+
+

वीपी प्रतिष्ठानका इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:३५

१ भदौ,विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती  डाक्टरले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका  हुन् ।

प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

उक्त भत्ता ३ वर्षयता बढेको छैन । महंगी अनुसार न्यूनतम जीवन निर्वाह भत्ताको वृद्धिको मागसहित शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिन बाध्‍य भएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

उनले भने, ‘ महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्छ । तर हाम्रो माग शान्तिपूर्ण रुपले सम्बोधन भएन । त्यसकारण बाध्य भएर हामी आन्दोलनमा उत्रिनु परेको हो ।’

उनका अनुसार गत असार १ गतेदेखि आन्दोलनमा थिए । तर, प्रतिष्ठानले माग सम्बोधन गर्न चासो नदेखाएपछि साउन ३१ गतेबाट  काम छाडेर आन्दोलन सुरु  गरेको डाक्टर राईले बताए ।

प्रतिष्ठानले श्रमशोषण गरेको गुनासो गर्दै चिकित्सकहरुले  माग सम्बोधन नभएसम्म  काममा नफर्किने चेतावनी दिएका छन् ।

प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ ।

२०७७ साल मंसिरमा प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको  नभएको आन्दोलनरत चिकित्सकहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?