+
+

बास्केटबल कप्तान श्रेया उत्साहित, एसियन गेम्समा खेल जित्ने लक्ष्य

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० भदौ ७ गते ७:१४

७ भदौ, काठमाडौं । एक महिनापछि चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने २९ खेलमध्ये एउटा खेल हो- थ्री अन थ्री महिला बास्केटबल ।

फुलकोर्ट बास्केटबलभन्दा फरक थ्री अन थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो पटक सहभागिता जनाउन लागेको हो ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा नेपालको महिला टोलीले फुल कोर्ट बास्केटबल नै खेलेको थियो । तर त्यसपछि भने नेपालले थ्री अन थ्री मात्र खेलेको छ । यस पटक त बास्केटबलमा नेपालको महिला टोलीमात्रै सहभागी हुने छ ।

एसियन गेम्समा पदक जित्नु नेपालका लागि ठूलो चुनौती बनिसकेको छ । धेरै जसो खेल र खेलाडीका लागि सहभागी हुन पाउनु र अनुभव बटुल्नु नै ठूलो अवसर हो । बास्केटबलका लागि बलिया टिमसँग खेल्न पाउनु नै सिक्ने अवसर हुनेछ । नेपाली टिमले एसियाली खेलकुदमा पदक भन्दा पनि खेल जित्ने लक्ष्य राखेको छ ।

कप्तान श्रेया खड्काले भनिन्, ‘हाम्रो लक्ष्य लिग चरणमा खेल जित्ने नै हो । अर्को भनेको ठूला टिमसँग खेल्दा धेरै सिक्ने अवसर पनि पाइन्छ ।’

एसियाली खेलकुदको अनुभवले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने उनको लक्ष्य छ । ‘१३औं सागमा हामीले रजत पदक जित्यौं । अब पाकिस्तानमा हुने १४औं सागमा स्वर्ण जित्ने रहर छ र त्यही नै म र हाम्रो टिमको लक्ष्य पनि हो’, उनले सुनाइन् ।

अनुभवी खेलाडीको काँधमा कप्तानको जिम्मेवारी

श्रेया नेतृत्वको टिममा गरिशा सिलवाल, मिना गुरुङ र रिनछेन मोक्तान छन् ।

श्रेयासँगै गरिशा र मिनाले सिनियर टिमबाट फुल कोर्टमा खेलिसकेका छन् । २०१९ मा नेपालमै भएको १३औं सागमा थ्री अन थ्रीतर्फ उनीहरु सम्मिलित टिमले कांस्य पदक जितेको थियो ।

चार वर्षअघि अनुसा मल्लको कप्तानीमा एसियन गेम्स खेलेकी श्रेया यस पटक आफैं कप्तान बनेपछि उत्साहित छन् । नेतृत्वलाई उनले अवसर र चुनौती दुवै मानेकी छन् ।

‘कप्तान भएपछि धेरै कुराहरु हुन्छ । ग्रेट पावर कम्स ग्रेटर रेस्पोन्सबिलिटी’, कप्तानीबारे उनले भनिन्, ‘यसअघि खेलाडी हुँदा आफ्नो बारेमात्र सोच्दा हुन्थ्यो, कप्तान भएपछि त सबै कुरा सेट गर्नुपर्छ ।’

त्यसमा खेलको पनि दबाब थपिने उनले बताइन् ।

‘ठूला टिमसँग खेल्दा राम्रो अनुभव हुन्छ सिक्ने मौका पाइन्छ’, श्रेयाले भनिन्, ‘त्यो बेला हामीसँग खेलेको दुई टिम सेमिफाइनल पुगेका थिए ।’

‘थ्री अन थ्रीमा कोच सँगै हुँदैनन् । कोचले केही निर्देशन दिन पाउँदैनन् । सबै आफैंले हेर्नुपर्छ’, उनले थपिन्, ‘स्ट्राटेजी, डिसिजन मेकिङ कोर्टमा कम्युनिकेसनदेखि टिम सेट गर्ने बललाई कसरी खेलाउने सबै जिम्मेवारी कप्तानकै हुन्छ ।’

सन् २०१६ मा नेपालमै भएको साउथ एसियन बास्केटबल साबा च्याम्पियनसिपबाट फुलकोर्टमा डेब्यु गरेकी श्रेयाले युवा उमेरमै नेपालका लागि धेरै खेल खेलिसकेकी छन् । उनले साबा दुई पटक, एसियन गेम्स (यू-२३) र दक्षिण एसियाली खेलकुद एक एक पटक खेलेकी छन् ।

२०१९ मा भएको १३औं साग र २०२२ मा भएको साबामा नेपालले रजत पदक जित्दा श्रेया नेपाली टिमको सदस्य थिइन् ।

श्रेयाले सन् २०१३ मा थाइल्याण्डको बैंककमा भएको यू-१८ एसियन थ्री अन थ्री च्याम्पियनसिपबाट नेपालको लागि पहिलो पटक प्रतिनिधित्व गरेकी थिइन् ।

यस्तै २०१८ मा श्रीलंकामा भएको साउथ एसियन क्वेस्ट च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् ।

श्रेया २०१६ मा भारतमा भएको १२औं साग खेल्ने टिममा रहे पनि नेपाल अन्तिम समयमा खेल्न बञ्चित हुँदा खेल्ने अवसर पाइनन् ।

घरेलु बास्केटबलमा भने नेपाल पुलिसबाट खेल्दै थ्रुपै उपाधि समेत जितेकी छन् । सुरुमा त्रिभुवन आर्मीबाट खेल्दै सातौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी उनले त्यसपछि नेपाल पुलिसबाट आठौं राष्ट्रिय खेलकुद र पहिलो महिला बास्केटबल लिगमा उपाधि जितेकी थिइन् ।

