औकात राख्दछन् ।

नाकाबन्दीको दृढतापूर्वक सामना गरे पनि राजा वीरेन्द्र र मरिचमान सिंहको जोडाले एकप्रकारले भारतसामु घुँडा टेक्नु परेको थियो । तर नेपालका सचेत जनता र तत्कालीन प्रधानमन्त्री केपी ओलीको जोडा मिलेकाले २०७२ सालको नाकाबन्दी उल्टै दिल्लीका लागि महँगो साबित भयो ।

संविधान घोषणाको मुद्दामा प्रचण्ड एमालेसँग निकट रहे । सेनापति काण्डको बेला भारत र कोइराला खेमा प्रचण्डमाथि भारी परे । यसको बदला लिन प्रचण्डले प्रधानमन्त्रीको होडमा पनि सुशील कोइरालालाई हराएर ओलीलाई जिताउने खेलमा लागे ।

शक्तिकेन्द्रको बिस्कुन
गीतामा भनिएको छ- ‘गलत दिशातिर भड्किरहेको मन खराब शत्रुभन्दा घातक हुन्छ ।’ गलत दिशातिर भड्किएको प्रचण्डको मूडको शिकार अनाहकमा नेपालले हुनुपरेको छ । विगत तीन दशकयता नेपालले भोग्नुपरेको सास्तीको गाँठो प्रचण्डले लिएको गलत दिशा र विपरीत बुद्धिनेर परेको छ ।

कहिले एमाले र कहिले कांग्रेस गुहार्ने, भारतलाई धम्काउन चिनियाँ कार्ड, चीनलाई चिढ्याउन भारतको महिमागान प्रचण्ड अस्थिरताका झाँकीहरू हुन् । यस्तो अभ्यासले नेपालको थाप्लोमा बर्बादी मात्र थोपरेको छ ।

‘कि बिगार्छ आकाशको गड्कने कि बिगार्छ धरतीको भड्कने !’ आफ्नो बलबुतामा विश्वास नगर्ने, शक्ति प्राप्तिका लागि विदेशी गुहार्ने, धैर्यको सट्टा भड्काउको भाषा बोल्ने गलत राजनीतिक कार्यशैलीले गर्दा नेपालको राजनीति धमिलिएको छ ।

संयोग नै भनौं वर्तमान सत्ता गठबन्धनका प्रायः सबै हस्तीको उठान भड्कावलाई सोपान बनाएर भएको छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम सबै पार्टी फोरुवा परेका छन् ।

लोकतन्त्रलाई काँध थाप्न बलियो लोकतान्त्रिक दलको दरकार पर्छ । सत्तारुढ दलका प्रमुख हस्तीहरूले भने महत्वाकांक्षामा ठेस पुग्दा मातृपार्टीलाई माकुरी माउ झैं खाइसिध्याउने गरेका छन् ।

सत्ता गठबन्धनका हस्तीहरू राजनीतिलाई सन्तान-दरसन्तानलाई धनकुबेर बनाउने र आम जनताको खल्ती रित्याउने कारखाना बनाएका छन् ।

देशको अगुवाले गर्ने असल र खराब आचरण र कर्मको सिको युवापुस्ताले गर्छ । यसरी राष्ट्रिय आवाराको नक्कल गर्नबाट युवापुस्तालाई बचाउने चुनौती थपिएको छ । देशमा यस्तो जमात बढ्नुको मूल कारण चुनावमा पार्टी फोरुवाहरू यथोचित मात्रामा जनताबाट दण्डित नहुनु हो ।

एमाले र कांग्रेसले एकअर्कालाई ढाल्न भरुवा पेस्तोलका रूपमा प्रचण्डलाई उपयोग गर्दा राष्ट्रिय चेत र देशभक्ति तपसिलमा पर्ने खतरा बढेको छ । मतलब लुट्ने, तर कुन घट्टमा कति बेला पिसिने हो थाहा नपाउने घुनको जस्तो चेतले देश बनाउन र बचाउन सकिंदैन । घुनमती र हीनमतीले उत्थान होइन, पतनसम्म पुर्‍याउँछ ।

