 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग २ घण्टा फोन वार्ता गर्दै युद्धविरामको प्रयास गरे ।
- ट्रम्पले भने, \'मलाई लाग्छ, अब उनलाई पर्याप्त भएको छ र उनले युक्रेन युद्ध अन्त्यको आशावादी संकेत दिएका छन् ।
- पुटिनले वार्तालाई \'अर्थपूर्ण र स्पष्ट\' भने पनि कुनै ठोस प्रगति भने भएन र युद्धविरामको संकेत देखिएको छैन ।
६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्ताका लागि दुई घन्टा समय दिए । यो उनका लागि एक विशेष अवसर थियो । उनी चाहन्थे कि आफ्नो टेलिफोन संवादसँगै रूस र युक्रेनबीच तत्काल युद्धविराम लागू भइहाल्नेछ ।
ट्रम्प युक्रेनमा जारी युद्ध अन्त्य गर्न पुटिनको इच्छाशक्ति कति छ भनेर जान्न चाहन्थे । सम्भवतः ट्रम्प केही निरास भएका छन् ।
‘मैले उनलाई सोधेँ, हामी कहिले यो अन्त्य गर्न गइरहेका छौँ, भ्लादिमिर? हामी यो रगतपात, यो रक्तस्नान कहिले अन्त्य गर्ने?’ पुटिनसँगको टेलिफोन संवादपछि ट्रम्पले पत्रकारहरूलाई सुनाए।
तर पुटिन टसमस देखिए । ट्रम्पसँगको लामो टेलिफोन वार्तापछि पनि युद्धविरामका कुनै संकेत देखिएका छैनन् ।
ट्रम्पले ओभल अफिसबाट दई घन्टे वार्ता गर्नुअघि सामाजिक सञ्जालमा पूरै ठूलो अक्षरमा लेख्दै यो वार्ताबारे पूर्वघोषणा गरेका थिए ।
ट्रम्पसँग संवाद गर्न पुटिन भने ब्ल्याक सीको तटमा रहेको सोचीको एउटा प्रतिभाशाली बालबालिकाको विद्यालयमा थिए । त्यहाँ उनले विद्यालय भ्रमणको बीचबाटै ट्रम्पसँगको कुराकानीलाई समय दिए।
वार्तालापपछि दुवै नेताले यसलाई फरक–फरक दृष्टिकोणबाट व्याख्या गरे।
ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले यो अन्त्य गर्न चाहेका छैनन् भन्ने यदि मलाई लागेको थियो भने म यसको चर्चा नै गर्ने थिइनँ। म त सिधै पछि हट्थेँ। मलाई लाग्छ, अब उनलाई पर्याप्त भएको छ।’
ट्रम्पले सामाजिक सञ्जालमा आशावादी लबजमा लेखे, ‘वार्ता निकै राम्रो भयो’ र रुस–युक्रेन युद्धविरामका लागि ‘तात्कालिक रूपमा वार्ता सुरु’ गर्न सहमत भए, तर पुटिनले आफ्ना अधिकतम मागहरूमै अडिग रहने संकेत गरेका छन् ।
युद्धविराममा कुनै ठोस प्रगति नभए पनि ट्रम्पले ‘सकारात्मक लय र भावना’ भएको भन्दै कुराकानी सफल भएको बताए। उता, पुटिनले वार्तालाई ‘अर्थपूर्ण र स्पष्ट’ भने।
यो वर्षको तेस्रो फोन संवादमा देखिएको फरक धारणा ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा भोगिरहेको कठिनाइलाई झल्काउँछ। ट्रम्पले यस साता युद्धलाई ‘रक्तस्नान’ भनेका थिए।
युक्रेनले भने तात्कालिक ३० दिनको युद्धविराम स्वीकार गरिसकेको छ, तर पुटिनले यसलाई अस्वीकार गरिसकेका छन् । यसले ट्रम्पका सल्लाहकारबीच मस्कोले ट्रम्पलाई केवल झुलाइरहेको त होइन भन्ने शंका उत्पन्न भएको छ ।
यस्तै संकेत ट्रम्प स्वयंले पनि अघिल्लो पटक गरेका थिए।
यद्यपि ट्रम्पले सोमबारको संवादपछि यस्तो आशय व्यक्त गरेनन् । उनले भने, ‘मलाई लाग्छ पुटिन शान्तिका लागि इच्छुक छन्।’
