+
+

मलाई फिल्ममा जसरी पेश गरिएको छ, त्यो ट्रेडमार्कलाई बदल्छु : सलोन बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १३:२१

काठमाडौ । ‘होस्टेल’लाई डेब्यु मान्ने हो भने सलोन बस्नेतको अभिनय करिअरले दशक पार गर्‍यो । त्यसअघि पनि दर्जन फिल्ममा बाल कलाकारको रुपमा काम गरे । उनको पछिल्लो फिल्म ‘जय हो’ शुक्रबारदेखि रिलिज हुँदैछ ।

रिलिज पूर्वसन्ध्यामा अनलाइनखबरसँग कुरा गर्दै सलोनले करिअरबारे आत्मसमीक्षा गरे । ‘होस्टेल’पछि उनले जति पनि फिल्म गरे, त्यसमा उनलाई सहायक चरित्र वा कमिक क्यारेक्टरमा मात्र राखिएको थियो । अब भने सलोनलाई अहिलेसम्मको ‘ट्रेडमार्क’ बदल्नुपर्छ भन्ने लागेको छ ।

आफूबारे सलोन भन्छन्, ‘खासमा भन्ने हो भने जय हो मेरा लागि होस्टेलजस्तै फस्ट स्टेज भएको छ । सधैं देखिएको सलोन भन्दा भिन्न र ‘मच्योर्ड’ सलोनको रुपमा आफूलाई चित्रण गरेको छु ।’ तपाईंले यो फिल्मको ट्रेलर हेर्नुभएको छ भने यसमा सलोन गम्भीर प्रेमीको भूमिकामा छन् ।

१० वर्ष नाघ्यो ‘होस्टेल’ रिलिज भएको । अब भने सलोन आफूलाई मच्योर्ड पात्रको भूमिकामा दर्शकमाझ पेश गर्न चाहन्छन् । आगामी फिल्मलाई लिएर उनले मापदण्ड नै बनाएका छन्- अब उपस्थितिको हिसाबले मात्र फिल्म नगर्ने, आफ्नो लागि पनि राम्रो हुने ढंगले गर्ने ।

भन्छन्, ‘अब हुनको लागि नहोऔं, काम गर्दा पनि मजा होस्, च्यालेन्जिङ पनि होस् । त्यसमा चाहिं प्राथमिकता दिन्छु । अब टीनएजभन्दा माथिको क्यारेक्टर गर्न चाहन्छु । परिपक्व क्यारेक्टरमा जान मन छ ।’

उनले आफूलाई ह्युमरको ट्रेडमार्कको रुपमा प्रस्तुत गरिएको बताए । ‘सलोन भन्नासाथ ह्युमरको ट्रेडमार्कजस्तो भएको छ । यसलाई चेन्ज गरौं । कमिक मत्र नभएर इमोसनल पार्ट र भेरिएन्स पनि गरौं भनेर । दर्शकले त्यो साइड पनि देखोस् । सलोन अलि मच्योर्ड होस् भन्ने हो,’ उनले आत्मसमीक्षा पस्किए ।

बजारबाट समेत बदलिनुपर्छ भन्ने सुझाव आएको र आफूले पनि महसुस गरेको उनले सुनाए । ‘अब चेन्ज हुनुपर्छ भन्ने दबाब पनि छ । त्यो आफैंले पनि महसुस गरेको कुरा हो । एउटै चीज सधैं दर्शकलाई रुच्दैन,’ सलोन भन्छन्, ‘होम प्रोडक्सन पनि भएकाले जय होलाई लिएर एक खालको दबाब र नर्भसनेस पक्कै छ ।’

फिल्ममा उनले एक फोटोग्राफरको भूमिका निर्वाह गरेका छन् । यो एक फोटोग्राफरको यात्राको कथा हो । को-स्टार केकी अधिकारीजस्तो व्यावसायिक कलाकारसँग काम गर्दा आफूले सुधार्ने मौका पाएको उनको अनुभव छ । ‘केकीसँग काम गर्दा मजा पनि आयो र आफूलाई सुधार्ने मौका पनि पाएँ,’ उनले भने ।

आगामी दिनमा सलोन रामबाबु गुरुङ, दीपेन्द्र के खनालसँग काम गर्न चाहन्छन् । साथै, होस्टेल निर्देशक हेमराज बीसीसँग पुनः सहकार्य गर्न चाहन्छन् । जे होस्, सलोनका अनुसार अब ‘जय हो’ उनको करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?