हामीले देशको निरन्तर उत्थान गर्नुछ । हरेक नागरिकमा मौरीको जस्तै कर्म र कुर्बानी धर्मको चेतना हुनुपर्छ । समाजको परबाह नगर्ने जमात नेपाल जस्तो कमजोर र संवेदनशील भूराजनीति रहेको मुलुकका निम्ति मुटु नजिकै पुगेको छुरा जस्तै घातक हुन्छ ।

कार्ल मार्क्सको भनाइमा इतिहासमा घटनाहरू हुबहु दोहोरिंदैनन्, बरु एकपटक दुःखान्त नाटकको रूपमा र अर्को पटक त्यसको भद्दा कार्टुनको रूपमा दोहरिन्छन् । षडयन्त्रपूर्वक गरिएको काम अनिष्टकारी हुन्छ ।

चाइना कार्ड प्रचण्डको देखाउने दाँत मात्र हो भन्ने जान्दाजान्दै पनि भारतीय संस्थापनले नेपालको लोकतन्त्रलाई साथ दिएको नाटक गरेर कांग्रेसलाई पनि काखी च्याप्न थाल्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ । चाइना कार्ड प्रयोग गरी ब्ल्याकमेलको भाषा बोलिरहेका प्रचण्ड सेनापति काण्डमा गएर बजारिन र थचारिन पुगे । उक्त काण्डले प्रचण्डलाई फेरि उठ्नै नसक्ने गरी धरासायी पार्‍यो ।

रिस, असहिष्णुता, कपट र कृतघ्नताको गोदाम भएर पनि प्रचण्डमा त्याग, दया, धैर्य, सौर्य, साहस र कुर्बानीको अभाव हुनुको एकमुष्ट झटारोले प्रचण्डको सेखी र महत्वाकांक्षालाई भुईंको बास गरायो ।

जननेता मदन भण्डारी भन्नुहुन्थ्यो-‘राजनीति ढाँट-ठगको विषय होइन, खुल्ला र स्पष्ट हुनुपर्छ ।’ लिम्पियाधुरा समेटिएको नक्शा छापिएपछि नेपालमा नयाँ प्रकारको ध्रुवीकरण देखा परेको छ ।

देशभक्तिको खुला र स्पष्ट राजनीति एकातिर छ भने अर्कोतिर राष्ट्ररक्षा र देशभक्तिलाई विषयान्तर गर्ने कठपुतली खडा गर्ने काम भइरहेको छ । देउवा, प्रचण्ड र माधवहरूले मात्र नपुगेर स्वतन्त्रको बिल्लाधारी लघु प्रचण्डहरूको बिस्कुन लगाइएको छ । उर्लिएको ओली लहरलाई रोक्न घेराबन्दी, विभाजन र स्वतन्त्रहरूको त्रि-आयामिक चक्रव्यूह रचिएको छ ।

नेपालको जीवनरथ नेपाली जनताको सर्वोच्चता, बलबुता र रोजाइको लिकमा उभ्याएर गुड्नुपर्छ भन्ने मदन मिसन र भारतीय रुचि बीच विगत तीन दशकदेखि पेचिलो द्वन्द्व छ । विदेशी शक्तिको र हस्तक्षेपको घेरा तोड्ने रामबाण भनेकै सचेत र देशभक्त जनमत हो ।

नेपालमा नेपाली जनताको शान, स्वाभिमान र सर्वोच्चता स्थापित गर्नमै जननेता मदन भण्डारीको सिंगो जीवन खपत भएको छ । वास्तवमा भन्ने हो भने मदनको यही ‘गति’ र ‘सरस्वती’ नै आधुनिक नेपालको जीवनरस हो ।

मतलब लुट्ने, तर कुन घट्टमा कति बेला पिसिने हो थाहा नपाउने घुनको जस्तो चेतले देश बनाउन र बचाउन सकिंदैन । घुनमती र हीनमतीले उत्थान होइन, पतनसम्म पुर्‍याउँछ ।

