+
+

धान फल्ने जमिन घट्यो, उत्पादन बढ्यो

चालु आवमा धानको उत्पादन ४.३३ प्रतिशतले बढ्दा धान उत्पादन हुने जमिन भने गत वर्षको तुलनामा ८ हजार ८ सय हेक्टर कम भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० पुष २२ गते १९:४१
फाइल तस्वीर

२२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा धानको उत्पादन ४.३३ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९/८० को तुलनामा ४.३३ प्रतिशत धेरै भएको समेत मन्त्रालयले जनाएको छ । गत वर्ष देशभर कुल ५४ लाख ८६ हजार ४७२ मेक्ट्रिक टन धान उत्पादन भएको थियो ।

संघीय सरकारले सातै प्रदेशका कृषि मन्त्रालयबाट जिल्लागत रुपमा प्राप्त भएका आंकडा, इसिमोडसँगको सहकार्यमा स्याटलाइट इमेजको प्रयोगबाट तराईका जिल्लामा लगाइएको धान बालीको क्षेत्र, चालु आवमा भएको रोपाइँको आंकडालाई प्रमुख आधार मानेर धानको उत्पादन अनुमान गरिएको जानकारी दिएको छ ।

धानबाली लगाइएको ८ हजार ८ सय हेक्टर जमिन घट्यो

अघिल्लो आवको तुलनामा यो वर्ष धानबाली लगाइएको क्षेत्रफल भने घटेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आवको तुलनामा यो वर्ष धान उत्पादन हुने जमिन ८ हजार ८ सय हेक्टर कम भएको छ । यो ०.६१ प्रतिशत कम हो । यो वर्ष कुल धानबाली भित्राइएको क्षेत्रफल १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर रहेको मन्त्रालयले जनाएको छ । यो गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशत कम हो ।

धानबालीको औसतः उत्पादकत्वदर गत आवको तुलनामा ४.९७ प्रतिशतले बढेर ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको समेत मन्त्रालयको तथ्यांक छ । यो पछिल्लो चार आवको औसतः उत्पादकत्व दरको तुलनामा ६.९२ प्रतिशतले बढी हो ।

धेरै धान फल्ने प्रदेश कोशी

प्रदेशगत हिसावले यो वर्ष सबैभन्दा धेरै धान कोशी प्रदेशमा फलेको छ । कर्णालीमा न्यून धान फल्ने गरेको पाइएको छ । उत्पादकत्वको हिसावले समेत कोशी प्रदेश अगाडि छ । यहाँ ४.४३ प्रतिमेटन प्रतिहेक्टर उत्पादन भएको छ । मधेश प्रदेशमा ३.४९ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको आंकडा मन्त्रालयको छ ।

उत्पादन र उत्पादकत्व दुवैको वृद्धिका हिसावले लुम्बिनी प्रदेश अगाडी रहेको छ भने मधेश प्रदेशको उत्पादन र उत्पादकत्व दुवै ऋणात्मक देखिएको मन्त्रालयले जनाएको छ ।

तथ्यांक अनुसार कोशी प्रदेशमा ३ लाख २४ हजार ४०१ हेक्टरमा धान लगाइएको थियो । जसमा १४ लाख ३५ हजार ५७८ मेट धान उत्पादन भएको छ । मधेशमा ३ लाख ८३ हजार १८३ हेक्टरमा धान लगाइएकोमा १३ लाख ३७ हजार ६७२ मेट धान उत्पादन भएको छ ।

यस कारण बढ्यो उत्पादन

मधेश प्रदेशमा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादन र उत्पादकत्वमा ह्रास आएको मन्त्रालयले उल्लेख गरेको छ ।

समग्र धान उत्पादन बढ्नुमा भने उन्नत बिउको उपलब्धता र प्रयोग, रोक किराको प्रकोपमा कमी, बाढी पहिरोबाट पर्ने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको कमी, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई मुख्य आधार मानिएको छ ।

तथ्यांक अनुसार चैते धानको उत्पादनमा केही ह्रास आएको छ भने मुख्य धानको उत्पादन वृद्धि भएको छ ।

कुन प्रदेशमा कति भयो धान उत्पादन ?

प्रदेश क्षेत्रफल (हेक्टर) उत्पादन (मेट्रिक टन)
कोशी ३,२४,४०१ १४,३५,५७८
मधेश ३,८३,१८३ १३,३७,६७२
बागमती १,२८,९०३ ५,०४,३४४
गण्डकी १,०१,९२३ ३,९१,६२४
लुम्बिनी ३,०२,३८६ १३,१०,८२९
कर्णाली ४१,९०४ १,४५,०६३
सुदूरपश्चिम १,५६,२८९ ५,९९,१२४
कुल १४,३८,९८९ ५७,२४,२३४

स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?