+
+

पुटिन किन आउन चााहेनन् भारत ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १९:५३

११ भदौ, काठमाडौं । सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सी जिनपिङ, बेलायतकी प्रधानमन्त्री ऋषि सुनक, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान समेत विश्वका शीर्ष नेताहरु सहभागी हुने छन् । तर भ्लादिमिर पुटिन दिल्ली नआउने भएका छन् ।

रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री फेस्कोफले रुसी सञ्चार माध्यमहरुलाई बताएअनुसार पुटिन दिल्ली आउने योजना छैन । उनले भनेका छन्, ‘अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबभन्दा महत्वपूर्ण छ ।’

पुटिनले छिट्टै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोगानको निम्तोमा टर्कीको यात्रा गर्ने र ब्लाक सी ग्रेट डिल (ब्लाक सीमार्फत गहुँ निर्यातसम्बन्धी सम्झौता)मा छलफल गर्ने सम्भावना थियो । टर्कीका सञ्चार माध्यमहरुका अनुसार पुटिन अगस्टको अन्त्यमा भ्रमणमा आउने तयारी थियो । तर यो रोकिएको मानिएको छ ।

हालै दक्षिण अफ्रिकामा भएको ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए । त्यहाँ विदेशमन्त्री सर्गेई लाभरोफ सहभागी भए ।

जी–२० को सम्मेलनमा पुटिनको अनुपस्थिति नयाँ पनि होइन । २०१३ मा अष्ट्रेलियाको ब्रिसबेनमा भएको जी–२० सम्मेलनमा पुटिनलाई बोलाइएकै थिएन ।

युक्रेन युद्धपछि त उनको विदेश भ्रमण नै कम भएको छ । जुन २०२२ म उनी ताजकिस्तान र तुर्कमिनिस्तानको भ्रमण गरेका थिए । गत वर्ष उनी एमसीओ समिटमा उज्बेकिस्तान पुगे ।

किन आएनन् भारत ?

युक्रेनका बालबालिकालाई अवैध रुपमा रुस लगेको आरोपमा यो वर्ष १७ मार्चमा अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

रुस र युक्रेन दुबै आईसीसीको सदस्य छैनन् । तर २०१५ मा युक्रेनले आफ्नो भूमिमा भएका अपराधका लागि आईसीसीको अधिकार क्षेत्र स्वीकार गरेको थियो ।

मार्च २०२२ मा अभियोजक करिम खानले मानवता विरुद्धको अपराध कथित नरसंहारको आरोपमा जाँच सुरु गरे । दक्षिण अफ्रिका आईसीसीको सदस्य छ र यदि पुटिन जोहानेसबर्ग गएको भए उनलाई गिरफ्तारी प्रयासमा सहयोग गर्नुपर्ने हुन्थ्यो । त्यही कारण पनि उनी दक्षिण अफ्रिका नगएको हुनसक्छ ।

तर भारत आईसीसीको सदस्य छैन । तैपनि किन आएनन् ? पुटिनका प्रवक्ताले युक्रेनमा चलिरहेको सैन्य अपरेसनमा ध्यान दिएको बताएका छन् ।

तर दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयका मध्य एसिया र रुसी मामिलाका प्राध्यापक सञ्जय पाण्डे भने पुटिन विश्वस्तरमा अलग थलग भएको र विश्वका नेताहरुको मञ्चमा पनि त्यही हुनसक्ने पुटिनको आशंका हुनसक्ने बताउँछन् ।

उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘पुटिनलाई आशंका छ कि सम्मेनलमा कसैले उनलाई सुन्ने छैनन्, बरु आलोचना हुनेछ । उनी पश्चिमा नेताको सामना गर्न चाहदैनन्, यही उनी नआउनुको मुख्य कारण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?