इमानदारी नै उत्तम नीति हो । जननेता मदन भण्डारीबाट प्रेरित एमालेको युवापुस्ताले एकातिर कांग्रेस र माओवादीलाई भारतीय रुचिको अनुकूलतामा चल्न दिएन भने अर्काेतिर माधव, झलनाथ र वामदेवहरूबाटको आन्तरिक घेराबन्दीको सामना गरिरहेका ओलीको पल्ला भारी पार्दै आन्तरिक शक्तिऐंठन झेलिरहेको एमालेको पोल्टामा पुनरोदय र स्वाभाविक लयको सौभाग्य थमाउन सक्यो ।

राष्ट्ररक्षा र देशभक्ति एक जटिल साधना हो । जनता नजुटाएर, फुटेका मनहरू नसिलाएर, दिल, दिमाग, दृष्टिकोण, द्रव्य र दलबलको जोहो नगरेर साँचो लोकतन्त्र र स्वाभिमान रक्षाको महायज्ञ संभव हुँदैन । नेपाल र नेपालीको अविच्छिन्न अस्तित्वको लागि शस्त्रबल र शास्त्रबलको जोहो गर्न सक्ने एक लोकतान्त्रिक, देशभक्त र प्रगतिशील राजनीतिक दल इतिहासको माग थियो ।

मदन हत्या, मनमोहनको अवसान र माधव, झलनाथ र वामदेवहरूको शक्तिऐठनका तगारा तोड्दै ओलीको उदय, ओली लहर, ओली विरासत र अझ भन्ने हो भने ओली युगसम्मको एमालेको युगान्तकारी छलाङले इतिहासको माग पूर्ति गरेको छ । नेपालको जनमतको प्रमुख ब्रान्ड नै ओली लहर हो ।

पार्टी फुटेको वर्ष स्थानीय तहको निर्वाचनमा ६ लाख मत थप्ने राजनीतिक कीर्तिमान ओली नेतृत्वको एमालेको नाममा छ । तीनवर्षे शासनकालमा ओलीले १८ लाख मत बढाएको देखिन्छ । ओलीले जनमत बढाएको जलन र ईष्र्याले प्रचण्ड र माधवले ओलीका विरुद्ध १९ बुँदे आरोप पत्र लेखेर नेकपा विभाजित गरेको प्रष्ट भयो ।

शान्ति प्रक्रियाले माओवादी लडाकु र हतियारको व्यवस्थापन ग¥यो, तर प्रचण्ड र वाईसिएललाई यत्तिकै छोडिदियो । युथफोर्स परिचालनदेखि चुनावी गठबन्धनसम्म ‘मिल्न खोजे नौनीको डल्लो र चिल्न खोजे बिच्छीको चल्लो’ हुने पौरख र औकातको बलमा एमालेले वाईसिएल र प्रचण्डलाई नियन्त्रणमा ल्याएर व्यवस्थापन ग¥यो । प्रचण्डको अधिनायकवादी सपनालाई तह लगाउने एमाले हो ।

जनताको सर्वाेच्चता र संसद प्रचण्डका रुचि, निष्ठा र मर्यादाका विषय होइनन् । सत्तामा रहेर होस् वा विपक्षी भूमिकामा रहेर नेपालमा शासन एमालेले नै गरेकोमा मोदी र प्रचण्ड आजित छन् । शस्त्र बल र शास्त्र दुवैको संयोजन गरेर एमालेले माओवादी र भारतीय संस्थापनको षडयन्त्रलाई हात्तीले माकुरे जाल च्याते झंै विफल पारेको छ ।

नेपालमाथि हावी हुने भारतीय इच्छा शस्त्र बल र शास्त्र बलका मुहान नेपाली जनताको सराहनीय चेतना, हिम्मत, देशभक्ति र जुझारु चरित्रले गर्दा अधूरै रहेको छ । दुई वटा संविधानसभाबाट एक थान संविधान दिन नसक्ने देश भनेर नेपाललाई असफल राष्ट्र बनाउन भारत जमेरै लागेको थियो । नेपालको घरेलु द्वन्द्व, महाभूकम्प र नाकाबन्दीको त्रि–आयामिक महासंकट हिसाब–किताब सहित थोपरिएको थियो ।

