+
+

सुख्खाले साँघुरिएको रोपाइँ बढाउने तत्कालका ५ विकल्प

धान खेती खालि कृषकको व्यक्तिगत जिम्मेवारी मात्र होइन। यो देशको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षा प्रणालीसँग जोडिएको विषय पनि हो। यदि धान उत्पादन न्यून भयो भने व्यापार घाटा थप चुलिंदै जानेछ।

माधव पौडेल माधव पौडेल
२०८० साउन ३० गते ८:३४

धान रोपाइँ कहिले भन्ने विषयको सर्वोत्तरित प्रश्न हो-असारमा। अझ हामी धेरैले असार १५ लाई धान रोपाइँ गर्ने सिजनको सबैभन्दा महत्वपूर्ण दिन मानेर धान दिवस मनाएको ४० दिन नाघिसकेको छ। तर पनि खाद्य सुरक्षाको पिलर मानिएको धान खेती वर्षातको असन्तुलनका कारण ज्यादै जोखिमपूर्ण बनेको छ।

पूर्वी तराईको धेरैजसो क्षेत्रमा साउनको अन्तिममा आइपुग्दा पनि धान रोपाइँमा न्यूनता आएको छ। खासगरी नेपालको अन्नभण्डार तराई क्षेत्र अहिले सुख्खासँग जुधिरहेको छ। कृषकहरूले रोपाइँ गर्ने पर्याप्त सिंचाइ पाएका छैनन्। लामो समयको पर्खाइपछि पानी त परेको छ तर रोपाइँका लागि पर्याप्त नभएको समाचारहरू आइरहेका छन्।

समयमै रोपाइँ गर्न राखिएको धानको बीउ (बेर्ना) रोपाइँ हुनुपर्ने उमेर नाघिसकेको, नयाँ नर्सरी राखेर पुन: रोपाइँको सम्भावना समेत घर्किंदै गएको अवस्थामा सकेसम्म रोपाइँ क्षेत्रफल बढाउने चुनौती हामीलाई आइपरेको छ।

कृषि मौसममा आधारित पेशा हो। मौसममा हुने फेरबदलका कारण विश्वभर कुनै न कुनै समयमा खेती प्रणालीमा चुनौती थपिन्छ। धान रोपाइँमा बेर्ना न्यून हुँदा मेडागास्करमा भएको विकल्प अध्ययनबाट चर्चित एसआरआई प्रविधि विकास भयो। उक्त प्रविधि कुनै वैज्ञानिकहरूले फार्म केन्द्रहरूका अनुसन्धानबाट तयार गरेका पनि थिएनन्।

पछि वैज्ञानिकहरूले लिपिबद्ध गरेका हुन्। हाम्रा कृषकले पनि विगतका विभिन्न चुनौतीमा धेरै प्रविधि विकास गरेका छन्। ती प्रविधिहरू लिपिबद्ध छैनन् होला तर कृषकस्तरमा चर्चित छन्।

कृषिमा नयाँ र आधुनिकतामा अघि बढेका कृषकहरू जति परिस्थितिसँग आत्तिन्छन्, पुराना अनुभवी कृषकहरूसँग बढी विकल्प छन् र कम हतासिन्छन्। यस्तो अवस्थामा अनुभवी कृषकहरूले अपनाइरहेका, वैज्ञानिकहरूले अध्ययन र अनुसन्धानबाट केही परिष्कृत गराएका, न्यून भए पनि उत्पादनको लागि पहलकदमी हुने तथा स्रोतको अधिकतम प्रयोग गरी उत्पादन नघटाउन देहायका ५ विकल्प अवलम्बन गर्न सकिन्छ।

विकल्प-१ : सरोकारवालाको समन्वयमा सिंचाइको नयाँ विकल्प अपनाउने

छिटो सिंचाइ व्यवस्थापन गरी पहिले राखिएको नर्सरीबाटै रोपाइँ गर्नु पहिलो विकल्प हो। अब पूर्वी तराईका धेरै क्षेत्रमा समेत रोपाइँ हुने गरी पानी परेको छ। तर पनि केही क्षेत्रमा अझै संकट रहिरहेको पाइन्छ। कृषकहरूले सकेसम्म आफ्नो खेती गर्न मिहिनेत र चासो राखिरहेकोले सिंचाइका सबै विकल्प अपनाएका हुन्छन्।

