+
+

गृहमन्त्रीले इमोसनल ब्ल्याकमेलिङ गर्न खोजे : एमाले प्रमुख सचेतक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते २१:२२

२३ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधिसभालाई गरेको सम्बोधनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा दिएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठले खास विषयमा प्रवेश नगरी संसद्लाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको बताए ।

‘उहाँले देशमा प्रकृतिले यत्रो दिएको छ, यत्रो जनशक्ति छ । राजनीतिक परिवर्तन गर्‍यौं । सारा परिवर्तन गर्‍यौं । तर आज हामी किन गरिब छौं ? किन नेपाली विदेश पलायन हुनुपरेको छ ? किन यस्तो हालत छ देशको ? अब सोच्नुपर्ने बेला आएको छ भनेर एउटा निबन्ध पेश गर्नुभयो’, गिरीले अनलाइनखबरसँग भने, ‘तर, मुख्य सुन तस्करीको विषयमा उहाँ प्रवेश नै गर्नुभएन ।’

नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति बन्नुपर्ने भन्दै १० साउनदेखि संसद् अवरोध गरिरहेको थियो । मंगलबार गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार भएको थियो । तर, उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले फेरि संसद् अवरोध गरेको छ ।

प्रमुख सचेतक गिरी भन्छन्, ‘उहाँकै पालामा २२/२२ पटक रेडी ट्रेडर्सको नाममा क्विन्टलका क्विन्टल सुन भित्रिएको छ । गिरोहले उद्योग नै चलाएर बसेका छन् । प्रधानमन्त्रीलाई १० दिनअघि सुन ल्याउने जानकारी छ । तर, गृहमन्त्री अनदेखा गरेर बस्नुहुन्छ । त्यसैले यसमा उच्चस्तरीय समितिको आवश्यकता छ ।’

सुन समातिएर केही व्यक्तिहरु पक्राउ परेपछि जस लिनलाई गृहमन्त्रीले हानथाप गरेको भन्दै उनले भने, ‘अहिले उहाँ पानीमाथिको ओभानो मात्र बन्नुभएको हो ।’ गृहमन्त्री श्रेष्ठले भने ६० दिनसम्म प्रकरणको अनुसन्धानरत निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई विश्वास गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?