शिशु अवस्थामै नेपालको संविधानको हत्या गर्ने प्रयास भयो । सिक्किम मोडेल र मिसन अस्थिरता आजको भारतको नेपाल नीतिका दुई खम्बा हुन् । नेपाल सिंगापुर बन्यो भने भारतीय शासक वर्गमाथि भारतका मेहनतकस जनताको दबाब बढ्ने छ । नेपाल समृद्ध र नेपाली सुखी बनेमा केही करोड जनसंख्याको राइदाइँमै सीमित भारतीय शासक वर्ग भारतीय जनताको वितृष्णाको शिकार बन्नेछ ।

यसैले हडप नीति, सीमा अतिक्रमण र अस्थिरता मिसनको माध्यमबाट नेपाल र नेपालीको लय र गति रोक्नु भारतको नेपालनीतिको नियमित आकस्मिकता हो । नेपालमा निरन्तरको अस्थिरता मिसनमा प्रचण्डलाई सबैभन्दा बढी उपयोग गरिएको छ । आफ्नो देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रधानसेनापति विरुद्ध हात धोएर लाग्नु प्रचण्डको पर्याय जस्तो छ ।

मौका आयो भने जो–कसैको पनि विरुद्धमा उत्रिहाल्नु प्रचण्डको बानी हो । युद्ध र प्रेममा जे पनि संभव हुन्छ भन्दै मर्यादाको उल्लंघनमा अभ्यस्त देखिन्छन् । निष्ठा, देशभक्ति, सिद्धान्त, जनादेश बेचबिखनका विषय होइनन् ।

देशभित्र कसैलाई मनपेट नदिनु, तर भारतमा गएर देश र पार्टीका आन्द्राभुँडी छताछुल्ल पार्नुलाई प्रचण्डले आफ्नो व्यक्तिको पहिचान र उचाइको मापन ठानेको देखिन्छ । अस्थिरता मिसनको गोटी बन्नलाई चाहिने आधारभूत गुण यही हो ।

नेकपाको बलियो सरकार विरुद्ध भारतमै गएर फायर खोलिएको थियो । आलोपालो सरकार प्रचण्डको महत्वाकांक्षा र भारतीय आकांक्षाको खिचडी गेमप्लान थियो । मिसन अस्थिरताले भारतीय स्वार्थलाई नगदानगदीको लाभ मिलेको छ । निरन्तरको अस्थिरताका लागि अनुकूल पात्र भेटे पनि प्रचण्डको उद्धार गर्न भारत तत्पर थिएन । प्रचण्डको यो तेस्रो पटकको प्रधानमन्त्रीको कार्यकालरूपी भात एमालेको थियो भने भारतेली शासक वर्ग र कांग्रेसले जुठोपुरो खोसेर छाक काटेका मात्र हुन् !

चरो अरूको पासोमा पर्छ, तर मान्छे आफ्नै फन्दामा फस्छ । राजनीतिमा ल्याउने जीवन गुरुमाथिको कपट, अग्रज नेतालाई धोका, प्रमुख सहायक विरुद्ध कपट, पार्टीभित्र अर्काे विकल्प र उत्तराधिकारीको नसबन्दी उत्कर्षकालका प्रचण्डका चिनारी थिए । यी सबै संग्रहित कर्महरू प्रचण्डलाई जीवनको उत्तरार्धमा भारी पर्दैछन् ।

आफ्नासँगको छलकपट र एमाले जस्तो देशभक्त शक्तिसँगको दुश्मनीले प्रचण्डलाई भीरको डिलमा पु¥याएको छ । प्रचण्डको उद्धार गर्ने र पतनमा नुनिला आँसु चुहाइदिने कोही छैन । चौम स्कुलिङ, एमाले, कांग्रेस सबैलाई प्रचण्डले उत्कर्षकालमा चिढ्याएका र अपमान गरेका छन् ।

कान्छी श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउने लोभले मुखमा रामराम गरे पनि प्रचण्डका जीवनगुरु मोहनविक्रम सिंहले मौका आउँदा छुरा चलाउने नै छन् । मोहन वैद्य र डा. बाबुराम भट्टराईले दागा धरेकै छन् । ओलीको रिसले उठन–बसन गरे पनि प्रधानमन्त्री हुँदा सताएको र विषवृक्षको उपमा दिएको तुष आग्रहका प्रतिमूर्ति माधवले बिर्सिएका छैनन् ।

