+
+

विरोधी सखाप पार्ने पुटिन नीति, कहिले कहाँ मारिए विपक्षी ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १६:३०

एजेन्सी । चार वर्षअघि रूसका प्रतिपक्षी नेता एलेक्जाइ नाभाल्नीलाई सोधिएको थियो- ‘राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिंदा मारिनु भयो भने ?’

निर्भीकतापूर्वक उनले भनेका थिए- ‘हामीलाई हाम्रो अभियान त्याग्ने छुट छैन। यदि उनले मलाई मार्ने निर्णय लिए भने हामी निकै शक्तिशाली रहेछौं भनेर मान्नुपर्ने हुन्छ। र, त्यस शक्तिको उपयोग गर्नुपर्नेछ।’

निर्भीक प्रतिपक्षी नेताको गत शुक्रबार जेलमा मृत्यु भएको खबर आएको थियो। उग्रवादको आरोपमा १९ वर्ष हिरासत बसेका उनको हत्या भएको अनुमान गरिएको छ। सत्ता पक्षबाट यो नियति भोग्नेमा एलेक्जाइ मात्रै छैनन्। रूसमा कोही प्रतिपक्षी हिरासतमा छन् कोही निर्वासनमा बस्न विवश छन्। मलाई मारियो भने हाम्रो शक्ति बढेको बुझ्नुपर्छ भन्ने नाभाल्नीको मृत्युपछि अब प्रतिपक्षी नेताहरूले के गर्लान् त ?

रूसमा अधिकांश प्रतिपक्षी नेताहरू कि त मारिएका छन् कि त हिरासत वा नजरबन्दमा रहेका छन्। निर्भीक नाभाल्नी मारिएपछि प्रतिपक्षी राजनीतिक अनुहारले विभिन्न दृष्टिकोण अघि सारेका छन्। रूस कस्तो हुनुपर्ने र कसले नेतृत्व लिनुपर्ने भन्ने विषयमा उनीहरूले परिचर्चा सुरु गरेको समाचार संस्था एशोसिएट प्रेस एपीमा उल्लेख छ।

नाभाल्नीकी श्रीमती युलिया नाभाल्नीले पतिको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएकी छिन्। पुटिनको ज्यादती, भ्रष्टाचार र षड्यन्त्र विरुद्ध थप लड्ने उनको उद्घोष रहेको एपीमा उल्लेख छ। निर्वासनमा रहेका नेताहरुले पनि पुटिन विरुद्ध थप सशक्त हुने बताएका छन्।

लण्डनमा निर्वासनमा रहेका प्रतिपक्षी नेता मिखाइल कार्योकोस्भीले एपीसँग भनेका छन्– ‘परिवर्तनका लागि जनतालाई अपील गर्न सक्ने क्षमतावान् नेता थिए नाभाल्नी। यी क्षमतावान् नेताको सपना पूरा गर्न हामी फेरि जुट्नेछौं।’

उनको निधन रूसका लागि ठूलो क्षति रहेको मिखाइलको भनाइ छ। नाभाल्नीसँगै रूसमा लोकतन्त्रको सपना अस्ताउन नदिने प्रतिबद्धता निर्वासनमा रहेका नेताहरूको रहेको मिखाइलले बताएका छन्– ‘हामी टिभी वा क्यामेराका अघि मात्रै नभएर रूसी लोकतन्त्रको लागि सशक्त रूपमा संगठित हुँदै अघि बढ्नेछौं। हामी लोकतन्त्रको सपना अस्ताउन दिने छैनौं।’

मिखाइलले थप भनेका छन्- ‘पुटिनले व्यक्तिको हत्या गर्न सक्छन् तर लोकतान्त्रिक प्रतिपक्षीको विचारको हत्या गर्न सक्ने छैनन्।’

पुटिनको विरोध गर्दा मृत्युको नियति भोग्नेमा नाभाल्नी एक मात्रै पात्र भने होइनन्। यसको सूची लामै छ र अझै बढ्नेवाला छ। पुटिनकै कार्यकालमा शंकास्पद मृत्युवरण गरेका केही प्रभावशालीहरूको सूची निम्न प्रकारका छन् :

यभगिनी प्रियोजिन

२३ अगस्ट २०२३ मा वाग्नर लडाकु दस्ताका प्रमुख यभगिनी प्रियोजिन उनका उच्च सारथिसँगै हवाई दुर्घटनामा मारिए।

युक्रेन विरुद्ध लड्दा आफ्ना धेरै सहयोगी मारिएको र अग्रपंक्तिमा खटिने आफ्नो समूहलाई हतियार उपलब्ध नगराउँदै धेरै साथी गुमाएको भन्दै उनले क्रेमलिन नै कब्जा गर्ने गरी विद्रोह छेडेका थिए। आफूलाई नै खतरा पुर्‍याउने गरी यभगिनी प्रियोजिनले विद्रोह गरेपछि उनको समेत शंकास्पद रुपमा हवाई दुर्घटनामा मृत्यु भयो।

सर्गेइ योसेन्कोभ

सर्गेइ योसेन्कोभ रूसका अनुभवी राजनीतिज्ञ थिए। उदारवादको वकालत गर्ने यी नेताको हत्या १७ अप्रिल २००३ मा भएको थियो। मस्कोमा रहेको उनकै निवासमा सर्गेइको हत्या भएको हो।