यति हुँदा पनि सिंचाइ नपुग्नु सरकारी र अन्य सरोकारवालाको तत्काल उपस्थितिको माग हो। ती निकायहरूले नजिकको स्रोतको अस्थायी विकल्पहरूबारे समन्वय गराइदिन सक्छन्। भाडामा जेनेरेटर उपलब्ध गराउने, विद्युत् पुगेको ठाउँमा भाडामा वा अनुदानमा मोटरहरू पुर्याउन सहयोग पुर्याउने वा मुहानमा सीमित सिंचाइलाई जनचेतना गराई किफायती सिंचाइ गराउने जस्ता कार्य स्थानीय सरकार, गैरसरकारी संस्थाहरू, नागरिक समाज र समाजका बुद्धिजीवीहरूले गर्न सक्छन्। जनताको नजिकको सरकार हुनुको नाताले पनि स्थानीय सरकार यस प्रकारका समन्वयको प्रमुख जिम्मेवार छ।

विकल्प-२ : छरुवा धान खेती प्रविधि अवलम्बन गर्ने

अब नर्सरी राख्न ढिला भएकोले छोटो अवधिको धानको बीउलाई सीधै छर्ने छरुवा धान खेती प्रविधि दोस्रो विकल्प हुनसक्छ। चैते र वर्षे दुवै सिजनका लागि सिफारिस गरिएका चैते ५, हर्दिनाथ १, हर्दिनाथ ३, हर्दिनाथ हाईब्रिड १, वर्षे सिजनको राधा ४, सुख्खा धान लगायत जातहरू पनि छरुवा धान खेतीमा उत्तम विकल्प हुनसक्छ।

सेहराङ्ग सब १ जस्ता धानका जातहरू पछि पानी परेर केही दिन पानी बढी हुँदा पनि सहन सक्ने भएकोले औसतभन्दा सामान्य बढी पानी जम्ने स्थानमा पनि उपर्युक्त विकल्प हुने देखिन्छ। सेहराङ्ग सब १ धानको बीउ पश्चिम नेपालका बीउ उत्पादकहरूले उत्पादन गरिरहेको पाइन्छ।

यी जातहरू बीउ छरेको औसत ११५ देखि १२५ दिनसम्ममा भित्र्याउन सकिन्छ। यदि नेपालमा मंसिर १५ सम्म अन्तिम धान भित्र्याउने अवधि मान्ने हो भने पनि यसका लागि पूरै अन्तिम समय भएको छ। तर पूर्वी तराईका जिल्लाहरूमा मंसिरको अन्तिमसम्म पनि धान पाक्नको लागि तापक्रम पुग्नसक्ने भएकाले यी धानका जातहरूको विकल्प उत्तम नै हुनेछ।

छिटो छर्न सके सजिलै भित्र्याउन सकिन्छ। यसका लागि ड्रम सिडरले छर्न सकिन्छ। जमिन हिल्याएर ड्रम सिडरले छर्न सकिने यो तरिकाका लागि सरोकारवाला तथा संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकारको जिल्ला हेर्ने कृषि कार्यालय, स्थानीय सरकारहरू तथा गैरसरकारी संस्थाहरूले आ-आफ्नो सम्पर्क समन्वय गरी उपलब्ध ड्रम सिडरहरूको व्यवस्थापनमा तत्काल सहयोग पुर्याउन सक्छन्। यसका लागि राम्रोसँग भिजाएर फुलेको तर अंकुरण नभएको धान ड्रम सिडरबाट लाइनमा छर्न सकिन्छ।