गिरिजाप्रसाद कोइरालाको गोदमा बसेर छुरी धसेको र सुशील कोइरालालाई लिएको बदला कोइराला कांग्रेसले भुलेको छैन । ऐन–मौका आफूलाई दरबारियाको बिल्ला लगाइदिएको रिस देउवामा जीवितै छ ।

पकड पौरखीको हातमा पर्न रुचाउँछ । आसेहरूको भागमा रहलपहल पर्ने गर्छ । सिंहले आफ्नो बलबुताले शिकार गर्छ । घाइते हुँडारले खुरपुच्छरमा चित्त बुझाउनुपर्ने हुन्छ । भात खानु र भाते लाग्नु एकै होइन । आशावादी हुनु र बलबुता विना लालसा पाल्नु भिन्न–भिन्न कुरा हुन् ।

औकात, हैसियत, जनमत र सहायक खुम्चिएको हेक्का नराखी चामल र कनिका बराबर देख्ने जिद्दीलाई ओलीले जसरी नै कांग्रेसले पनि स्वीकार गर्ने छैन । नेपालको संस्थापनको रिसले भारतको सेवा, सुशील कोइरालाप्रतिको तुष साध्न ओलीलाई प्रधानमन्त्री, ओली र ओली लहरप्रतिको जलनले देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको बदलाको राजनीति सबैले थाहा पाइसकेका छन् । प्रचण्डसँग न उत्कृष्ट शक्ति छ, न दिलको उत्कृष्ट भाष्य नै । उपयोग गरे पनि बदलाको सट्टामा कांग्रेसले दिल दिने छैन ।

प्रचण्ड र माधवलाई भारतले नेपालीको देशभक्तिरूपी सूर्य छोप्ने हत्केलाका रूपमा तयार पारेको छ । माधवको त बेतियाको धमिलो मुहान नै समस्याको पोको थियो । नेपालको सत्तामा पुग्न र टिक्न भारतको आशीर्वाद भए पुग्छ; नेपाली जनता केही पनि होइनन् भन्ने विनाशकाले विपरीत बुद्धिले डेरा जमाएको छ । यस गलत चिन्तनमा कांग्रेसलाई उछिन्ने गरी प्रचण्डले नोयडामा मेहमान बसेका थिए ।

नेपाली जनताप्रतिको प्रचण्डको निष्ठा डग्नु र भारतेली शासक विरुद्धको नेपाली जनताको संघर्ष भाग्ने गरी आँट गल्नुका पछाडि पाँच वटा प्रमुख कारणले काम गरेका छन् । पहिलो त प्रचण्डले आफू रुकुम, रोल्पाबाट उठेको भनेर पेडा खाएको भ्रम छरे पनि नोयडा शरणको आलु खाएको वास्तविकता घाम जस्तै छर्लङ्ग भइसकेको छ ।

दोस्रो, भारत वा चीनमध्ये एकको आश्रयमा रहेर अधिनायकवादी शासक बन्ने सपना सेनापति काण्डसँगै ध्वस्त भएपछि प्रचण्डलाई आफ्नो हैसियतमा आएको गिरावटको स्वरूप मृग मार्न सक्ने सामथ्र्य गुमाएर फट्याङ्ग्रा छोपेर गुजारा चलाइरहेको जर्जर कायाको बुढो, रोगी र घाइते बाघको जस्तो रहेको राम्रैसँग थाहा छ । तेस्रो कारण उनको पारिवारिक महत्वाकांक्षामाथि परेको बज्रपात हो ।

चौथो कारण हो, प्रचण्डको आफ्नो प्रशंसा समूहको औकात, हैसियत र सामथ्र्यमा आएको गिरावट । वा भनौं फौजी चरित्र र जनताको दिल जित्ने प्रतिस्पर्धाको राजनीति बीचको कहालीलाग्दो दरारको विद्यमानता । पाँचौं हो, माओवादी नेतृत्व र संगठनप्रति आमजनतामा बढेको कोप, वितृष्णा र घृणा ।

यी सबै पक्षको अध्ययन र विश्लेषणपछि प्रचण्ड जस्तो आत्मकेन्द्रित र चतुर नेतालाई लागेको देखिन्छ– ‘बहुदलीय जनवादीहरूसामु पुस्ता–पुस्ताको र युगदेखि युगसम्मको टक्करमा आफ्नो समूहको जोर चल्ने छाँटकाँट छैन ।’

एमाले : हिरो पार्टी !