तर सोही दिन उनले भने, ‘ठूला अहंकारहरू सँगै छन्। तर मलाई लाग्छ केही न केही हुन्छ। र यदि भएन भने म पछि हट्छु, अनि उनीहरू आफैंले जुधिरहनुपर्ने हुन्छ।’
त्यही बेला, पुटिनले भने युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण झन तीव्र बनाएका छन्, जसमा राजधानी कीभ समेत निसानामा परेको छ।
ट्रम्पले अघिल्लो पटक यस्ता आक्रमणको विरूद्धमा धारणा राखेका थिए तर यसपटक उनले खासै केही संकेत गरेका छैनन् ।
ट्रम्पले संवादअघि पत्रकारहरूलाई पुटिनसँग भेट आवश्यक रहेको बताए पनि, दुवै पक्षको आधिकारिक विवरणमा कुनै शीर्ष नेतृत्वको भेटवार्ता बारे चर्चा गरिएको थिएन।
यसअघि आफू मात्रले युद्ध सक्ने दाबी गर्दै आएका ट्रम्पले सोमबार भने युद्धविरामका सर्तहरू युक्रेन र रुसबीच मात्र तय हुनुपर्ने बताए।
ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘युद्धविरामका सर्तहरू दुवै पक्षबीचको वार्ताबाट तय हुनेछ, किनभने उनीहरू मात्रै त्यस सम्बन्धी सूक्ष्म विवरण जान्दछन्।’
युद्धविराम वार्तापछि युक्रेनले थप प्रतिबन्धको प्रस्ताव अघि सारेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकारहरूलाई बताए अनुसार, सोमबार ट्रम्पसँग दुईपटक फोनमा कुरा भयो — एकपटक ट्रम्पले पुटिनसँग कुरा गर्नु अघि, अर्कोपटक पछि।
दोस्रो फोनपछि युरोपेली नेताहरूबीच रुसमाथि थप प्रतिबन्ध लगाउने आवश्यकताबारे छलफल भएको थियो।
जेलेन्स्कीले भने, ‘संयुक्त राज्य अमेरिकाले अझै दबाब बढाउन आवश्यक छ, ताकि उनीहरूले थप प्रतिबन्ध लागू गर्न सहमति जनाउँन्।’ र, लगत्तै उनीहरूले रूसमाथि प्रतिबन्धमा थप कडाइ गरिसकेका छन् ।
अर्कोतर्फ, आगामी वार्ताको स्थानबारे छलफल भइरहेको उनले बताए। संभावित स्थानहरूमा टर्की, स्विजरल्याण्ड र भ्याटिकन रहेका छन्।
फोन वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले पुटिनको सम्झौतामा अनिच्छाले आफू झस्किएको बताउँदै आएका थिए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले सोमबार बिहान भनेकी थिइन्, ‘राष्ट्रपति दुवै पक्षबाट थकित र निराश भएका छन्।’
उनका अनुसार ट्रम्पको मुख्य उद्देश्य ‘तात्कालिक युद्धविराम र द्वन्द्वको अन्त्य’ हो।
ट्रम्पले पुटिनसँगको वार्ताबारे युक्रेनी राष्ट्रपति जेलेन्स्की, युरोपियन आयोग प्रमुख उर्सुला भन डर लायेन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों, इटालियन प्रधानमन्त्री मेलोनी, जर्मन चान्सलर मर्ज, र फिनल्यान्डका राष्ट्रपति स्टबलाई जानकारी दिएको बताए।
उनले थपे, ‘भ्याटिकन, पोपको प्रतिनिधित्वमा, वार्ता आयोजना गर्न इच्छुक रहेको जनाएको छ। प्रक्रिया सुरु होओस्!’
अन्त्यमा ट्रम्पले भने, ‘यो भयावह रक्तपात सकिएपछि रुस अमेरिकासँग ठूला व्यापार गर्न चाहन्छ, र म पनि त्यसमा सहमत छु। यसले ठूलो मात्रामा रोजगारी र सम्पत्ति सिर्जना गर्न सक्छ। यसको सम्भावना असीमित छ।’ उनले युक्रेन पनि व्यापारको ठूलो लाभार्थी बन्न सक्ने बताए।
– सीएनएनबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4