अनुसन्धान र कृषकहरूले हर्दिनाथ-१ जातको धान भदौ १० गतेसम्म छरेर पनि भित्र्याउन सकिएको उदाहरणबाट पनि साउनको अन्त्यसम्म सोही अवधिका धानहरू छरुवा विधिबाट खेती गर्न सकिने देखिन्छ।

छरुवा धानको प्रविधि अवलम्बन गर्दा चुनौती पनि सामना गर्नुपर्छ। यस प्रविधिमा झारपातको समस्या बढी हुने भएकोले झारनाशक विषादिको समयमै प्रयोग गर्नुपर्ने वा हातले नै गोडमेल गर्नुपर्ने अन्यथा हाते औजारहरूको प्रयोग गरी झारपात न्यूनीकरण गर्नु जरुरी हुन्छ।

यदि विषादि प्रयोग गर्ने हो भने ७२ घण्टाभित्र प्रयोग गर्ने विषादिहरू प्रयोग गर्न सकिन्छ। यो सिजनमा अहिले सुख्खा भए तापनि पानी पर्ने सम्भावना भएकोले गहिरो घोल क्षेत्रमा छरुवा धान खेती अवलम्बन गर्न कठिन हुनेछ। उम्रेर राम्रोसँग नजरिंदै पानी जम्न गएमा बग्ने सम्भावना हुने भएकोले घोल क्षेत्रमा छरुवा विधि यस समयमा अवलम्बन गर्नुहुँदैन।

विकल्प-३ : उपलब्ध नर्सरीको किफायती उपयोग गर्ने

यदि ढिलो गरी राखिएका र ३० दिन नपुगेका नर्सरी छन् भने सकेसम्म पातलो रोपी धेरैभन्दा धेरै जमिनमा रोप्ने व्यवस्था मिलाउन सकिन्छ। उपलब्ध भएको बीउ कम छ भने पनि सकेसम्म पातलो र कम उमेरको बीउ रोप्न प्रयत्न गर्नुपर्छ।

धानको जति कलिलो बिरुवा रोप्यो त्यति धेरै गाँज हाल्ने र उत्तिकै फसल दिने हुन्छ। बेर्ना कलिलो छ भने पातलो रोपेर कम फल्ने होइन बरु धेरै फल्छ। रोग, कीरा, झारपात नियन्त्रण तथा व्यवस्थापन लगायत कार्यमा सहजता हुन्छ। तसर्थ कृषकहरूले कलिलो बेर्ना भएमा किफायती रूपमा बेर्नाको प्रयोग गरी धेरैभन्दा धेरै रोप्ने कोसिस गर्नुपर्छ।

विकल्प-४ : एस.आर.आई. पद्धतिको अवलम्बन गर्ने

न्यून उत्पादन सामग्रीको उपलब्धतामा कसरी उही स्तरमा धान उत्पादन कायम राख्ने भन्ने सिकाइ एस.आर.आई. पद्धतिको जानकारी लिएपछि बुझिन्छ। बिरुवा, पानी, माटो र खाद्यतत्वको अभावमा उचित व्यवस्थापन गरी अधिकतम उत्पादकत्व लिन सकिने यो प्रविधिमा कलिलो बेर्ना (९-१२ दिनको बेर्ना) रोप्ने, कम पानी प्रयोग गरी सिंचाइ गर्ने (३-४ दिनको अन्तरालमा एकपटक सुख्खा राख्ने र अर्कोपटक सिंचाइ गर्ने), टाढाटाढा बेर्ना रोप्ने तथा उचित समयमा खाद्यतत्व व्यवस्थापन गरी योजनाबद्ध उत्पादन गरिन्छ।

यदि नर्सरी बेर्नाहरू रोप्न नमिल्ने गरी बुढा भइसकेका छन् र अब पानी परी रोपाइँ गर्न नयाँ धान रोप्नुपर्ने बाध्यता छ भने छोटो अवधिका धानको नर्सरी राखी १०-१२ दिनको बेर्ना तयार गरी रोप्ने, कम बीउमा पनि टाढाटाढा रोप्ने (लाइनदेखि लाइनको दूरी २०-२५ से.मी. र बेर्नादेखि बेर्नासम्मको दूरी पनि २०-२५ से.मी. नै राखी रोपाइँ गर्ने, एकदिन प्रशस्त सिंचाइ दिएपछि ३-४ दिनसम्मको अवधिपछि सिंचाइ गर्ने तथा कृषकको आफ्नै प्रविधि र औजार प्रयोग गरी झारपातको व्यवस्थापन गर्ने गर्दा पनि अहिलेको समस्या टार्न सकिने देखिन्छ।