संसारभरका लोकतन्त्रवादी शक्ति र वामपन्थी पार्टीले दोहोरो विश्वास आर्जन गरेको राजनीतिक दल एमाले हो । संसद र माक्र्सवादप्रति निष्ठा भएको राजनीतिक दल एमाले हो । मानव जातिले विकास गरेका पूर्वीय दर्शन र पाश्चात्य दर्शन दुवैको जनताको पक्षमा पुनव्र्याख्या गर्ने हिम्मत राख्न एमालेले सक्यो ।

नेपालमा जनताको तर्फबाट पहिलो सशस्त्र संघर्ष सुरु एमाले नै ग¥यो । यसरी एमाले नैै शस्त्र बल र शास्त्र बलको जीर्णोद्धार गर्ने औकात र विरासत भएको पार्टी हो । एमालेको निष्ठा र ब्राण्ड मानिने जनताको बहुदलीय जनवाद, जसले युवाहरूको हरेक पुस्तालाई माक्र्सवादको रचनात्मक प्रयोग र विकासको सही लिकमा उभ्याउँछ नै, यस बाहेक यसले एकांगी नभई समग्रतामा ध्यान दिन सिकाउँछ ।

अफगानिस्तान र नेपाल जस्ता भूराजनीतिक दाउपेचको सघन प्रभाव रहेको क्षेत्रका नागरिकले एउटै वाद, दर्शन र आदर्शमा कैद भएर काम चल्दैन । युवाहरूको हरेक पुस्तालाई माक्र्सवादबाट निर्देशित रहेर समानता र श्रमको पक्षमा दृढतापूर्वक उभिने, महाभारतीय संस्कृतिले दर्शाएको कृष्ण जस्तै निर्लोभी र निडर भएर खलपात्रमाथि कालदण्ड बन्ने, आफ्ना लागि कुनै अतिरिक्त चाहना नराखी बुद्ध जस्तै शान्ति प्रिय हुने, चाणक्य जस्तै देश, काल, परिस्थितिप्रति सजग, चतुर; जनताको शास्त्र शक्ति र शस्त्र शक्ति संगठित गर्ने, जनताको शक्तिमा विश्वास गर्ने कलामा बहुदलीय जनवादीहरू अभ्यस्त रहनु एमालेको जीवन गुरुको जस्तो भूमिका हो ।

बहुदलीय जनवादीहरूसँग जनताको आशिष थाप्तै अघि बढ्दै गर्ने जीवनशैली छ । जनतालाई बघिनी बनाएर आफू डमरु जस्तै सुरक्षित रहने कला भएका कारण बहुदलीय जनवादीहरूसामु नेपालमा दिल्लीमुखीको पनि जोर नचलेको सिलसिला छ । यसरी भारतले नेपालमा भियतनाम युद्धको अमेरिका र अफगानिस्तानमाथिको हस्तक्षेपमा सन् १९८० को दशकको रूस र हालै अमेरिकाले खानु परेको घनचक्कर भोग्नुको विकल्प छैन ।

भारतले नेपालको उन्नतिमा बाधा हालेको छ । अस्थिरतामा मात्र नेपालको शक्ति ऐंठन सम्भव छ भन्ने भारतले जानेको छ । भारतले चाहेको अस्थिरता नेकपाको विघटन नगराई संभव थिएन । अस्थिरताको जरो उखेल्ने सामथ्र्य राख्ने भएकाले नै विघटित नेकपाको सर्वनाश मोदी प्रशासनको अर्जुनदृष्टिमा परेको थियो ।