सन् १९९९ मा संघीय सुरक्षा सेवाले मच्चाएको बम विस्फोटबारे अनुसन्धान हुनुपर्ने माग उनले राख्दै आएका थिए। त्यस हमलामा ३०० जनाको मृत्यु भएको थियो। मस्कोले प्रयोग गर्दै आएको चेचेन लडाकु दस्तालाई त्यस घटनाको अभियोग लगाइएको थियो। यद्यपि यसमा संघीय सुरक्षा सेवाकै हात रहेको भन्दै उनले अनुसन्धानको माग राख्दै आएका थिए।

आना पोलित्सोकाया

७ अक्टोबर २००६ मा प्रभावशाली पत्रकार आना पोलित्सोकायाको हत्या भएको थियो। उनी नागरिकको अधिकार हनन् विरुद्ध सशक्त वकालत गर्दै आएका थिइन्। आफ्नै अपार्टमेन्टमा उनको गोली हानी हत्या भएको थियो। त्यस हत्याको अभियोगमा सन् २०१४ मा दुई जनालाई मृत्युदण्ड समेत दिइएको थियो। तर उनका आफन्त र साथीहरुले सरकारले नै उनको हत्या गरेको भनिरहेका छन्।

अलेक्सजेन्डर लित्भेन्को

अलेक्सजेन्डर लित्भेन्को रूसको सुरक्षा संयन्त्रमा कार्यरत थिए। उनको निधन सन् २००६ नोभेम्बर २३ मा भएको थियो। लण्डनमा उनलाई विष सेवन गराएर हत्या गरेको खुलासा भएको थियो। संघीय सुरक्षा सेवाले रूसका कुलीन बोरिस ब्रेजोभ्स्कीको हत्यामा आफूलाई प्रयोग गर्न लागेको सुइँको पाएसँगै उनी सन् २००० मा लण्डन भागेका थिए।

सन् १९९९ मा भएको बमबारीमा संघीय सुरक्षा सेवाकै हात रहेको भनी उनले पुस्तक लेखेका थिए। चियामा पोलोनियम नामक विष राखिदिएर एन्द्रेइ लुगोभी र दिमित्रि कोभ्तुनले उनको हत्या गरेका थिए। हत्यापछि उनीहरु रूस पुगे तर रूसले उनीहरूलाई सुपुर्दगी गर्न मानेन।

नताल्या इस्तेमिरोभा

सन् २००९ जुलाई १६ मा नताल्या इस्तेमिरोभाको हत्या भएको थियो। छाती र टाउकोमा गोली हानिएको अवस्थामा उनको शव इन्ग्स्हेतियामा भेटिएको थियो। त्यसको केही घण्टाअघि मात्रै उनी चेचेन्याको राजधानी ग्रोज्नीस्थित निवासबाट अपहरणमा परेकी थिइन्।

चेचेन्यामा भएको मानवअधिकार विरूद्धका घटनामा उनले छानबिन गरिरहेकी थिइन्। उनले काम गरिरहेको मानवअधिकारवादी संस्थाका अनुसार अपहरण र हत्या जस्ता गम्भीर प्रकृतिका घटनामा स्थानीय अधिकारीहरुकै संलग्नता रहेको हुनसक्ने उनको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।

सर्जेइ म्याग्निस्की

१६ नोभेम्बर २००९ मा म्याग्निस्कीको मृत्यु भएको थियो। रूसी अधिकारीहरुले २३० मिलियन डलर भ्रष्टाचार गरेको विषयमा आवाज उठाउने वकिल सर्जेइ म्याग्निस्कीको शव जेलमै भेटिएको थियो। उनलाई पनि भ्रष्टाचारकै अभियोग लगाएर रूस सरकारले जेल पुर्‍याएको थियो।

प्यान्क्रियाजको समस्या रहेको उनलाई उपचार समेत गर्न दिइएन। उनलाई जेलमा ठूलो यातना दिइएको भन्दै मानवअधिकारवादीहरुले विरोध गरेका थिए। रूस सरकारकै मानवअधिकार परिषद्ले पनि उनलाई यातना दिइएको पुष्टि गरेको थियो।

बोरिस नेमस्तोम

२७ फेब्रुअरी २०१५ मा विपक्षी नेता बोरिस नेमस्तोम मारिए। रूसमा ९० को दशकमा उनी उदीयमान नेताका रूपमा गनिन्थे। पूर्व क्षेत्रीय गभर्नर र उपप्रधानमन्त्रीका रूपमा उनले सुधारका धेरै कार्यक्रम ल्याएका थिए।

सन् २०१२ मा पुटिनलाई सत्तामा फर्काउन निर्वाचनमा धाँधली भएको भन्दै उनले विरोध गरेका थिए। त्यस्तै सन् २०१४ मा युक्रेन विरुद्ध पुटिन सरकारले देखाएको आक्रामकता रूसका लागि हानिकारक रहेको भन्दै उनले विरोध जनाएका छन्।

यसरी पुटिनसँग दुस्मनी मोल्नु उनका लागि घातक भयो। क्रेमलिन नजिकैको पुलमा ग्याङस्टार शैलीमा गोली हानेर उनको हत्या गरियो। ५५ वर्षमा मृत्यु हुनुअघि उनी उदारवादी सांसद मानिन्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?