
७ भदौ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा कोही पनि विद्यार्थी पास नभएका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
मेयर हमालले सेवा सुविधा वापत उपमहानगरपालिकाबाट पाएको रकममा केही पैसा थपेर परीक्षामा ‘शून्य’ नतिजा ल्याएका १७ विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । पालिकाका १७ विद्यालय कक्षा ८ को परीक्षामा नील भएका थिए ।
हमालले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर ९ लाख ९२ हजार ६२० रुपैयाँ बराबरका शैक्षिक सामग्री सम्बन्धित विद्यालयका प्राध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे ।
१७ विद्यालयमा अध्ययनरत ३ हजार ४ सय ८९ विद्याथीहरुका लागि मेयर हमालले २० हजार ९ सय ३४ थान कपि, १३ हजार ९ सय ५६ थान पेन्सील, ६ हजार ९ सय ७८ थान कटर र ६ हजार ९ सय ७८ थान ईरेजर हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै हमालले विद्यालयका शिक्षकहरुलाई पठनपाठनमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । ‘विद्यार्थीहरुलाई पढाउने मेयर र वडाध्यक्षले होइन् तपाईंहरुले नै हो,’ हमालले भने, ‘नगरका सरकारी विद्यालयको पढाइ राम्रो हुनु प¥यो । त्यो तपाईंहरुले गरेर देखाउनुहोस् ।’
उनले धनगढी उपमहानगरपालिकाका छात्रा र दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसँगै विद्यालयका पोशाक समेत सहयोग गरिएको बताएका छन् ।
हमालले मेयर शिक्षा सुधार कोष स्थापना गर्ने गर्दै विद्यालयहरुलाई सहयोग गरिने प्रतिबद्धता पनि जनाएका छन् । चालु आर्थिक वर्षमा धनगढीका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने पनि उनको भनाइ थियो ।
प्रतिक्रिया 4