यदि कसैले यो प्रविधि अवलम्बन गर्ने हो भने हतार भइसकेको छ र तत्काल गर्नुपर्नेछ। धान रोपाइँका लागि समय ढिला भइसकेकाले यो प्रविधि तराईका भूभागमा मात्र अवलम्बन गर्न सकिने र छोटो अवधिको धानको लागि मात्र उपर्युक्त हुन्छ।

विकल्प-५ : नर्सरीमा भएको बेर्ना ढिला भए पनि रोप्ने

केही धानका जातहरूको बेर्ना ४५-५५ दिनसम्म पनि रोप्न सकिन्छ। १४० दिनभन्दा ढिला पाक्ने धानका जातहरूको बेर्ना सो अवधिसम्मको भए पनि रोप्नुपर्छ। स्थानीय लल्का बास्मती, कालोनोनिया लगायत जातहरू नर्सरी राखेको ५५ दिनसम्म पनि रोपाइँ गर्न सकिन्छ। ब्याड राखिसकेपछि यदि नर्सरीमै गँजाएको छैन भने ढिला रोपेकै भए पनि सोही समयमा पाक्ने भएकोले ढिलै भए पनि रोप्न जोड गर्नुपर्दछ।

धेरै ढिला रोप्दा गाँज कम लाग्ने भएकोले औसतभन्दा केही बाक्लो रोपेर पनि व्यवस्थापन गर्न सकिन्छ। यसरी ढिला गरी रोपेको धानलाई बढी मलखाद दिनुपर्ने हुन्छ। सामान्य अवस्थामा सिफारिस गरेको भन्दा २०-३० प्रतिशत बढी मल प्रयोग गर्दा उत्पादनलाई कायम गर्न सकिन्छ। गाँजमा कमि हुने भएकोले औसतभन्दा बाक्लो रोप्न सकिन्छ। यदि छिटो पाक्ने धानका जातहरू प्राप्त गर्न सकिन्छ भने ढिलो रोप्नुभन्दा नयाँ छरुवा धानखेती गर्नु उत्तम हुनसक्छ।

तत्कालका लागि रोपाइँ नभएका स्थानमा सबै सरोकारवालाहरूले समन्वय गरी सकेसम्म धेरै जमिनमा रोपाइँ गराउनु महत्वपूर्ण हुनेछ। छोटो अवधिमा पाक्ने धानका जातहरूको बीउ जो–कोहीसँग पनि उपलब्ध भएमा त्यस्ता सुख्खाग्रस्त क्षेत्रका संयन्त्रहरूलाई जानकारी गराउनु सम्बन्धित सरोकारवालाको दायित्व पनि हो।

नेपालको खाद्य सुरक्षाका लागि सबै विकल्प अपनाएर पनि धान खेती गर्नु महत्वपूर्ण हुनेछ। धान खेती खालि कृषकको व्यक्तिगत जिम्मेवारी मात्र होइन। यो देशको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षा प्रणालीसँग जोडिएको विषय हो। यदि धान उत्पादन न्यून भयो भने व्यापार घाटा थप चुलिंदै जानेछ।

दिगो रूपमा धान खेतीबाट उत्पादन बढाउन सिंचाइको स्रोत दिगो बनाउनु नै आधारभूत शर्त हो। तर यस प्रकारका अल्पकालीन योजना होइन, देशले तत्कालै दीर्घकालीन सिंचाइ योजना बनाएर दिगो धान खेतीको वातावरण बनाउँदा मात्र भविष्यमा खाद्य सुरक्षाको आधार बन्नेछ।

लेखक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?