तीन दशक माओवादीमा सर्वेसर्वा भइसकेका प्रचण्ड, त्यति नै समयसम्म एमालेमा आलोपालो रजगज गरेका माधव नेपाल र झलनाथ खनाल, महत्वाकांक्षा र अधैर्य यी तीनैमा भन्दा दोब्बर भए पनि आफ्नै अनेकन् आत्मघाती फण्डाले गर्दा थचारिएका वामदेव गौतमरूपी कमजोर कडी चिन्न मोदी प्रशासनलाई समय लागेन ।

दुई तिहाइ बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतेली शासक वर्गको निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति–सन्तुलनमा पर्ने असरबारे भारतेली शासक वर्ग सधैं सजग रहने नै भयो ।

तालिवानहरूले आफ्नो देश तहसनहस पारेर मात्र तत्कालीन सोभियत संघ र आजको अमेरिकालाई एक प्रकारले हराए तर बहुदलीय जनवादीहरूले त अयोध्याको एउटा सिन्कोसम्म क्षति नपु¥याएर लंकायुद्ध जित्ने रामको जस्तै रणनीतिक युद्ध जित्नु छ ।

फेरि तालिवानहरूसँग आतंकवादी हमलाको दाग छ तर एमाले शरीरमा प्रचण्डले माओवादी आवरणमा कमाएको कुख्यातिका बाछिटाहरू छैनन् । यसरी हिम्मत बल र शस्त्र बलका तालिवान भन्दा सत्य, इमान, हिम्मत र शास्त्र बल जन बलका बहुदलीय जनवादीहरू भारतका लागि जलनका विषय बनेका छन् ।

र अन्त्यमा,

ऋषिमुनिहरूले अनेक विषयमा अनेक ढंगले लेखे, तर राजतन्त्रको रवाफ, दबाब र प्रभावमा परेर जनताको बारेमा जे हो, त्यो लेख्न सकेनन् । उनीहरूले र्ईश्वरका बारेमा जे लेखे, त्यो सबै जनताको नाममा नलेखेर घुमाउरो ढंगले एक तीर दुई गरेका छन् ।

ऋषिहरूले व्याख्या गरेको ईश्वरको महिमा, व्यापकता, अजरता, अमरता, अविनाशिता, करुणा, क्रूरता; सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको परमतपी बहुआयामिक भूमिका र शक्ति आजको युगमा जनतामा छ । जनता नै भगवान् हुन् । जनताको सर्वाेच्चताको आधार चेतना, शक्ति, सीप, श्रम र यी सबैको सदुपयोग गर्न सक्ने कला हो ।

मानव चेत नै मानव जातिको श्रेष्ठता स्थापित गर्ने सबैभन्दा ठूलो हतियार हो । जनताको यही अपरम्पार शक्तिमा विश्वास गर्नु नै एमालेको राजनीतिक श्रेष्ठताको आधार हो । सुतेको सिंहमाथि उफ्रिने मृग मृत्युको भागेदार हुन्छ । जनताको जीविका र राष्ट्र हितसँग खेलबाड गर्ने राजनीतिक शक्ति पतनको भागेदार हुन्छ । जनताको शक्तिका अगाडि कसैका पनि आग्रह र पूर्वाग्रह, इगो र आकांक्षाहरू गौण विषय हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र प्राप्तिको आन्दोलनको बलियो किल्लाको रूपमा रहेको नेकपा फुटाउने र एमाले टुटाउने प्रचण्ड, माधव र वामदेवलाई नेपाली जनताले त्यसै छोड्ने थिएनन् । देश विरुद्धको यस हर्कतलाई जनता–जनार्दनले क्षमा दिने छैनन् । देशभक्तिलाई तपसिलमा पार्नु भनेको राजनीतिक गुण गुमाउनु हो । मानव सन्ततिले बिरामी आमाको उपचार गर्छ, दोहन गर्दैन ।

घायल मातृभूमिको सेवामा एमाले हिमालय झैं अटल भएर उभिएको छ । सत्तारुढ गठबन्धनको नियत मातृभूमिको दोहन र श्रमजीवी जनताको शोषण हो ।

(नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?