+
+

स्वास्थ्यमन्त्रीको १०० दिन : काम कम, प्रचार बढी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १८:५६

२६ साउन, काठमाडौं ।  समय : शुक्रबार दिँउसो २ बजे । स्थान : राष्ट्रिय सभा गृह । स्वास्थ्यकर्मीको बाल्लो उपस्थिति ।

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेसँगै महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम थियो । कार्यक्रम निर्धारित समयमै सुरू भयो । कार्यक्रमका मुख्य अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

कार्यक्रम सञ्चालन स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले गरिरहेका थिए । प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गरेसँगै मन्त्री बस्नेतले गरेका महत्वपूर्ण काम भिडियोमार्फत सार्वजानिक हुन थाल्यो ।

जुन फिल्मी शैलीभन्दा कम थिएन । ३० मिनेटको उक्त भिडियो डकुमेन्टी प्रस्तुत हुँदा काम गराइभन्दा प्रचारमुखी मात्रै भएको भन्दै स्वास्थ्यकर्मीहरू एक आपसमा खासकुस गरिरहेका थिए ।

तर, विडम्बना त्यो भिडियो मन्त्री बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई पूरै देखाउन पाएनन् । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताको कारण भिडियोलाई रोक्दै मन्त्री बस्नेतले संक्षेपमा आफूले गरेका कामको बयान गर्न थाले ।

स्वास्थ्य क्षेत्रमा ६ महिनाभित्रै जनताले ठूलो परिवर्तन देख्ने दाबी गरे । अहिले प्रधानमन्त्री र आफ्नो हुतीले स्वास्थ्य क्षेत्र ठूलो फड्को मारेको मन्त्री बस्नेतले बताए ।

‘हुती र बुद्धि हुँदा थोरै स्रोत र साधनले पनि काम गर्न सक्छौं । त्यो हुती सम्मानीय प्रधानमन्त्री जीसँग पनि छ । म सँग पनि छ । म त्यो प्रस्तुत गरेर देखाउँछु । बुद्धि चाहिँ स्वास्थ्यकर्मीसँग छ । हुती र बुद्धिलाई मिलाएर स्वास्थ्यक्षेत्रमा आमूल परिवर्तन गर्छु,’ मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले प्रधानमन्त्रीलाई आवाश्वन दिलाउँदै गए । ‘हजुरको पालामा एक जना नागरिक पैसाको अभावमा घरमै मर्नुपर्ने अवस्था हुँदैन । हामी जसरी भए पनि गर्छौ । अहिले गरिरहेका छौं’ मन्त्री बस्नेतले भने, ‘अहिले स्वास्थ्य मन्त्रालयले मन्त्रालयभन्दा पनि ठूलो अस्पताल जस्तो भइरहेको छ ।’

द्वन्द्वमा घाइते भएका नागरिकको अझै पनि उपचार नभएको भन्दै स्वास्थ्य मन्त्रालयलाई जिम्मा लगाइदिएमा सम्पूर्ण उपचार गर्ने दाबी समेत गरे ।

‘राज्यले घोषणा गरेको नागरिकको आधारभूत स्वास्थ्य सेवालाई जुनै हातलमा पनि व्यवस्था गछौं । कोही नेपाली उपचार नभएर मर्दैन । त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिन्छ,’ मन्त्री बस्नेतले पुनः थपे । सूर्तीजन्य पदार्थमा उठ्ने वार्षिक ६ अर्ब स्वास्थ्य मन्त्रालयले पाउने हो भने स्वास्थ्य सेवामा उथलपुथल नै हुने दाबी गरे ।

प्रधानमन्त्रीलाई प्रशंसा गर्दै मन्त्री बस्नेतले अब ९९ प्रतिशत काम गर्ने बताए । ‘अहिले सम्म हामिले स्वास्थ्य क्षेत्रमा ५० प्रतिशत मात्रै विकास गर्न सकेका थियौं । हजुरको उपस्थितिले अब ९९ प्रतिशत काम गर्न सक्छौं,’ मन्त्री बस्नेतले प्रधानमन्त्रीको प्रशंसा गर्दै भने ।

स्वास्थ्यमन्त्रीले आफूले गरेका कामको बयान गरेसँगै प्रधानमन्त्रीको छोटो मतव्य र मार्ग निर्देशन सुरू भयो । प्रधानमन्त्रीले पनि स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गर्नमा कुनै कसर बाँकी राखेनन् । प्रधानमन्त्री प्रचण्डले इनरजेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशा गरे ।

‘उहाँले जतिबेला पनि मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको कामको बिफ्रिङ गर्न थाल्नु हुन्छ । सबै मन्त्रीहरूको आङ अलिकति जिरिङ्ग हुन्छ’ प्रधानमन्त्री प्रचण्डले प्रशंसा गर्दै थपे , ‘सय दिन पुग्दा-नपुग्दै आफ्नो नेतृत्वबाट केही मानक स्थापित गरिसक्नु भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले जनतालाई संविधानले परिकल्पना गरेको स्वास्थ्य सुविधा दिन नसकिएको बताए । ‘संविधानमा शिक्षा र स्वास्थ्यका बारेमा साह्रै राम्रो लेखेका छौं । तर, व्यवहारिक रुपमा कार्यन्वयनमा निकै ठूलो जटिलता र चुनौतिको सामाना गरिरहेका छौं,’ प्रचण्डले भने ।स्वास्थ्यमा धेरै चुनौती भएता पनि नर्सिङ सेवामा ठूलो चुनौती रहेको बताए ।

उनले नेपालमा सिमानामा गएर पढ्ने अथवा तालिम लिने र उतै पलायन हुने ट्रेण्ड बढेको भन्दैं त्यसलाई सुधार गर्नका लागि नीतिगत तहमै सुधार गर्ने प्रक्रियामा रहेको समेत बताए ।

‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ । हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । यसलाई रोक्न सरकार लागि पर्छ,’ उनले भने । तर, त्यो नीतिगत सुधार के हो भन्ने विषयमा भने उनले खुलाएनन् ।

उनले नयाँ संकल्पसहित नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?