
२४ असार, काठमाडौं । रूसका पूर्व यातायात मन्त्री रोमान स्टारोभोइत मृत अवस्थामा फेला परेका छन् । रूसको अनुसन्धान समितिका अनुसार, उनलाई सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए ।
बीबीसीका अनुसार, उनलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको थिएन । केही समयपछि नै उप-यातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो ।
अनुसन्धान समितिले घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ। स्टारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो।
यसअघि उनले करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रको गभर्नरका भूमिकामा काम गरेका थिए ।
सोमबार स्टारोभोइतको मृत्युको घोषणा हुनुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग कुर्स्कमा भएका घटनाका कारण राष्ट्रपति पुटिनले स्टारोभोइतमाथिको विश्वास गुमाए हुन् भनेर सोधेका थिए । जवाफमा पेस्कोभले भने, ‘यदि विश्वास गुमाएका भए राष्ट्रपतिको आदेशमै त्यसबारे उल्लेख हुनेथियो । त्यस्तो कुनै शब्द प्रयोग गरिएको छैन ।’
प्रतिक्रिया 4