गत वर्ष गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदमा भने उनले रजत पदक जितेकी थिइन् । स्कुल लेभलदेखि नै बास्केटल खेल्न थालेकी श्रेयाको लागि पछि यही प्यासन बन्यो । अध्यननलाई समेत सँगै अगाडि बढाएकी उनी हाल किंग्स कलेजमा ‘एमबीए ननप्रफिट’ गरिरहेकी छन् ।

पाँच वर्षअघि इन्डोनेसियाको जाकार्ता र पालेम्बुङमा भएको १८औं एसियन गेम्स खेलेकी उनी त्यतिबेलाको अनुभव अहिले काम लाग्ने बताउँछिन् ।

इन्डोनेसियामामा नेपालले कुनै खेल जितेन तर ठूला टिमसँग खेल्दै अनुभव लिने अवसर भने पायो । पुल बी मा जापान र चाइनिज ताइपेई जस्ता बलियो राष्ट्रसँग खेलेको नेपालले मंगोलिया भने कडा टक्कर दिएको थियो ।

‘ठूला टिमसँग खेल्दा राम्रो अनुभव हुन्छ सिक्ने मौका पाइन्छ’, श्रेयाले भनिन्, ‘त्यो बेला हामीसँग खेलेको दुई टिम सेमिफाइनल पुगेका थिए ।’

मंगोलियाविरुद्ध नेपालले कडा टक्कर दिए पनि १२-११ ले पराजित भएको थियो । त्यसखेलमा नेपालका लागि श्रेयाले नै सर्वाधिक ४ अंक स्कोर गरेकी थिइन् । त्यसमा भावना लामाले ३ तथा अनुसा मल्ल र एलिना गुरुङले समान दुई स्कोर गरेका थिए ।

पहिलो खेलमा चाइनिज ताइपेईसँग १९-८ ले पराजित भएको नेपाल अन्तिम खेलमा भने जापान विरुद्ध भने २१-४ ले पराजित भयो ।

नेपालले खेलेको मंगोलिया बाहेक जापान र चाइनिज ताइपेई दुवै सेमिफाइनल पुगे । जापान दोस्रो हुँदा चाइनिज ताइपेई चौथो भएको थियो ।

१९औं एसियन गेम्सको तयारीमा समस्या

नेपाली टिमले वैशाख अन्तिमदेखि एसियन गेम्सका लागि तयारी गरिरहेको छ । लामो समयदेखि प्रशिक्षणमा रहे पनि बास्केटबलले अझै पनि पर्याप्त रुपमा प्रशिक्षण गर्ने स्थान र सामग्री पाएको छैन ।

प्रशिक्षक विकास शाहीले भने, ‘कहिले यता कहिले उता गरेर प्रशिक्षण गर्नुपरेको छ । राम्रो फ्यासिलिटी भए मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।’

कहिले सूर्य फुटसल त कहिले माम्बा सेन्टरमा उनीहरु तयारी गरिरहेका छन् । यो बास्केटबल मात्र नभएर हरेक जसो खेलकै समस्या हो ।

कप्तान श्रेयाले पहिले तुलनामा अहिले स्ट्रेन्थ एण्ड कन्डिसन ट्रेनिङ थपिएको तर पर्याप्त नभएको बताइन् । ‘हामीले खेलको प्रशिक्षणसँगै स्ट्रेन्थवाइज तयारी गरिरहेका छौं । तर अझै पनि धेरै कुराहरु आवश्यक छ ।’

यस पटक बास्केटबल खेलाडीले फिटनेसमा पनि विशेष ध्यान दिएका छन् । ‘पावर लिफ्टिङ पनि गरिरहेका छौं । जसलाई जुन किसिमको वर्कआउट आवश्यक पर्छ त्यही अनुसार नै गरिरहेका छौं ।’ फिट भएपछि नै मज्जाले खेल्न सकिन्छ’, श्रेयाले भनिन् ।

खेलाडीहरुले अझै पनि पर्याप्त खेल सामाग्री पाएका छैनन् । जसले गर्दा पूर्ण रुपमा प्रशिक्षण हुन सकिरहेको छैन ।

अपेक्षा र चुनौती

थ्री अन थ्री बास्केटबल फुल कोर्टभन्दा फरक हुन्छ । यसमा टिममा जम्मा चार जना हुन्छ भने एक पटकमा तीन जनाले खेल्छन् । यो खेल हाफ कोर्टमा खेलिन्छ भने दुवै टिमले एउटै बास्केटमा स्कोर गर्नुपर्छ ।

 ‘नियम, रणनीति लगायत अरु धेरै कुरा फरक हुन्छ,’ कप्तान श्रेयाले भनिन्, ‘यसमा प्रशिक्षक दर्शक बस्ने ठाउँमा बस्नुपर्छ । खेलाडीलाई निर्देशन पनि दिन पाउँदैनन् ।’

थ्री अन थ्री मा खेल्दा शारीरिक रुपमा चुनौती हुने श्रेयाले बताइन् । ‘यसअघि पनि हामीले मंगोलियासँग जम्मा एक अंकले मात्र हारेका थियौँ । अन्तिम १० सेकेण्डमा हामी पराजित भएको थियौं।

थ्री अन थ्रीमा छिटो निर्णय गर्नुपर्छ । यसमा जम्मा १० मिनेटको खेल हुन्छ र एक टिमले एक पटकका जम्मा १२ सेकेण्ड मात्र बल होल्ड गर्न पाउँछ । यदी कुनै टिमले छिटो २१ अंक ल्याएमा समय नसकिए पनि खेल उसैले जित्छ ।

तस्वीर : विकास श्रेष्ठ

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?