+
+
पुटिनको अन्तर्वार्ता :

‘रूससँग सम्झौता नगर्ने युक्रेनी संकल्प फिर्ता नभएसम्म युद्ध अन्त्य हुँदैन’

हामी त जहिले पनि सम्झौताकै पक्षमा छौं । युक्रेनले नै रूससँग कुनै पनि सम्झौता नगर्ने घोषणा संसदबाट पारित गरेको अवस्थामा त्यस घोषणा अन्त्य नभएसम्म कुनै वार्ता हुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १४:३०

दुई वर्षयता रूस र युक्रेन युद्धमा छन् । यसमा दुवैतर्फका गरी करिब ५ लाख मानवीय क्षति भइसकेको छ । अहिलेसम्म युद्ध अन्त्यको कुनै छनक पनि देखिएको छैन ।

युद्ध सुरुवातको निर्णयमा पुटिन कतिबेला पुगे र उनी युद्ध अन्त्यको घोषणाको निर्णयमा कहिले पुग्लान् ? युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पुटिनलाई कति शक्तिशाली लाग्छन् ?

यिनै सेरोफेरोमा रहेर अमेरिकन प्रख्यात प्रस्तोता टकर कार्ल्सनले क्रेमलिन पुगेर पुटिनसँग गरेको वार्ताको सम्पादित अंश-

कुन क्षणमा आएर तपाईंले अब युद्धमा जानुपर्छ भन्ने निर्णय गर्नुभयो ?

युद्ध सन् २०२२ मा भएपनि यसको पृष्ठभूमि सन् २०१४ देखि तयार भएको थियो । जर्मनी, पोल्याण्ड र फ्रान्सका प्रतिनिधि किएभ पुगेर भिक्टोर यानोकोभिचविरुद्ध प्रतिपक्षीलाई उचाले । उनीहरूले शान्तिको प्रत्याभुती सहित त्यहाँ राजनीतिक हस्तक्षेप गरेर कुमा सहयोग गरे । यानोकोभिचले आफूले जित्नै नसक्ने परिस्थितिका बाबजुद निर्वाचन घोषणा गरे । जब निर्वाचनबाट नयाँ सरकार आयो, उसले मिन्स्क सम्झौतालाई नमान्ने भन्दै चुनौती दियो ।

हामीले दशकौंदेखि रूसको सुरक्षामा चुनौती दिनेगरी उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार अमान्य हुने बताउँदै आयौं । तर हामीलाई चुनौती दिनेगरी त्यसको समेत विस्तार भयो । हामीसँग कुनै सल्लाह नै नगरी युक्रेनलाई नेटोमा राखियो । यता फ्रान्स र जर्मनीको समेत मध्यस्थतामा भएका सम्झौतालाई चुनौती दिने काम भयो । युद्धको पृष्ठभूमि सन् २०१४ देखिनै तयार गरिएको हो । रूस कहिल्यै पनि युद्धको पक्षमा थिएन । हामीलाई सन् २०२२ मा युद्धमा धकेलिएको हो।

के तपाईंले युद्ध सुरु गर्नुअघि अमेरिकी वा युरोपियन नेतृत्वलाई केही जानकारी दिनुभएको थियो ?

युद्ध सुरु गर्नुअघि मैले अमेरिकी र युरोपियन नेतृत्वलाई बारम्बार सम्बोधन गर्दै सम्झौता पालना गराउने वातावरणका निम्ति आग्रह गरेकै थिएँ । डोनबास्क क्षेत्र स्वतन्त्र हुँदा त्यहाँ जनताले पनि शान्तिपूर्ण र सहज जीवनयापन गर्न पाउँथे । सबैतिर शान्ति नै हुनेथियो । धक नमानिकन भन्नुपर्दा, मिन्सक सम्झौताको पालना कसरी गर्ने भन्ने त थियो नै तर यस क्षेत्रको शान्तिका लागि म स्वयं त्यस सम्झौतालाई पूर्ण पालना गर्नुपर्छ भन्ने पक्षमा थिएँ ।

युक्रेनमा नयाँ सरकार आएसँगै सबैकुरा सैन्य कदमतर्फ अग्रसर हुन थाल्यो । युद्ध रूसले होइन युक्रेनले सुरु गरेको हो । युक्रेनले सन् २०१४ देखि तयार गरेको युद्धको पृष्ठभूमिमा हामी अहिले लडिरहेका छौं ।

के तपाईंले यो युद्धमा आफ्नो लक्ष्य हासिल गर्नुभयो त ?

यो युद्धमा हामीले हाम्रो लक्ष्य हासिल गरिसकेका छैनौं । हाम्रो लक्ष्य भनेको नेटो समर्थित सबै गतिविधि हाम्रो भूमीनजिक प्रतिबन्ध हुनुपर्छ भन्ने हो ।

यति मात्रै हो वा अरु पनि ?

युक्रेनलाई कतिपय भूभाग रूसले नै उपहार दिएको हो । जब उसले १९ औँ शताब्दीपछि आफ्नो पहिचान खोज्न थाल्यो, केही युक्रेनी समूहले हिटलरसँग लागेर रूसीविरुद्ध हमला गरेको दृष्टान्त हामीले बिर्सनुहुँदैन । यस प्रकरणले युक्रेनको पहिचानमा समेत असर पुगेको थियो । रूसले सधै के मान्दै आएको थियो भने युक्रेनीहरू रूसकै एक पाटो हुन् । तर त्यहाँ त नाजी विचारधारले निकै जरा गाडिसकेको रहेछ । त्यसको उदाहरण त क्यानडाको संसदमा गएर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हामीविरुद्ध गरेको निकै अपमानजनक भाषण र उनले त्यस्तो गर्दा त्यहाँ पाएको ताली र सम्मानबाट पनि पुष्टि हुन्छ । रूस सधै नाजी विचारधाराको विरुद्धमा छ। यसका विरुद्ध सधैं लडिरहन्छ ।

यो युद्ध अन्त्यका लागि केही पहल वा वार्ता भएका छन् वा छैनन् ?

युद्ध अन्त्यका लागि पहल वा वार्ता नभएका होइनन् । गत वर्ष इस्तानबुलमा यसको प्रयत्न भएकै हो । सम्झौताका लागि निकै उच्च तहमा पहल भएकै हुन् । इस्तानबुलमा हामीलाई किएभबाट सैनिक फिर्ता हुनुपर्ने भनियो । मैले फ्रान्स र जर्मनीका मेरा समकक्षीसँग कुरा गर्दा उनीहरूले सम्झौताका लागि यो कदम आवश्यक भने । मैलेपनि किएभबाट सेना फिर्ता गर्ने भनिदिएँ । जसै, त्यो निर्णय रूसले लियो त्यही बखत सम्झौताका बुँदा युक्रेनले डस्टबिनमा फालिदियो । बेलायत र अमेरिकाको उक्साहट हामीमाथि सैन्य आक्रमण बढायो ।

के युद्ध अन्त्यका लागि अब कुनै शान्तिवार्ता हुनसक्छ ?

हामी त जहिले पनि सम्झौताकै पक्षमा छौं । युक्रेनले नै रूससँग कुनैपनि सम्झौता नगर्ने घोषणा संसदबाट पारित गरेको अवस्थामा त्यस घोषणा अन्त्य नभएसम्म कुनै वार्ता हुँदैन । उसले आफूले मात्रै होइन, आफ्ना सहयोगी राष्ट्रका पहल समेत नमान्ने बताइसकेको छ । यस्तो अवस्थामा वार्ता कसरी हुन्छ ? त्यहींमाथि युक्रेनले यस्ता माग राखिरहेको छ कि त्यसका लागि आपसी वार्ता त झनै अपरिहार्य छ ।

तपाईं जेलेन्स्कीसँग त वार्ता गर्नुहुन्न। यस मामिलामा बाइडेनसँग पछिल्लोपटक कहिले संवाद भएको थियो ?

बाइडेनसँग ठ्याक्कै कहिले वार्ता भयो मैले बिर्सिएँ । उनीसँगको वार्ता सम्झनैपर्छ भन्ने पनि छैन र मेरा अन्य प्राथामिकताहरूका कारण त्यसलाई स्मरण पनि गर्दिनँ ।

रूसविरुद्धको युद्ध अमेरिकी सहयोगमै भइरहेकाले केही कुरा त भएका होलान् नि ?

मैले बाइडेनलाई पटक-पटक रूसलाई युद्धमा धकेलेर अमेरिकाले ऐतिहासिक भूल गर्‍यो भनेको छु ।

बाइडेननले के भन्नुभयो त ?

तपाईं अमेरिकी जनता हो । उहाँको प्रतिक्रिया तपाईंले मलाई भन्दा पनि उहाँलाई गएर सोध्दा उचित होला ।

तपाईंलाई जेलेन्स्की कत्तिको शक्तिशाली लाग्छ र तपाईं उहाँलाई के भन्न चाहनुहुन्छ ?

कसैको बारेमा सिधै लेखाजोखा गर्ने काम निकै गाह्रो हो । जेलेन्स्की बहुमत प्राप्त गरेर युक्रेनमा नेता भएका मानिस हुन् । म उनलाई केही कुरा भन्ने सोध्न चाहन्छु । आफ्ना पिताले नाजी अभियानविरुद्ध लड्दा उनले त्यसलाई किन साथ दिइरहेका छन् । कुनै पनि आधुनिक र सभ्य राष्ट्रमा त्यस्ता विचारधाराको प्रवर्द्धन सुहाउँछ ? यद्यपि मेरा प्रश्नका बाबजुद पनि उनलाई छनौटको स्वतन्त्रता भने पक्कै छ ।

युक्रेनले रूसविरुद्ध युद्ध लड्ने निर्णय किन लियो जस्तो लाग्छ र अब यसको शान्तिपूर्ण रुपान्तरण कसरी हुन्छ ?

युक्रेन उचालिएको हो । रूसको विरोध गर्ने बित्तिकै सहयोग गरिहाल्ने प्रवृत्ति पश्चिमा मुलुकहरूमा छ । युक्रेनले रूसविरुद्ध आवाज बुलन्द गर्दा सहमति गराउन छोडेर तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युद्धका लागि उक्साइरहेका थिए । युद्ध भए रूसलाई सहजै पराजित गर्ने पश्चिमाहरूको आकल थियो । उनको उक्साहटमा नलागेको भए परिस्थिति अर्कै हुन्थ्यो होला । अहिले ती जोनसोन कहाँ छन् र हामी कहाँ छौं त ?

केही मानिसहरूले युद्ध अन्त्यका लागि रूसको धारणा के हो भनेर बारम्बार सोधिरहेका छन् । हामी त सधैं सम्झौताकै पक्षमा छौं । यसका लागि हामीले इस्तानबुलमा नै कदम चालेका थियौं । तर युक्रेनले के कारणले रूससँग कुनै सम्झौता नगर्ने संकल्प प्रस्ताव संसदबाट तयार गर्‍यो, हामीले बुझेका छैनौं । युक्रेनको उक्त प्रस्ताव फिर्ता नभएसम्म वार्ताको कुनै संभावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?